मोरङमा सेवा केन्द्र खोल्न, झापाका सहकारीको होडबाजी

मोरङमा सेवा केन्द्र खोल्न, झापाका सहकारीको होडबाजी :: Sahakari Akhabar

सहकारी ऐन अनुसार अब सहकारी मर्जरमा जानै पर्ने बाध्यता आइलागेपनि उर्लाबारीमा नगरभित्रका सहकारी कम मात्र मर्जरमा गएका छन् । नगरका सहकारीबीच मर्जका लागि विभिन्न प्रयास भए पनि एकाध बाहेक कुरा मिल्न सकेको छैन । तर अन्तर जिल्लकासँग भने मर्ज गर्न तयार भएका छन् । एकै प्रकृति र एकै उद्देश्यले सहकारीहरू मर्ज हुन सक्ने भनिएता पनि फरक प्रकृतिका सहकारी पनि मर्ज भएका छन् ।

चीना थापा / विराटनगर । झापाका सहकारीहरूले मोरङको उर्लाबारीमा धमाधम सेवा केन्द्र खोल्न थालेका छन् । पछिल्लो समय झापाका सहकारी मोरङमा सेवा केन्द्र खोल्न होडबाजी नै चलेको देखिन्छ । 

फरक जिल्लाका सहकारीको सेवा केन्द्रको होडबाजीले यस क्षेत्रमा विकृति बढ्ने खतरा रहेको सहकारकर्मीको गुनासो छ । झापाका आधा दर्जन सहकारीले मोरङको उर्लाबारीमा सेवा केन्द्र विस्तार गरेका छन् ।

दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले उर्लाबारीमा शाखा कार्यालय खोलेर काम सुचारु गरी सकेको छ । केही दिन अघि कारोबार सुरु गरेको शाखाले तीन सय बढी शेयर सदस्य बनाई सकेको शाखाका व्यवस्थापक कमलकुमार घिमिरेले बताए ।

उर्लाबारीमा पहिलो पटक दमकको मेची सहकारी संस्थाले गत वर्षदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । सेवा केन्द्र सञ्चालन भएपछि उर्लाबारीको राजघाट जल उपभोक्ता सहकारी र मेची सहकारी मर्ज पनि भए ।

मेची सहकारीले मोरङको पथरी र मधु मल्लामा पनि सेवा केन्द्र सञ्चालनमा ल्याई सकेको छ । यस्तै झापाको कर्णाली सहकारी र पूर्व नेपाल सहकारीले पनि उर्लाबारीमा सेवा केन्द्र सञ्चालनमा ल्याएका छन् । उर्लाबारीमा सहकारीसँग मर्ज गर्न पनि झापाका सहकारी तल्लीन देखिएका छन् ।

झापा कमल गाउँपालिकामा रहेको कञ्चनजङ्घा सहकारीले उर्लाबारीको आधारशिला बचत तथा ऋण सहकारी संस्थासँग मर्ज प्रक्रिया अघि बढाएको छ । त्यसै गरी नवोदय बहुउद्देश्यीय सहकारीले उर्लाबारी ६ को पाठशाला कृषि सहकारीसँग मर्ज गर्न प्रक्रिया अघि बढाएको जनाइएको छ ।

झापाका सहकारीले मोरङको उर्लाबारीमा धमाधम शाखा कार्यालय स्थापना गर्न थालेपछि कतिपयले यसलाई व्यापारका रूपमा लिएका छन् । “सहकारी जहाँ स्थापना भएको छ, त्यहीँका गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानमा केन्द्रित हुनुपर्छ” हाम्रो बचत तथा ऋण सहकारी संस्था उर्लाबारीका अध्यक्ष डिवी थापा भन्छन्, “के अर्थमा शाखा विस्तार हुँदै छ थाहा भएन ।

व्यापार गर्न मात्र आएका हुन् भने त्यो अत्यन्त नराम्रो कुरा हो ।” स्थानीय आवश्यकतालाई समेटेर सहकारीले नीति, कार्यक्रम बनाउनु पर्ने बताउँदै उनले झापामा बनाएको नीति कार्यक्रमले मोरङका बासिन्दाको आवश्यकता समेट्न नसक्ने बताए ।

उर्लाबारीमै बग्रेल्ती सहकारी भएको अवस्थामा अन्यत्रबाट धमाधम सेवा केन्द्र स्थापना हुन थालेपछि अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना बढेर गएको छ । तर, सहकारीको सिद्धान्त अनुसार चल्ने र चलाउने हो भने अस्वस्थ प्रतिस्पर्धा गरिरहनु पर्ने अवस्था छैन ।

अन्यत्रका सहकारीको सेवा केन्द्र स्थापना हुँदा यहाँ पुँजी पलायन हुने सम्भावना पनि रहेको सहकारकर्मीले बताए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागो सहकारी संस्था कानुनको परिधिमा रहेर सञ्चालन हुनु पर्ने बताउँछन् ।

“सहकारीले मजदुर, श्रमजीवी, कृषक वर्गलाई प्राथमिकता दिई उठ्न नसकेको समुदायलाई माथि उठाउन भूमिका निर्वाह गर्नुपर्छ” उनले भने, “नाफाको एक प्रतिशत लगानी गर्नु पर्ने र त्यो लगानी लक्षित वर्गमा पुग्नु पर्ने बताए ।”

नगरपालिकाले सहकारी ऐन निर्माण गरिसकेको बताउँदै मेयर फागोले नगरपालिकासँग समन्वय गरेर अघि बढ्न र उत्पादनमूलक तथा आर्थिक उपार्जनमा जोड दिन आग्रह गरे ।

मोरङ जिल्लामा ११ सय बढी सहकारी छन् । ती मध्ये ६० वटा उर्लाबारीमा रहेका छन् । उर्लाबारीमा सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् भने कृषि, बहुउद्देश्यीय, तरकारी तथा फलफूल, मौरी पालन, दुग्ध उत्पादक सहकारी पनि छन् । उर्लाबारीका १० वटा सहकारीले १० करोडमाथिको कारोबार गर्दै आएका छन् ।

जिल्लामा सहकारी धेरै भएकाले विराटनगर महानगरपालिकाले दर्ता बन्द गरेको छ । जिल्ला सहकारी संघले पनि एकै प्रकृतिका सहकारी, उद्देश्य मिल्ने सहकारीलाई मर्ज गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पछिल्लो समयमा जिल्लाका धेरै सहकारी मर्ज पनि भएका छन् । अझै मर्ज गर्न संघ लागिपरिरहेको छ ।

सहकारीको उद्देश्य अनुसार धेरै सहकारी सञ्चालन हुन सकेका छैनन् । शेयर सदस्यहरूलाई सहकारी शिक्षा पनि दिन नसक्ने सहकारी मोरङमा छन् । कतिपय सहकारी झोलामा मात्र सीमित भएका छन् ।

शेयर सदस्यको पैसा अपचलन गर्ने सहकारी पनि उत्तिकै छन् । यस्तो अवस्थामा अन्य जिल्लाका सहकारीहरूले धमाधम शाखाका रूपमा सेवा केन्द्र विस्तार गर्दा सहकारी क्षेत्रमा अझ धेरै विकृति आउने हो कि भन्ने सहकारीकर्मी हरुलाई चिन्ता छ ।

नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको एक खम्बा मानेको छ । नयाँ सहकारी ऐनसँगै अहिले देशभर सहकारी मर्ज गर्ने होड चलेको छ । देशमा रहेका झन्डै ३० हजार सहकारीले अब आफ्ना सदस्यमा लगानी गर्न प्रतिस्पर्धी बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

गन्तीमा मात्र आउने अनि आफ्ना सदस्यलाई चाहिए जति लगानी गर्न नसक्ने सहकारीप्रति सदस्यको आकर्षण कम हुँदै गएको छ । सहकारी बलिया भए भने मात्र आफ्नो क्षेत्रमा सेवा दिन सक्छन् र सदस्यको मन जित्न सक्छन् ।

सहकारी ऐनले एक व्यक्ति एक सहकारीको अवधारणासँगै दुई वा दुईभन्दा बढी सहकारी एकीकरण हुन थाले पनि स्थानीय तहले सहकारी दर्ता गरिरहेकै छ । अधिकांश सहकारीले विभिन्न  सेवा केन्द्र विस्तार गर्दै आएका छन् ।

मोरङ जिल्लामा ११ सय बढी सहकारी छन् । ती मध्ये ६० वटा उर्लाबारीमा रहेका छन् । उर्लाबारीमा सबैभन्दा बढी बचत तथा ऋण सहकारी छन् भने कृषि, बहुउद्देश्यीय, तरकारी तथा फलफूल, मौरी पालन, दुग्ध उत्पादक सहकारी पनि छन् । उर्लाबारीका १० वटा सहकारीले १० करोडमाथिको कारोबार गर्दै आएका छन् ।

सहकारी ऐन अनुसार अब सहकारी मर्जरमा जानै पर्ने बाध्यता आइलागेपनि उर्लाबारीमा नगरभित्रका सहकारी कम मात्र मर्जरमा गएका छन् । नगरका सहकारीबीच मर्जका लागि विभिन्न प्रयास भए पनि एकाध बाहेक कुरा मिल्न सकेको छैन ।

तर अन्तर जिल्लकासँग भने मर्ज गर्न तयार भएका छन् । एकै प्रकृति र एकै उद्देश्यले सहकारीहरू मर्ज हुन सक्ने भनिएता पनि फरक प्रकृतिका सहकारी पनि मर्ज भएका छन् ।




Leave a comment