काठमाडौँ । सहकारी क्षेत्रमा अर्को एउटा बैङ्क पनि स्थापना हुने भएको छ । प्रस्तावित नेपाल सहकारी बैङ्क दर्ता प्रक्रियामै रहेको बेला अर्को बैङ्क स्थापनाको तयारी रहेको हो ।
सहकारी ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरी ‘केन्द्रीय सहकारी बैङ्क’ स्थापनाको तयारी थालिएको बुझिएको छ । व्यवसायीक प्रतिस्पर्धात्मक आवश्यकता महसुस गरी केन्द्रीय सहकारी बैङ्क स्थापना गर्न लागिएको स्रोतले बताएको छ ।
प्रस्ताबित नेपाल सहकारी बैङ्क र राष्ट्रिय सहकारी बैङ्कले समेट्न नसकेको क्षेत्रका सहकारीलाई समेटेर वास्तविक सहकारी बैङ्क स्थापना हुने स्रोतको दाबी छ ।
‘यो बैङ्क स्थापना पछि सहकारीहरूले वास्तविक सहकारी बैङ्कको महसुस गर्नेछन्, हामी सहकारी बैङ्कमार्फत सहरको पुँजी गाउँमा र गाउँको उत्पादन सहरमा पुर्याउँछौं ।’ दर्ता हुन नदिन चलखेल भए पनि नियमकले नियम कार्यान्वयन गर्न पछि नहट्ने स्रोतको दाबी छ ।
व्यवसायी प्रतिस्पर्धा कालागि पनि बैङ्कहरूको आवश्यकता सहकारी क्षेत्रले महसुस गरेको छ । शुद्ध प्रतिस्पर्धा कालागि र सहकारी प्रवद्र्धनका लागि कम्तीमा पनि ५ वटा सहकारी बैङ्क स्थापना हुनु पर्ने स्रोतले बतायो ।
बैङ्क स्थापनाको प्रारम्भिक चरणको कार्य पुरा भएको र फाइल सङ्कलनको कार्य अगाडी बढेको जनाइएको छ । सहकारी ऐन ०७४ ले सहकारी बैङ्क स्थापना गर्न अनुमति दिएको छ ।
ऐनमा नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिई सहकारी बैङ्कहरू गठन गर्नसक्ने छ भन्ने उल्लेख गरेको छ । त्यसैगरी सहकारी नियमावली ०७५ मा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तीमा ५०१ वटा संस्था वा सङ्घहरू आपसमा मिली सहकारी बैङ्कको गठन गर्न सक्ने उल्लेख छ ।
त्यसै गरी गठन हुने सहकारी बैङ्कको शेयर पुँजी कम्तीमा ३ अरब रुपैंया हुनु पर्ने छ भने संस्थागत पुँजी ५० करोड हुनु पर्ने उल्लेख छ । त्यसै गरी आवेदक संस्थाहरू विगत तीन वर्ष देखि नाफामा रहेको हुनु पर्ने, राष्ट्रिय सहकारी महासङ्घको सिफारिस लिनु पर्ने प्रावधान नियमावलीमा गरिएको छ ।
Leave a comment