पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व घोषणा

पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व घोषणा :: Sahakari Akhabar

काठमाडौँ । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले १३औं स्थापना दिवसकाे अवसरमा पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान घोषणा गरेको छ ।

स‌स्थाले वार्षिक रूपमा गर्दै आएको पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान घोषणा गरेको हाे । संस्थाले २०७६ कालागि राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेललाई सम्मान गर्ने भएको छ । त्यसै गरी २०७७ का लागि सहकारी जिल्ला सहकारी सङ्घ इलामकी अध्यक्ष विष्णु कुमारी लिम्बु दाहाललाई सम्मान गर्ने भएको छ ।

संस्थाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष सहकारी क्षेत्रमा योगदान पुर्याउने अभियन्ताहरूलाई सम्मान गर्दै आएको भए पनि गत वर्ष कोरोना महामारीका कारण भएको लकडाउनले सम्मान कार्यक्रम स्थगित भएको थियो ।

यस वर्ष पनि कोरोना भाइरसको जोखिम रहेकाले घोषित व्यक्तित्व द्वयलाई आगामी साधारण सभामा सम्मान गरिने संस्थाले जनाएको छ । संस्थाले सहकारी व्यक्तित्व हरु लाई नगद ११,१५१ रुपैयाँ र ताम्र पत्र सहित सम्मान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले जुन देशमा अग्रजको सम्मान हुँदैन त्यो देशमा सभ्यताको विकास नहुने बताए । उनले भने ‘अग्रजको सम्मान सभ्यताको पहिचान’ भन्ने भावलाई आत्मसात गर्दै संस्थाले कुनै जाति, वर्ग, धर्म र राजनीतिक पक्षलाई नहेरी योगदानको आधारमा अभियन्ताहरूलाई सम्मान गर्दै आएको छ’ ।

एघारौँ पटकसम्म संस्थाले स्थापना दिवसको अवसरमा निरन्तर सम्मान गर्दै आएको भए पनि गत वर्ष कोभिड १९ का कारण स्थगित भएको सम्मान कार्यक्रमलाई यस वर्ष सँगै जोडेर मनाएको जनाए ।

‘संस्थाले नियमित बचत गर्ने र ऋणमा तिरेको ब्याजका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम दिँदै आएको छ’ उनले भने, ‘सहकारी ऐन २०७४ आउनु भन्दा अगाडि देखि नै हामीले त्यस प्रकारको व्यवस्था गरी रकम वितरण गर्दै आएका थियौँ ।’

संस्थामा १५ वर्षसम्म नियमित बचत गर्ने सदस्यलाई चाडपर्व बोनसको रूपमा ३ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसै गरी संस्थाले १० लाखसम्मको ऋणमा अनिवार्य बिमा गर्न सुरु गरेको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक हुलाई ३ देखि ५ हजार रुपैयाँ वार्षिक रूपमा उपलब्ध गराउँदै आएको छ । सामाजिक क्षेत्रमा समेत संस्थाले श्रोत साधनले भ्याएसम्म सहयोग गर्दै आएको उनले जनाए ।

संस्थाका ज्येष्ठ सदस्य लक्ष्मण प्रसाद आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा निजामती ट्रेड युनियनका का.वा.अध्यक्ष भोला पोखरेल, संस्थाका कानुनी सल्लाहकार छवि रमण निरौला, संस्थाका शिक्षा समिती संयोजक उत्तम राजभण्डारी र लेखासुपरीवेक्षण समिति संयोजक सुशील प्रसाईँले शुभकामना मन्तव्य राखेका थिए भने व्यवस्थापक राधा कडरियाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । संस्थाले हरेक वर्ष प्रकाशन गर्दै आएको स्मारिका र क्यालेन्डर समेत सोही अवसरमा विमोचन गरेको छ ।

कार्यक्रममा पाँच वर्ष भन्दा बढी काम गर्ने संस्थाका लेखा अधिकृत राम थापालाई सम्मान गरेको थियो । त्यसै गरी नियमित पाँच पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाताको सम्मान गर्ने घोषणा गरेको छ । 



Leave a comment