नेफ्स्कून र बैङ्कबिच अस्वस्थ प्रतिस्पर्धा, कार्यान्वयन भएन कार्यगत एकताको सम्झौता

नेफ्स्कून र बैङ्कबिच अस्वस्थ प्रतिस्पर्धा, कार्यान्वयन भएन कार्यगत एकताको सम्झौता :: Sahakari Akhabar

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) र राष्ट्रिय सहकारी बैङ्कबिच अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । दुई संस्थाबिचको प्रतिस्पर्धाले प्रारम्भिक संस्थाहरू मारमा परेका छन् । गत वर्ष नेफ्स्कून र बैङ्कबिच कार्यगत एकता गर्ने सहमति भए पनि कार्यान्वयन भएको छैन ।

बैङ्क र नेफ्स्कूनबीच गत वर्ष वैशाखमा कार्यगत एकता कालागि कार्यदल गठन भएको थियो । ब्याजदर लगायत विषयमा एकरूपता कायम गर्ने सहमति देखावटी मात्र भएको छ । ब्याजदरमा एकरूपता कागजमा मात्र भएको र आन्तरिक बार्गेनिङ हुने सहकारी कर्मी बत्ताउँछन् ।

दुवै संस्थाले लिने र दिने ब्याजदर अन्तर रहेको छ । दुवै संस्थाबिच अस्वस्थ प्रतिस्पर्धा भएका कारण ब्याजदरमा एकरूपता ल्याउन सम्झौता गरिए पनि अधिकांश क्षेत्रमा ब्याजदरमा निकै अन्तर देखिएको छ ।

नेफ्स्कूनको ब्याजदर बैङ्कको ब्याजदर भन्दा बढी देखिएको छ । नेफ्स्कूनले सहमति विपरीत अरू बैङ्कमा पैसा जम्मा गर्ने, सहमति भन्दा फरक ब्याजमा ऋण दिने गरेर सहमति उल्लङ्घन गरेको बैक स्रोत बताउँछ । बैङ्कको उपस्थिति नभएको जिल्ला तथा ठाउँमा भने सहकारीलाई बढी ब्याजमा ऋण प्रदान गरिरहेको बताइएको छ ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भए पनि कुन कुन क्षेत्रमा कार्यगत एकता गर्ने भन्ने विषयमा कार्यदलले प्रभावकारी प्रतिवेदन बनाउन सकेन । लामो समयदेखि कार्यदलको बैठकसमेत बस्न सकेको छैन ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष समेत रहेका कार्यदल संयोजक ढकालले लामो समयदेखि बैठक बस्न नसकेको बताए । ‘प्रतिवेदन बुझाउने भन्दा पनि आएका इसुमा छलफल गर्न कार्यदल गठन गरिएको थियो’ उनले भने, ‘फेरि केही विषय आएमा छलफल गर्र्र्छाै ।’

खास गरी बैङ्क र नेफ्स्कूनबीच कार्यगत एकता हुन नसक्दा ग्रामीण क्षेत्रका सहकारीलाई समस्या परेको छ । ती संस्थाहरू बैङ्क र नेफ्स्कूनको तानातानमा परेका छन् । सहकारी बैङ्कले सिङ्गल डिजिटमा ऋण प्रवाह गरिरहेको छ भने नेफ्स्कूनले अझै पनि सिङ्गल डिजिटमा ऋण प्रवाह गर्न सकेको छैन । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले अर्थतन्त्र धराशायी भएको अवस्थामा सहकारी बैङ्क र नेफ्स्कूनले कार्यगत एकता गर्ने घोषणा गर्दै कार्यदल बनाएका थिए । कोभिडबाट समस्यामा परेका सहकारीलाई सहुलियत ऋण दिने घोषणा पनि गरिएको थियो ।

त्यसका लागि कोभिड तरलता कोष स्थापना गरी बैङ्क र नेफ्स्कूनबाट एक÷एक अर्ब लगानी गर्ने घोषणा गरिएको थियो । तरलता कोषबाट सहकारीलाई ऋण दिने कुरा गरिए पनि सहकारीले ऋण पाएका छैनन् । तर ढकालले जसलाई दिनुपर्ने थियो, दिइएको दाबी गरे पनि कसलाई दिइयो भन्ने कुनै तथ्याङ्क छैन ।

कार्यदलका सदस्य एवम् राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक ज्ञानबहादुर तामाङले तत्कालीन समयमा ब्याजदर कार्यान्वयन भए पनि पछिल्लो ६ महिनायता कार्यान्वयन हुन नसकेको बताए । तरलता व्यवस्थापन कोषमा पर्याप्त बजेट छुट्टाइए पनि २० देखि २५ प्रतिशत मात्रै उपयोग भएको छ । ‘जसलाई पायो, उसलाई दिने कुरा भएन’ उनले भने, ‘माग अनुसार छानबिन गरेर सहकारीलाई ऋण दिइरहेका छौँ ।’

कोरोना सहज भएसँगै गत असोजपछि कार्यदलको बैठकसमेत बस्न सकेको छैन । ‘पहिला कार्यान्वयन भएको हो, अहिले कार्यदलको बैठक नै डाकिएको छैन ।’ उनले भने । कार्यगत एकताको सहकार्यलाई परिणाममुखी बनाउनुपर्ने बैङ्कका सञ्चालक र उच्च व्यवस्थापनहरुले जोड दिएका थिए ।

तरलता कोष, ब्याजदरमा एकरूपता लगायतका विषयमा दुवै निकायका उच्च व्यवस्थापनबिच छलफल गरी आवश्यक निर्णय लिने सहमति भए पनि त्यस पश्चात् कार्यदलको बैठक बस्न सकेको छैन ।

सदस्यलाई केन्द्रमा राखेर चाहिएको समयमा सेवा पुर्याउनुपर्नेमा दुवै निकाय संवेदनशील बनेको भनिए पनि, संवेदनशील हुन नसकेको सहकारकर्मीको गुनासो छ । खास गरी बैङ्क र नेफ्स्कूनबीच कार्यगत एकता हुन नसक्दा ग्रामीण क्षेत्रका सहकारीलाई समस्या परेको छ । ती संस्थाहरू बैङ्क र नेफ्स्कूनको तानातानमा परेका छन् ।

सहकारी बैङ्कले सिङ्गल डिजिटमा ऋण प्रवाह गरिरहेको छ भने नेफ्स्कूनले अझै पनि सिङ्गल डिजिटमा ऋण प्रवाह गर्न सकेको छैन् । सहकारी बैङ्क र नेफ्स्कून बिच ब्याजदरमा एकरूपता गर्न गत ०७७ वैशाख १७ गते दुवै संस्थाका अध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

दुवै संस्थाबिच वित्तीय सहकारीको स्थायित्व र दिगो संचालनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको थियो । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैङ्क र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । सहकार्य पश्चात् बैङ्कको चेक नेफ्स्कून मार्फत र नेफ्स्कूनको चेक बैङ्कमार्फत साटिने जनाइएको थियो ।




Leave a comment