काठमाडौं । सहकारी विभागले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न अभौतिक (भर्चुअल) माध्यमबाट कार्यक्रम सञ्चालन गर्न सहकारी संघ/संस्थालाई निर्देशन जारी गरेको छ ।
कोरोनोको दोस्रो लहर बढेसँगै सहकारी संघ संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, तालिमजस्ता कार्यक्रमहरु सम्भव भएसम्म अभौतिक (भर्चुअल) माध्यमबाट गर्न निर्देशन जारी गरिएको हो । सरकार तथा विश्व स्वास्थ्य संगठनबाट जारी गरिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्णरुपमा परिपालना गरी सेवा प्रवाहमा पत्यक्ष संलग्न रहने जनशक्ति तथा सेवाग्राहीहरुलाई सक्रमणको जोखिम न्यूनिकरण गर्न उपाय अवलम्बन गर्न भनिएको छ ।
सहकारी संस्थाहरुले काउन्टरमा भिडभाड नहुने, आवश्यक भौतिक दुरी कायम हुनेगरी मात्र सेवा प्रवाहको व्यवस्था गर्न विभागले निर्देशन दिएको छ । कर्मचारीमा हुन सक्ने सक्रमण तथा व्यवसायिक निरन्तरतालाई मध्यनजर गर्दै सक्रमणको जोखिम न्यून हुनेगरी सेवा गर्नुपर्ने छ । सम्भव भएसम्म कर्मचारीलाई समूह बनाएर कार्य विभाजन गर्ने, बजारमा खटिएर नगद संकलन गर्ने कर्मचारीको पिसीआर परीक्षण गर्नुपर्ने विभागले भनेको छ ।
समुदायस्तरमा कोभिड १९ फैलिई महामारीको विशेष अवस्था आइपर्न सक्ने परिस्थितिलाई आँकलन गरी सहकारी संघ संस्थाहरुले आवश्यक कार्य निरन्तरताका लागि विस्तृत कार्ययोजना बनाएर समयानुकल बनाउन निर्देशन दिइएको छ । संघ संस्थामा आउन सक्ने तरलता अभावका लागि समयमै सञ्चालक समितिले विशेष कार्ययोजना तयार गरी कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ ।
Leave a comment