काठमाण्डाै । राष्ट्रिय सहकारी महासङ्घले महासङ्घका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटालाई राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको छ । ६४ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा महासङ्घले बिहीबार आयोजना गरेको कार्यक्रममा बास्कोटालाई सहकारी अभियानमा पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय सहकारी पुरस्कार प्रदान गर्ने भएको हो ।
महासङ्घले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीमा योगदान गर्ने व्यक्ति तथा सङ्घ संस्थालाई पुरस्कृत गर्ने गरेको र अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने गर्दछ । उत्कृष्ट सहकारी पुरस्कार २०७७ बाट यस वर्ष चितवन जिल्ला सहकारी सङ्घ घोषणा भएको छ । त्यसै गरी सातै प्रदेशका सहकारी संस्थाहरूलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिँदै आएको छ ।
प्रदेश १ बाट कामधेनु दुग्ध विकास सहकारी संस्था इटहरी, प्रदेश २ बाट त्रियुगा सहकारी संस्था फत्तेपुर, बागमती प्रदेशबाट महिला साना किसान कृषि सहकारी संस्था, गण्डकी प्रदेशबाट दुम्कीबास दुग्ध उत्पादन सहकारी संस्था पुरस्कृत हुने भएका छन् ।
लुम्बिनी प्रदेशबाट हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था बर्दिया र कर्णाली प्रदेशबाट दलित महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था पुरस्कार कालागि छनोट भएका हुन् । त्यसै गरी उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारबाट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मकवानपुरकी व्यवस्थापक सुमित्रा वाईवा पुरस्कृत हुनेभएकी हुन् ।
Leave a comment