काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा काठमाडौंको लप्सेफेदीमा २ दिने सहकारी पत्रकारिता सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सहकारी र सञ्चार एक अर्काको पूरक रहेको बताए । अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सञ्चार र सहकारीको सहकार्य हुन अपरिहार्य भइसकेको उनले बताए ।
तालिमले सहकारीको गुणात्मक र स्तरीय समाचार सम्प्रेषणमा सघाउ पुग्ने अध्यक्ष कँडेलले बताए । सहकारी सिस्टममा नचल्दा समस्याग्रस्त हुने गरेको उनको भनाइ छ ।
सहकारी सिस्टममा चल्न सके मात्र सहकारीबाट आर्थिक रूपान्तरण सम्भव हुने बताए । सहकारीले उत्पादन र गरिबी निवारणमा महत्त्वपूर्ण टेवा पुर्याएको उनले बताए ।
ऐनले उत्पादन र बजारीकरणमा सहकारी क्रमशः जोडिँदै गएको उनको भनाइ छ । देश भकार ५ सय भन्दा बढी सहकारी उत्पादनमा प्रत्यक्ष काम गरिरहेको उनले बताए ।
सहकारी विभागको पछिल्लो तथ्याङ्क अनुसार सहकारीमार्फत ८८ हजारले रोजगारी पाएको तथ्याङ्क सार्वजनिक गरिए पनि १ लाख भन्दा बढीले रोजगारी पाएको हुन सक्ने अध्यक्ष कँडेलको भनाइ छ ।
सहकारीको वास्तविक तथ्याङ्क आउन नसक्दा सहकारीको योगदानको कदर हुन नसकेको उनले बताए । ऐनले उत्पादन, बजारीकरण लगायत विविध क्षेत्रमा सहकारीलाई काम गर्ने अवसर दिएकाले सहकारीहरू पछिल्लो समयमा उत्साहित भएर लगानी गरिरहेको बताए
अध्यक्ष कँडेलले सहकारीले विशिष्टीकृत सहकारी सङ्घमार्फत कृषि, आवास लगायतका क्षेत्रमा काम गरिरहेका छन् । आधा दर्जनभन्दा बढी विशिष्टीकृत सहकारी सङ्घ दर्ता भएर विविध क्षेत्रमा काम गरिरहेको उनले बताए ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा नेपालमा सहकारीको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासमा राजेन्द्र पौड्याल, नेपालमा सहकारी पत्रकारिता र यसको भविष्य यादव हुमागाई, पत्रकारितामा शुद्धता र न्यू मिडियामा वसन्त बस्नेत, मेमोरी पावर र मेटिभेसनलका विषयमा अनन्तराम केसीले प्रशिक्षण दिनु हुनेछ ।
नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सुरु भएको तालिममा निवर्तमान अध्यक्ष डिल्लीप्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सचिव तुलसी सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष काजी श्रेष्ठले गर्नुभएको थियो । सिजेएनले सरोकारवाला निकायको सहकार्यमा पत्रकारिता तालिम, अध्ययन, अवलोकन भ्रमण र अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।
Leave a comment