सहकारीको लेखापरीक्षको बन्देज हटाइनुपर्ने :  अडान

सहकारीको लेखापरीक्षको बन्देज हटाइनुपर्ने :  अडान :: Sahakari Akhabar

काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन (अडान) ले सहकारीका सञ्चालकलाई अन्य सहकारीमा लेखापरीक्षण गर्न नपाउने व्यवस्था हटाउन माग गरेको छ । सहकारी ऐन २०७४ ले कुनै एक सहकारीमा सञ्चालक सदस्य रहेको लेखा परीक्षकले अन्य सहकारीहरुमा समेत लेखा परीक्षण गर्न नपाउने व्यवस्थाले लेखा परीक्षकको स्वतन्त्रता हनन् भएको ठहर गर्दै उक्त व्यवस्था हटाउन अडानले माग गरेको हो ।

यसबाट स्वतन्त्र रुपमा पेसा व्यवसाय गर्न पाउने व्यक्तिगत नैसर्गिक अधिकार कुण्ठित भएको अडानले उल्लेख गरेको छ । अडानले प्रेस विज्ञप्ति जारी गर्दै लेखा परीक्षकलाई सहकारीको लेखा परीक्षण गर्न अङ्कुश लगाउन नहुने जनाएको हो ।

उक्त व्यवस्था तत्काल खारेज गर्न ऐन जारी भए देखिनै ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको अडानको भनाई छ । उक्त व्यवस्था खारेज गर्ने गराउने तर्फ चार्टर एकाउन्टेन्ट संस्था र सम्बन्धित निकाय गम्भीर नभएकाको विज्ञप्तिमा जनाइएको छ ।

अडानका उपमहासचिव भोलानाथ पाठकले उक्त व्यवस्था कार्यान्वयन हुने अवस्था आए सहकारीले लेखा परीक्षक नपाउने अवस्था आउने बताए । ‘यस्तो व्यवस्था कार्यान्वयन हुने अवस्था आए सहकारीले लेखा परीक्षक नै पाउँदैनन्’, उनले भने,‘कम्तीमा पनि ७० प्रतिशत लेखा परीक्षक सहकारीमा जोडिएका छन् ।’

सहकारीका सञ्चालकले लेखा परीक्षण गर्न नपाउने अवस्था कार्यान्वयन सम्भव नभएको उनले बताए । ‘यस्तो व्यवस्था अन्त कतै छैन तर यहाँ किन त्यस्तो व्यवस्था गरियो ।’ संविधान प्रदत्त मौलिक अधिकार कुण्ठित हुने उक्त व्यवस्था अविलम्ब खारेज गर्न माग गरिएको छ ।

नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबाट जारी गरिएका लेखामान अनुसार वित्तीय विवरणहरू  तयार गर्ने प्रमुख दायित्व उद्योगी ब्यावसायी हरुको हुने भए पनि लेखा परीक्षकलाई जिम्मेवारी गराइएकोमा आपत्ति प्रकट गरिएको छ । लेखापरीक्षक हरुलाई लेखा परीक्षणका विभिन्न मानहरू कार्यान्वयन गराउने सन्दर्भमा गम्भीर हुन र आचार संहितालाई पालना गरी पेसालाई मर्यादित र प्रभावकारी बनाउन आह्वान गरिएको छ ।



Leave a comment