काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले कुनै नेपाली घरबार विहीन हुन नदिने बताएकी छन् । नेपालमा अब कुनै पनि मानिसले सडकमा मागेर खानुपर्ने अवस्था रहँदैन उनीहरूको जिम्मेवारी सरकारले लिने उनले बताइन ।
‘घरबार विहीन कुनै मानव सडकमा देख्नु भयो भने हामीलाई खबर गरिदिनुस् हामी उहाँहरूको जिम्मेवारी लिने छौँ ।’ उनले भनिन्, ‘०७८ भित्र सडक मानवमुक्त गर्ने सरकारको योजना छ ।’ उनले प्रदेश र स्थानीय तहसम्म प्रभावकारी नेटवर्क निर्माण गर्ने काममा सहकारी अगाडि रहेको बताइन् ।
सहकारीमार्फत महिला आपसमा मिलेर टोल टोलमा उद्यमशीलता तथा उत्पादन वृद्धिको कार्य गरिरहेको भन्दै खुसी व्यक्त गरेकी छन् । ‘सहकारीले महिला सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गरेको छ ।’ मन्त्री महतोले भनिन्, ‘सहकारी ५६ प्रतिशत महिला सहभागिता छ । महिलाको आर्थिक, सामाजिक, संस्कृति र राजनीतिक चेतना वृद्धि गर्ने विषयमा सहकारीको योगदान महत्त्वपूर्ण छ ।’
राष्ट्रिय सहकारी महासङ्घले आयोजना गरेको सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री महतोले भनिन्,‘महिला दिदीबहिनी सहकारीमार्फत उत्पादनमा जोडिएका कारण सरकारले पनि ठुलो अपेक्षा गरेको छ ।’ उनले नीति नियमबाट सहकारी र महिला उद्यमशीलताका लागि समस्या परेको भए आफूले त्यसका लागि पहल गर्ने बचन समेत दिइन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा महासंघका सल्लाहकार उषा झाले महिला निर्णयकर्ता भएकाले अधिकार लिने होइन अधिकार दिने भूमिकामा हुनुपर्ने बताइन् । ‘हामी एक सय प्रतिशत हौँ । हामी जन्म दिन्छौ अनि हामी अधिकार देऊ किन भन्ने हामीले अधिकार माग्ने होइन दिने हो ।’
महासङ्घका अध्यक्ष मीनराज कडेलले ७० वटा जिल्ला सहकारी संघमध्ये ३ वटामा महिला अध्यक्ष रहेको र अन्यमा समेत महिलालाई नेतृत्व लिनका लागि प्रेरणा मिलेको बताए । महासङ्घका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले २१ औं शताब्दीमा महिलाहरु समावेशितामा मात्र भर पर्न नहुने बताउँदै निर्णय र ज्यालामा पनि समानता हुनुपर्ने बताइन् । सांसद डा.विमला राई पौडेलले लैङ्गिक समानताको मूल प्रवाहमा सहकारी चुनौती र आगामी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा सांसद मनकुमारी जिसी, महासङ्घका उपाध्यक्ष रमेश पोखरेल, सञ्चालक तथा राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सञ्चालक अमृता सुब्बा, पदमा गुरुङले महिला समावेशिताको विषयमा बोलेका थिए । दुई दिने गोष्ठीमा महिला उद्यमी कमला सुवेदी, मल्लिका श्रेष्ठले आफ्नो अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । त्यसै गरी महिला समावेशिताका लागि सङ्घले गरेको प्रयास एवं चुनौतीहरूको विषयमा समेत सोमबार प्रस्तुति हुने छ ।
Leave a comment