काठमाडौं । नेपालको सहकारी आन्दोलनले ६४ वर्ष पार गरेको छ । गत चैत्र २० गते देशभर राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसले मर्यादित व्यवसायको उठान गरेको छ । अब सहकारीमार्फत व्यवसाय के गर्ने र कसरी मर्यादित बनाउने भन्ने विषयमा राष्ट्रिय सहकारी महासंघले गाइडलाइन बनाउँदै छ ।
नेपालमा सहकारी आन्दोलनले ५० प्रतिशत भन्दा बढी बचत तथा ऋणकै कारोबार गर्दै आएका छन् । तर सहकारीमार्फत गर्नुपर्ने व्यवसाय धेरै छन् । यस वर्षको नारा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी तय गरिएपछि व्यवसायतर्फ सकारीको ध्यान केन्द्रित भएको छ ।
सहकारी पारदर्शी हुन नसक्दा सुसाशन छैन । महांघले सुशासन कायम गर्दै सहकारी व्यवसाय बढाउने योजना ल्याएको छ । सरकारका सचिव गोपीनाथ मैनाली ५ प्रकारबाट सहकारीको व्यवसाय गर्न सकिने बताउँछन् । बचत तथा ऋण (कर्जा र निक्षेपको मात्र कारोबार गर्न गठन भएका संस्था), उत्पादक, उपभोग, बहुउद्देश्यीय र श्रमिक सहकारीले व्यवसाय अघि बढाउन सक्छन् ।
मैनालीका आनुसार उत्पादक सहकारीले कृषि, दूग्ध, चिया, कफी, उखु, जुनार, सुपारी, जडीबुटी, विउविजन, मौरीपालन, तरकारी तथा फलफूल, पशुपन्छी, माछापालन, अगुवाबालीका काम गर्न सक्छन् । उपभोक्ता सहकारीले उपभोक्ता भण्डार, विद्युत, सञ्चार, स्वास्थ्य सम्बन्धी काम गर्न सक्छन् ।
बहुउद्देश्यीय सहकारीले उत्पादन, उपभोग, वित्तीय, श्रम पुँजीमा आधारित स्वरोेजगारीका सेवा समेत सञ्चालन गर्न सक्ने छन् । श्रमिक सहकारीले हस्तकला, खाद्य परिकार, भोजनालय, श्रम करार विशेषका श्रमसीपमा आधारित संस्था गठन गरी काम गर्न सक्छन् ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले मर्यादित व्यवसायभित्र पर्ने सबै विषय समेटेर गाइडलाइन तयार पारिएको बताए । त्यस्तै प्रविधिमा सहकारीलाई जोड्न पनि पहिलो प्राथमिकता हुने उनको भनाइ छ ।
सहकारी ऐन २०७४ ले विविध क्षेत्रमा काम गर्न विशिष्टीकृत सहकारी संघको अवधारणा अघि सारिएको छ । यसको माध्यमबाट सहकारी व्यवसाय गर्न सकिने प्रशस्त संभावना देखिएको सहकारीविद्हरु बताउँछन् । तर नेपालको सहकारी आन्दोलनले सजिलो बाटो रोजेर पैसा किन्ने र पैसा बेच्ने काम गर्दै आएको छ । जसले गर्दा वित्तीय क्षेत्रमा सहकारीको योगदान बढ्दै गएपनि अन्य क्षेत्रमा सहकारीको योगदान खुम्चिदैँ गएको छ ।
गरिबी निवारण र रोजगारी सिर्जना गर्न सहकारीले विशेष भूमिका खेल्नुपर्ने भएपनि त्यसो पाइएको छैन । ६४ वर्षमा प्रवेश गर्दै गर्दा राष्ट्रिय सहकारी महासंघको अगुवाईमा व्यवसायमा सहकारीलाई क्रियाशील गराउने पहिलो पहल हुनुपर्छ । बिस्तारै अन्य व्यवसायमा काम गर्न थालेको भएपनि सबै छोडेर बचतमै आउने वातावरण आउन नदिन पनि महासंघले भूमिका खेल्नुपर्ने सहकारीकर्मी बताउँछन् ।
सहकारी विभागका रजिष्ट्रार लिलाप्रसाद शर्मा महासंघको सकार्यमा सहकारीको विकास गर्न सकिने बताउँछन् । ‘महासंघलाई साथमा लिएर काम गर्न सकिए पक्कै पनि छिटो नतिजा आउन सक्छ’ उनले भने,‘हामी सहकार्य गरी अघि बढ्ने पक्षमा छौं ।’
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया