काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) ले साकोसहरुलाई विशिष्टीकृत सङ्घमा जथाभाबी लगानी गर्न अङ्कुश लगाएको छ । सङ्घले साकोसहरु लाई गैर वित्तीय क्षेत्रमा लगानी नगर्न निर्देशन जारी गरेको हो ।
सहकारी ऐन २०७४ मा विशिष्टीकृत सङ्घमार्फत सहकारीलाई लगानी गर्ने अवसर दिइएको छ । ऐन अनुसार बचत तथा ऋण सहकारीले पनि लगानी गर्न पाउँछन् । उक्त प्रावधानको फाइदा उठाउँदै धमाधम विशिष्टीकृत सङ्घ स्थापना हुन थालेका छन् ।
सहकारी ऐन २०७४ को दफा १२५ मा भएको व्यवस्था अनुसार सहकारी संस्थाले कार्यक्षेत्र बाहिर गई कारोबार गरेमा वा गैर सदस्य कारोबार गरेमा तथा सहकारी संस्थाले ऐन विपरीत कृत्रिम व्यक्तिलाई सदस्यता दिएमा ५ लाखसम्म जरिवाना हुने व्यवस्था छ । नेफ्स्कूनले विशिष्टीकृत सङ्घमा लगानी गर्दा उक्त प्रावधान अनुसार जरिवाना नहुने कानुनी वातावरण तयार भएपछि लगानी गर्नुपर्ने बताएको छ ।
दूध उत्पादन तथा प्रशोधन, तरकारी तथा फलफूल, आवास विशिष्टीकृत सहकारी सङ्घलगायत स्थापना भएका छन् । उपभोक्ता, शिक्षालगायत अन्य विशिष्टीकृत सहकारी सङ्घ पनि प्रक्रियामा छन् । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले विशिष्टीकृत सहकारी सङ्घको नाममा बचत तथा ऋण सहकारीले जथाभाबी लगानी गर्न थालेपछि मार्गदर्शन जारी गरेको बताए । ‘बचत सहकारीले गैर वित्तीय क्षेत्रमा जथाभाबी लगानी गर्न हुन्न’ उनले भने,‘निक्षेपकर्ताको बचत नडुबोस् भनेर साकोसलाई मार्गदर्शन जारी गरेका हौं ।’
बचत सहकारीले विशिष्टीकृत सङ्घमा लगानी गर्नुअघि साधारण सभाबाट स्वीकृति योजना अनुसार मात्र गर्नुपर्ने छ । अब बचत तथा ऋण सहकारीले घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न पाउने छैनन् ।आफ्ना सदस्यहरूको आवश्यकतामा आधारित भई उपयोग, उत्पादन र रोजगारीमा योगदान पुग्ने क्षेत्रमा मात्रै लगानी गर्न नेफ्स्कुनले निर्देशन जारी गरेको छ । सहकारीका २५ प्रतिशत संलग्न हुन सक्ने उद्योग / व्यवसायलाई मात्रै साझा आवश्यकताका रूपमा अर्थ्याइएको छ ।
वित्तीय क्षेत्र बाहेकका क्षेत्रमा लगानी गर्दा एक वर्षभित्र प्रतिफल नआएमा अनिवार्य जोखिम खर्च व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ । स्वरोजगारी तथा मूल्य श्रृखलामा योगदान पुर्याउने वस्तुको सञ्चय, प्रशोधन, बजारीकरण र निर्यातमूलक कार्यका लागि दर्ता भएका विशिष्टीकृत सङ्घमा मात्र लगानी गर्नुपर्ने भनिएको छ ।
संस्थाको प्राथमिक पुँजी कोष र बचत अनुपात कम्तीमा एक बराबर १५ कायम गरी जगेडा कोष सेयरबाट मात्र लगानी गर्नुपर्ने छ । विशिष्टीकृत सङ्घमा लगानी गर्दा जगेडा कोषको ०.५ प्रतिशत भन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ ।
नेफ्स्कून, प्रदेश बचत सङ्घ र जिल्ला बचत सङ्घहरूको कार्यक्षेत्र दोहोरो नपर्ने गरी सुनिश्चितता भएको क्षेत्रमा मात्रै लगानी गर्नुपर्ने उल्लेख गरिएको छ । यसका साथै साकोसको पहिचान र एक्यवद्वता कायम गरेर मात्र विशिष्टीकृत सङ्घमा लगानी गर्नुपर्ने छ । सहकारी ऐन २०७४ को दफा ९ मा विशिष्टीकृत सहकारी सङ्घको व्यवस्था गरिएको छ । कम्तीमा पच्चीस वटा बहुउद्देश्यीय वा विषयगत संस्थाहरू आपसमा मिली विशिष्टीकृत सहकारी सङ्घ स्थापना गर्न सक्छन् ।
जलविद्युत आयोजना, रासायनिक मल कारखाना, आवासीय परियोजना, यातायात, भारी कृषि उपकरण, फलफूल प्रशोधन, जडीबुटी प्रशोधन, चिनी उद्योग, शीत भण्डार, अस्पताल, शिक्षालय, प्राविधिक शिक्षालय, प्रयोगशाला जस्ता ठुला लगानी चाहिने उत्पादन कार्य गर्न वा सदस्यका साझा आवश्यकताका वस्तु वा सेवाको परिपूर्ति गर्न विशिष्टीकृत सहकारी सङ्घको गठन गर्न सक्ने व्यवस्था गरिएको छ ।
Leave a comment