चीना थापा
विराटनगर । विराटनगर महानगरपालिका सहकारी शुद्दिकरणमा लागेको छ । महानगरभित्र रहेका सहकारीको अवस्था बुझ्न महानगरपालिका सहकारी शाखाले गत बर्षदेखि अनुगमन थालेको जनाएको छ ।
महानगरभित्र दर्ता भएर संचालनमा रहेका ७५ वटा सहकारीको गत बर्ष अनुगमन गरेको र यो बर्ष पनि अनुगमनको काम निरन्तर चलिरहेको सहकारी शाखाकी प्रमुख निशा भट्टराईले बताइन्।
अनुगमनका क्रममा कतिपय सहकारी बोर्डमा मात्र सीमित रहेको भेटिएको बताउँदै भट्टराईले कतिपय सहकारी झोलामा मात्र सीमित रहेको बताइन् । सबै सहकारीको अनुगमन सकिएपछि सक्रिय सहकारी, निष्क्रिय सहकारी, निम्मस्तरका सहकारी, मध्यमस्तरका सहकारी र उच्चस्तरका सहकारीलाई छुट्याएर सहकारीका गतिविधि अगाडि बढाइने उनले जानकारी दिइन्।
स्थानीय सरकारलाई नै अधिकार प्रदान गरेपछि अहिले हरेक पालिकाले आफू मातहतमा पर्ने सहकारी क्षेत्र हेर्ने गरेका छन् । दर्ता, अनुगमन, दर्ता खारेजी, सहकारी संस्थालाई स्थर उन्नती गर्ने, नियम कानुन बनाउने सबै काम स्थानीय तहले गर्छन् ।
विराटनगर महानगरपालिकामा १ सय ८९ वटा सहकारी छन् । डिभिजन सहकारीले महानगर सहकारी शाखालाई १८८ वटा सहकारीको कागजात जिम्मा लगाएको शाखा प्रमुख भट्टराईले बताइन् । महानगरले एउटा कृषि सहकारी संस्था मात्र दर्ता गरेको र त्यो सँगै १८९ वटा पुगेको भट्टराइको भनाई छ ।
महानगरपालिकामा १४५ वटा बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । त्यसैगरी कृषि सहकारी ११ वटा, बहुउदेश्यीय २४ वटा, उपभोक्ता ४ वटा र अन्य ५ वटा सहकारी संञ्चालनमा छन् । त्यस्तै महानगरभित्र महिलाले मात्र सञ्चालन गरेको सहकारीको संस्था १२ वटा छ ।
बचत तथा ऋण सहकारीको दर्ता रोक
महानगरपालिकाले महानगरभित्र बचत तथा सहकारी संस्थाहरुको दर्ता रोकेकोे छ । महानगरमा बचत तथा ऋण प्रकृतिका सहकारीको संख्या धेरै भएकाले एकीकरणमा जोड दिएको सहकारी शाखाकी सहायक प्रमुख रोजी कार्कीले बताइन् ।
महानगरमा यो प्रकृतिका सहकारी दर्तामा पूर्ण रुपमा रोकेको कार्कीको भनाई छ । पूर्ण रुपमा सहकारी शुद्दिकरण नगरी दर्ता नगर्ने उनले बताइन् । कृषि सहकारी दर्ता गर्ने गरेको र बहुउदेश्यीय पनि दर्तामा सहजीकरण गरिरहेको उनको भनाइ छ।
कर्मचारी कम हुँदा काममा समस्या
स्थानीय तहले सहकारीलाई महत्व दिएनन् भनेर सहकारीकर्मीहरुले आरोप लगाइरहेको बेला स्थानीय तहका सहकारी शाखाका कर्मचारीले पनि प्रयाप्त कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएका छन् ।
विराटनगर महानगरको सहकारी शाखामा ४ जना कर्मचारी छन् । १ जना अफिसमा बसेर ३ जनाले फिल्डको काम गर्नुपर्दा समस्या भएको उनीहरुको भनाई छ । फिल्ड गयो, अनि फेरि अफिसको काम गर्नुपर्दा जति काम हुनुपथ्र्यो त्यति हुन नसकेको उनीहरुले स्विकारेका छन् । जनशक्तिको अभावमा तालिम सञ्चालन गर्न, सहकारीलाई क्षमता अभिवृद्धिका कार्यक्रम गर्न तथा अनुगमन गर्न समस्या भएको छ ।
महानगरका सहकारीलाई कोपोमिसमा आवद्ध हुन आग्रह
महानगरपालिका सहकारी शाखाले महानगरभित्र रहेको सबै सहकारीलाई कोपोसिममा आवद्ध हुन आग्रह गरेको छ । अहिलेसम्म महानगरका ५८ वटा सहकारी मात्र यसमा आवद्ध भएको शाखाले जनाएको छ ।
कोपोमिसमा आवद्ध हुँदा सहकारीको कारोवार प्रष्ट देखिने हुँदा सहकारीको देखिने विभिन्न खाले विकृतिमा पनि कमी आउने सहकारी शाखा प्रमुख निशा भट्टराईले बताइन् । ‘आर्थिक पाटो पनि के कस्तो छ कोपोमिसमा प्रविष्ट भएपछि नियमन गर्न सजिलो हुने हुँदामा कोपोमिसमा आउन जोड दिइरहेका छौं ।’
तीन वटा मुद्दा दर्ता
सहकारीले बदमासी गरेको भन्दै महानगरपालिका सहकारी शाखामा ३ वटा उजुरी दर्ता भएका छन् । कतिपय समस्या समाधान भएको भएपनि केही अझै समाधान हुन नसकेको शाखाले जनाएको छ ।
०७६ साल चैत्र २६ गते सुमेरु बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य भवेन्द्र प्रसाद दास र अशोक यादवले मुद्दा दर्ता गरे । सहकारीले बचत फिर्ता नदिएपछि उनीहरु मुदा दर्ता गर्न बाध्य भए । सहकारी शाखाका कर्मचारीको अगुवाइमा उनीहरुको समस्या समाधान भइसकेको छ ।
त्यस्तै ०७७ साल असार २१ गते सहकारीले हिसाव लुकाएको भन्दै जामुनेश्वर बचत तथा ऋण सहकारी संस्थाका संञ्चालक समिति उपाध्यक्ष लगायत सदस्यहरुले मुद्दा दर्ता गरे ।
अध्यक्ष र व्यवस्थापनको मिलेमतोमा संस्थाको हिसाब किताब लुकाएको र बचत तथा शेयर रकमको अपचलन गरेको उनीहरुको आरोप थियो । यो समस्या सझै समाधान हुन सकेको छैन । महानगरपालिका सहकारी शाखाले समस्या समाधान गर्न पहल गरिरहेको जनाएको छ ।
त्यस्तै ०७७ माघ १६ गते बचतकर्ता र शेयर सदस्यहरुले रारा बचत तथा ऋण सहकारी संस्था विरुद्ध मुद्दा दर्ता गरे । बचतकर्ताको बचत रकम र शेयर सदस्यको शेयर रकम फिर्ता नदिएको भन्दै उनीहरुले मुद्दा दर्ता गरेका हुन् । यो समस्या पनि समाधान भएको छैन । सहकारी शाखाले समाधानको लागि पहल गरिरहेको जनाएको छ ।
सहकारीमा यस्ता समस्या आउन नदिन पनि सहकारी दर्ता गर्नेक्रम कम गरेको महानगरले जनाएको छ । कोपोमिसमा आवद्ध भएपछि पनि केहीहदसम्म विकृति कम हुने जनाइएको छ । महानगर सहकारी शुद्धिकरणमा लागेकाले केही समयपछि यस्ता समस्यामा कमी आउने महानगरले जनाएको छ ।
Leave a comment