अनुसन्धान केन्द्रकै प्राथमिकतामा परेन सहकारीको अनुसन्धान

अनुसन्धान केन्द्रकै प्राथमिकतामा परेन सहकारीको अनुसन्धान :: Sahakari Akhabar

काठमाडौँ । नेपालको संविधानले सहकारीलाई तीन खम्बा अर्थनीतिमा समेटेको छ । निजी, सहकारी र सार्वजनिक क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उद्देश्यले तीन खम्बा अर्थनीति अवलम्बन गरे पनि सहकारीले गति लिन सकेको छैन । सहकारीमा पर्याप्त अध्ययन अनुसन्धान हुन नसक्दा सहकारी सधैँ ओझेलमा परिरहेको छ ।

सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् । सहकारीमा ७३ लाख भन्दा बढी व्यक्ति आबद्ध छन् । सहकारीले १० खर्ब कारोबार गर्नुका साथै ८८ हजार ३ सयलाई रोजगारी दिएको छ । सहकारी विभागले गत वर्ष यो तथ्याङ्क सार्वजनिक गरे पनि धेरै विषयमा कैफियत रहेको आधिकारिक निकायबाटै आउन थालेको छ ।

विभागका रजिस्ट्रार लीलाप्रसाद शर्माले तथ्याङ्क अपूरो भएको भन्दै तत्काल करेक्सन गर्ने बताइरहेका छन् । कोरोनाको समयमा विभागले स्थानीय तह र प्रदेशसँग सम्पर्क गरेर नयाँ तथ्याङ्क सार्वजनिक गरेको थियो । आउने वर्षमा विभागले थप अनुसन्धान गरी सहकारीको रियल टाइमको तथ्याङ्क सार्वजनिक गर्ने रजिस्ट्रार शर्मा बताउँछन् ।

विभागले नयाँ तथ्याङ्क ल्याउनु अघि २०७४ को तथ्याङ्क प्रयोग भइरहेको थियो । अघिल्लो तथ्याङ्क अनुसार देशभर ३५ हजार सहकारी र यसले ६५ हजारलाई रोजगारी दिएको भनिएको थियो ।

त्यसो त कुल गृहस्थ उत्पादनमा सहकारीको योगदानसमेत यकिन हुन सकेको छैन । कुल गृहस्थ उत्पादनमा सहकारीको योगदान ३.५ प्रतिशत भनिए पनि यकिन अध्ययन हुन नसकेको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले कुल गृहस्थ उत्पादनमा १७ वटा विषय अध्ययन भइरहेको बताए ।

कुल गृहस्थ उत्पादनमा सहकारीको योगदान अध्ययन गर्न समस्या भएको उनको भनाइ छ । ‘दोहोरोपना आउनु हुन्न’ उनले भने,‘सहकारीले ऋण दिएर उत्पादन वृद्धि भयो भन्ने विषय सकारीभित्र पर्दैन ।, त्यसमा कृषिको कुरा आउँछ ।’ कतिपय विषयमा दोहोरोपना आउने भएकाले अध्ययन गर्न समस्या भएको उनको भनाइ छ ।

सहकारी विभागले सहकारीका विषयमा खासै अनुसन्धान गर्न सकेको छैन । गत वर्ष कोभिडमा सहकारीको असर र नयाँ तथ्याङ्क अध्ययन गरे पनि प्रभावकारी भएको पाइँदैन । सहकारीका अन्य निकाय राष्ट्रिय सहकारी विकास बोर्डले समेत कुनै पनि अध्ययन गर्न सकेको छैन । बोर्डसँग पर्याप्त सम्पत्ति र स्रोत हुँदाहुँदै पनि सहकारीको विकासका लागि अनुसन्धान गर्न सकिरहेको छैन ।

केन्द्रले गत वर्ष ५ करोड भन्दा बढीको बजेट खर्च गरेको थियो । तर आउँदो वर्षको बजेटमा १ करोड कटौती हुन सक्ने देखिएको छ । चालू र पुँजीगत बजेट गरी आउने वर्ष ४ करोड मात्रै हुन सक्ने देखिएकाले तालिम पनि खुम्चिने र अनुसन्धानको पाटो अझै ओझेल पर्न सक्ने सूचना अधिकारी अर्यालले बताइन् । सहकारीमा अनुसन्धान गर्नुपर्ने विषयहरू धेरै छन् । गरिबी निवारणमा सहकारीको योगदान, सहकारीमार्फत उद्यमशीलता र रोजगारी, सहकारीमा महिला र युवाको सहभागिता, सहकारीमार्फत कृषि उत्पादनमा योगदानलगायत अध्ययन अनुसन्धानका विषय हुन सक्छन् ।

बोर्डका सदस्य सचिव चक्र बहादुर पराजुली सहकारीको अनुसन्धान गर्न नसकिएको बताउँछन् । बोर्डले चाहेर पनि बजेट अभावका कारण अनुसन्धान गर्न नसकिएको उनको भनाइ छ । बोर्डले कोषबाट ऋण दिने प्रयोजनका लागि केही अनुसन्धान गरे पनि सहकारी क्षेत्रको कुनै पनि विषयमा प्रभावकारी अनुसन्धान हुन सकिरहेको छैन ।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी लिलादेवी अर्यालले बजेट अभावका कारण अनुसन्धान गर्न नसकिएको बताइन् । केन्द्रले वार्षिक १ हजार ३ सय जनालाई तालिम दिन्छ । व्यावसायिक तालिम, सहकारी अनुशिक्षण र सहकारी प्रशिक्षण प्रशिक्षक तालिम दिँदै आएको छ । तर अनुसन्धान उसको प्राथमिकतामा परेको छैन ।

सूचना अधिकारी अर्यालका अनुसार गत वर्ष सहकारी संस्थाको तालिम आवश्यकता सम्बन्धी अनुसन्धान भएको थियो । यस वर्ष स्थानीय तहमा सहकारीको प्राथमिकता विषयमा र व्यवसाय प्रवर्द्धन तालिमको प्रभावकारिता विषयमा अध्ययन भइरहेको उनले बताइन् ।

केन्द्रले गत वर्ष ५ करोड भन्दा बढीको बजेट खर्च गरेको थियो । तर आउँदो वर्षको बजेटमा १ करोड कटौती हुन सक्ने देखिएको छ । चालू र पुँजीगत बजेट गरी आउने वर्ष ४ करोड मात्रै हुन सक्ने देखिएकाले तालिम पनि खुम्चिने र अनुसन्धानको पाटो अझै ओझेल पर्न सक्ने सूचना अधिकारी अर्यालले बताइन् ।

सहकारीमा अनुसन्धान गर्नुपर्ने विषयहरू धेरै छन् । गरिबी निवारणमा सहकारीको योगदान, सहकारीमार्फत उद्यमशीलता र रोजगारी, सहकारीमा महिला र युवाको सहभागिता, सहकारीमार्फत कृषि उत्पादनमा योगदानलगायत अध्ययन अनुसन्धानका विषय हुन सक्छन् ।

सहकारीको वास्तविक तथ्याङ्क र सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणमा योगदान, सदस्यको जीवनस्तरमा सदस्यको योगदान लगायत थुर्पै विषयमा अध्ययन अनुसन्धान गर्न सकिने भए पनि सहकारीका अधिकांश निकायले अनुसन्धान गर्न सकिरहेका छैनन् ।




Leave a comment