नेपालमै रासायानिक मल कारखाना खुल्ने

नेपालमै रासायानिक मल कारखाना खुल्ने :: Sahakari Akhabar

काठमाडौं । नेपालमै मल कारखाना खुल्ने भएको छ । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत गरिसकेको छ ।

बिहिवार बसेको मन्त्रीपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन २०७७ स्वीकृत गरेको हो । 
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ती प्रक्रिया अगाडी बढाउन स्वीकृती प्रदान गरिएको हो । 

सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधी तयार गर्ने छ । 

सरकारले रासायनीक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

नेपालमा वर्षेनी अर्र्र्र्बाैको मल आयात भइरहेको छ । आयातमा समस्या हुँदा किसानले समयमै मल पाउँदैनन् । मल कारखाना स्थापना गर्न सरकारले अर्थ मन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको टोलीले केही समयअघि अध्ययन गरेको थियो । 

मन्त्री अर्यालले वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दिर्घकालिन समाधान गर्न कारखाना स्थपना गर्न लागिएको बताइन् । 

छिमेकी देश भारतमा भने सहकारीको स्वामित्वमा मल कारखाना स्थापना भएका छन् । इफ्पोले मल उत्पादन गर्छ । नेपालमा अब सार्वजनिक निजी साझेदारीमा मल कारखाना स्थापना गर्ने तयारी छ । 

नेपालका सहकारीले वर्षेनी इफ्फो भ्रमण गर्छन् । सामूहिकरुपमा लगानी गर्न सहकारीले पनि सक्ने देखिएको छ । 

‘मलको तत्कालिन समस्या समाधान हामीले गरिसकेका छौ । ‘हामीले मलको दिर्घकालिन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको छ’, मन्त्री अर्यालले बताइन्,‘यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनुपर्ने छैन भने उत्पादनमा कमी आउने छैन् । मध्यकालिन समस्या समाधानका निम्ती प्रक्रिया अगाडी बढाएका छौ ।’
 



Leave a comment