सदस्य भेटौं : सदस्य सुनौं

सदस्य भेटौं : सदस्य सुनौं :: Sahakari Akhabar

बागलुङ ।  आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सदस्य भेटौ ः सदस्य सुनौ अभियान सुरु गरेको छ । यस अभियानबाट सदस्यलाई संस्थासँग प्रत्यक्ष जोड्न सहज भएको छ । 

सहकारी सदस्यमैत्री हुने भएपनि अधिकांश सहकारीमा त्यसो भएको पाइदैँन । सदस्य नै क्रियाशील नहुँदा अधिकांश सहकारीमा सीमित व्यक्तिको हालीमुहाली हुने गरेको पाइएको छ। तर आदर्श सञ्चार सहकारीले सबै सदस्यलाई संस्थासँग जोडिराख्न सदस्य भेटौं : सदस्य सुनौं अभियान सुरु गरेको छ। 

अन्तर्गत शुक्रवार बागलुङ नगरपालिका वडा नं. ९ तित्याङमा वडा भेला सम्पन्न भएको  छ । भेलाले उमा खड्काको संयोजकत्वमा ९ सदस्यीय उप–समिति गठन गरेको छ । उप–समितिको सचिवमा कमला खड्का तथा सदस्यहरुमा भीम कुमारी खत्री, नन्दकली परियार, सावित्री खड्का, अमृता खड्का, हस्त खड्का (पवन) चेली थापा र चित्र कुमारी क्षेत्री चयन भएका छन् । 

भेलामा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले संस्थाको रणनीतिक योजना अनुसार सदस्य वृद्धि गर्दै सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यक्रमलाई व्यापक बनाउने लक्ष्यका साथ वडा स्तरमा उप–समिति गठन प्रक्रिया अगाडि बढाइएको बताए ।  

संस्थाका सञ्चालक खीम बहादुर केसीले आदर्श सञ्चार सहकारीले सञ्चालन गरेको सदस्य वृद्धि अभियान अन्तरगत एक जना शेयर सदस्यले २ जना थप गर्नका लागि सदस्यहरुलाई आव्हान गरे ।      

कार्यक्रममा संस्थाको रणनीतिक योजना तथा समसामयिक अवस्थाका बारेमा प्रवन्धक दिपकराज सापकोटाले जानकारी गराए ।   

 आदर्श सञ्चार सहकारी संस्थाले १० वर्षे रणनीतिक योजना अनुसार २०८० साल असार मसान्तसम्म ५ हजार भन्दा बढी शेयर सदस्य, १० करोड शेयर पूँजि, ८० करोड बचत र ७५ करोड कर्जा लगानी तथा १ अर्ब ८ करोड वासलात पु¥याउने लक्ष्य लिएको छ। 

रणनीतिक योजना अनुसार प्रत्येक वर्षको योजना अनुसार प्रत्येक वर्षको कार्ययोजना अनुसार सदस्य भेटौ सदस्य सुनौ अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।    

धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सञ्चालन गर्दै आएको संस्थामा हाल २ हजार ५ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३४ करोड वचत र ३१ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णबहादुर कार्कीले जानकारी दिए ।     
 



Leave a comment