सहकारी मैत्री ‘कोभिड कप’ हुने

सहकारी मैत्री ‘कोभिड कप’ हुने :: Sahakari Akhabar

काठमाडौँ । राष्ट्रिय सहकारी दिवसको अवसरमा आउँदो चैत्र २८ गते ‘कोभिड कप २०२१’ आयोजना हुने भएको छ । काठमाडौँ जिल्ला सहकारी सङ्घ र मिडिया हेराल्ड प्रालिको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ मूल नाराका साथ कोभिड कप गर्न लागिएको हो ।

दिवसको अवसरमा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारामा आधारित रहेर देशभर चैत्र २० गते ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ जिल्ला सहकारी सङ्घका अध्यक्ष ज्ञानबहादुर तामाङले दिवसको अवसरमा कप आयोजना गर्न लागिएकोमा खुसी व्यक्त गरे । 

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड १९ बाट धराशायी बन्दै गएको नेपालको खेल र मनोरञ्जन लगायत विविध क्षेत्रलाई केही हदसम्म माथि उठाउनका साथै समाजमा सहकारीप्रतिको चासो र सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

कोभिड १९ ले थला पारेको नेपालको खेलकुद, पेसा, व्यवसाय मनोरञ्जनात्मक क्षेत्रका साथै सम्पूर्ण नेपालीको मनोबल माथि उठाउन कप आयोजना गरिएको आयोजकले जनाएका छन् । नेपालीहरूमा लोकप्रिय मानिएको फुटबल खेललाई यस प्रतियोगिताले थप क्रेज थप्ने विश्वास लिएका छौँ’ उनले भने ।

प्रतियोगितामा सहकारी, निजी र सरकारी पक्षका बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै कला, साहित्य, शिक्षा र खेलकुद क्षेत्रको प्रतिनिधित्व हुने छ । चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, नेपाल क्रिकेट सङ्घ, बैङ्क तथा वित्तीय परिसंघ, सहकारी अभियान, सहकारी अभियान, लायन्स क्लब, राष्ट्रिय निजी तथा आवासीय विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगिताका अवसरमा हास्य कलाकारहरूबाट विविध मनोरञ्जनका कार्यक्रम पनि हुने छ । प्रतियोगिता चैत्र २८ गते दिउँसो १२ बजेदेखि ७ बजेसम्म आयोजना हुने छ । 



Leave a comment