काठमाडौँ । ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाउनका लागि १ हजार १ सदस्यको सहकारी दिवस मूल समारोह समिति गठन भएको छ ।
बागमती प्रदेश सहकारी सङ्घले सहकारी दिवस मनाउन १००१ सदस्यीय मूल आयोजक समारोह समिति गठन गरेको हो । हेटौँडामा शुक्रवार भएको भेलाले राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी सङ्घका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको छ ।
राष्ट्रिय सहकारी महासङ्घले यो वर्षको सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ तय गरेपछि प्रदेश तथा जिल्ला सहकारी सङ्घहरूले सहकारी दिवसका कार्यक्रमहरू तय गर्न थालेका छन् ।
हरेक वर्ष चैत २० गते सहकारी दिवस मनाउने गरिएको छ । यो वर्ष सहकारी अभियानले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाउने तयारी गरिरहेको छ ।
बागमती प्रदेश सहकारी सङ्घले दिवस मनाउनका लागि समितिको सहसंयोजकमा बागमती प्रदेश सहकारी सङ्घका अध्यक्ष रामशरण घिमिरे तथा सचिवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाका कानुन अधिकृत प्रकाश चापागाईँ रहेका छन् ।
यसै गरी मूल आयोजक समारोह समितिमा महासङ्घका बागमती प्रदेश भित्रका सबै सञ्चालक, प्रदेश सहकारी सङ्घका पदाधिकारी सञ्चालक, प्रदेश विषयगत सहकारी सङ्घका सञ्चालक, मकवानपुर जिल्ला सहकारी सङ्घका सबै सञ्चालक, मकवानपुरका विषयगत सहकारी सङ्घका सञ्चालक, राष्ट्रिय सहकारी बैङ्क हेटौँडा शाखा, नेफ्स्कून हेटौँडा शाखा, साना किसान बैङ्क हेटौँडा र ग्रामीण महिला सेवा केन्द्रका प्रतिनिधिहरू सदस्य रहेका छन् ।
दिवसको अवसरमा चैत १९ गते चोक चोकमा दीपावली गर्ने तथा बृद्ध आश्रममा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम तय गरिएको छ । चैत २० गते बिहान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हेटौँडा चौकी टोलबाट र्याली सहितको कार्यक्रम आयोजना गरिने मुल आयोजक समारोह समितिका संयोजक नारायण देवकोटाले बताए । मूल समारोह समितिका संयोजक नारायण देवकोटाको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।
समारोह समितिका सहसंयोजक, सचिव लगायत प्रदेश विषयगत सहकारी सङ्घका अध्यक्षहरू, मकवानपुर जिल्ला विषयगत सहकारी सङ्घका अध्यक्षहरू, मकवानपुर नेफ्स्कून फिल्डका प्रतिनिधि, राष्ट्रिय सहकारी बैङ्क प्रदेश प्रतिनिधि, साना किसान बैङ्क प्रतिनिधि, ग्रामीण महिला सेवा केन्द्रका अध्यक्ष, मकवानपुर जिल्ला सहकारी सङ्घका व्यवस्थापक सदस्य रहेका छन् ।
यसै गरी सचिवालयको आमन्त्रित सदस्यमा बागमती प्रदेश सहकारी रजिस्ट्रार विक्रम पाण्डे, मकवानपुर जिल्ला सहकारी सङ्घका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल र प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लव सापकोटा रहेका छन् ।
Leave a comment