लुनिभा र सोसाइटल निक्षेप फिर्ता प्रकरण : पीडित नै गायब

लुनिभा र सोसाइटल निक्षेप फिर्ता प्रकरण : पीडित नै गायब :: Sahakari Akhabar

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोसाइटल बचत तथा ऋण सहकारी संस्था र लुनिभा बचत तथा ऋण सहकारी संस्थाका पीडितलाई निक्षेप फिर्ता गराउन पहल थालेपनि पीडित नै गायब भएका छन् ।

कतिपय निक्षेपकर्ता समयमै सम्पर्कमा नआउँदा समितिले पैसा फिर्ता दिलाउन सकेको छैन । समितिका सदस्य सचिव केशवप्रसाद पौडेलले सोचेजति पीडित सम्पर्कमा आउन नसकेको बताए ।

फोन सम्पर्क गरेर बोलाउँदा पनि पीडित आउन नसकेको उनले जानकारी दिए । ‘कति उपत्यकाबाहिर हुनुहुन्छ’ उनले भने, ‘त्यस्ता पीडितले काठमाडौंमा बस्ने आफन्तमार्फत आफ्ना कागजात पठाइरहनुभएको छ ।’

समितिका अनुसार सोसाइटलका ४८ जनाको लागि चेक काटिसकेको छ । कृृषि विकास बैंकले आज मंगलबार निक्षेपकर्ताको बैंकमा पठाउने छ । लुनिभाका २९ जना पीडित सम्पर्कमा आएका छन् ।

समितिले पहिलो चरणमा ५० हजारसम्मको बचतकर्ता ९० जनालाई निक्षेप फिर्ता गर्ने भनेको छ । ज्येष्ठ, अपांग ४० जनाको निक्षेप फिर्ता गर्न पनि समितिले तदारुकता देखाएपनि अझै फिर्ता गर्न सकेको छैन ।

प्राप्त कागजातका आधारमा चार्टर्ड एकाउन्टेन्टले छानबिन गरी चैत्रमा ठूला निक्षेपकर्ताको पनि निक्षेप फिर्ता गर्ने तयारी गरेको छ ।सदस्य सचिव पौडेले सोसालइटलको ५ करोड २१ लाखको मागदावी मिलान भइसकेको बताए ।

लुनिभाको १ करोड मागदावी पनि छिट्टै मिलान हुने उनले बताए । व्यक्तिले पैसाको नाममा घरजग्गा लिएर आपसमा सहमति गरेर आएपछि समितिले माग दावी मिलान गर्ने गर्छ ।

पीडितले बचतको चेकबुकसहित आफ्नो नाममा रहेको बैंक खाता र निवेदन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा उपलब्ध गराएका छन् । समितिले २ करोड ३४ लाख रकम ऋणी तथा सञ्चालकबाट उठाइसकेको छ ।

समितिका अनुसार सोसाइटलका २ सय ४० जना बचतकर्ता र लुनिभाका २ सय १४ बचतकर्ताको निक्षेप फसेको  छ । सोसाइटलको साँवाब्याज गरी १० करोड २२ लाख १३ हजार र लुनिभाको २० करोड २९ लाख ४१ हजार दायित्व छ ।

समितिका अनुसार सोसाइटलको साँवा मात्रै ९ करोड ७८ लाख ४२ हजार र लुनिभाको १३ करोड ७३ लाख २९ हजार तिर्नुपर्ने दायित्व छ ।सरकारले २०७५ फागुनमा सोसाइटल र २०७६ साउनमा लुनिभालाई  समस्याग्रस्त घोषणा गरेको थियो ।



Leave a comment