राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले उत्पादन क्षेत्रमा सहकारीको लगानी बढ्दै गएको बताए । दूध उत्पादनमा सहकारीले लगानी गर्न थालेका छन्’ उनले भने,‘हामीले उत्पादनमूलक सहकारीलाई लगानीमा प्राथमिकता दिएका छौं ।’ बैंकको लगानीमा कतिपय सहकारीले आफै र कतिपय सहकारीले सदस्यहरुलाई लगानी गरेका छन् ।
काठमाडौं । दूध उत्पादनमा प्रदेश १ का सहकारी अब्बल बन्दै गएका छन् । प्रदेश १ का झापा, मोरङ, इलाम र सुनसरीका सहकारी दूध उत्पादनमा क्रियाशील भएका हुन् ।
दूध खान पनि नपाउने र बेच्न पनि नपाउने समस्या भएपछि स्थानीयहरुले दूग्ध सहकारी स्थापना गरी दूधको कारोबार सुरु गरिएको सहकारीका अगुवा बताउँछन् ।
इलाममा २७ जनाले २७०० रुपैयाँ उठाएर इलाम दूग्ध उत्पादक सहकारी संस्था गठन गरे । अहिले २ सय ५ जना किसान सदस्य छन् । संस्थाका अध्यक्ष परशुराम सापकोटाले दैनिक १ हजार लिटर दूध उत्पादन हुने गरेको बताउँछन् । संदस्यले संस्थालाई वार्षिक २ सय ५० लिटर दूध अनिवार्य बिक्री गर्नुपर्छ । १/२ देखि ४/५ वटासम्म गाई पाल्ने गरेका छन् । इलाममा जर्सी गाई र होलस्टेन गाई पालिन्छ ।
संस्थाले मिठाइ, बम्बईसन, कुरौनी(खुवा) पनिर उत्पादन गरी बिक्री गर्छ । संस्थाको प्रशोधन केन्द्र पनि छ । सीमित बजार भएपनि बिक्रीको समस्या नरहेको उनले सुनाए । गाई नपाल्ने व्यक्ति सेयर सदस्य हुन पाउँदैन ।
संस्थाले अढाइ लाखसम्म गाई किन्न कर्जा दिन्छ । ३ करोडको करोबार गर्छ । गाईपालन व्यवसाय प्रवद्र्वन गर्न १ करोड ३० लाखको परियोजना सञ्चालन गर्न लागिएको अध्यक्ष सापकोटाले बताए ।
राष्ट्रिय सहकारी बैंकबाट ४० लाख ऋण लिने संस्थाको योजना छ । संस्थाको दूध संकलन गर्न गाडी आफ्नै छ । परियोजनामार्फत किसानको गोठ बनाउने, घाँस, भेटनरी पसल, टेक्निसियन सहयोग गर्ने तयारी गरिएको उनले बताए ।
संस्थाले गाईपालन व्यवसायका लागि १२ प्रतिशतमा ८० हजार ऋण दिन्छ । व्यापारिक कर्जा भने अढाइ लाखसम्म पाइन्छ । अध्यक्ष प्याकेजिङ भन्दा खुला दूध मन पराउने भएकाले प्याकेजिङ नगरिएको बताए । इलामका उत्पादन इटहरीसम्म जाने गरेको छ । आगामी दिनमा देशभर पुर्याउने संस्थाको योजना छ ।
‘मिसावट केही हुँदैन । चिनीबाहेक अरु केही हुँदैन । ’ उनले भने,‘कतिपयले बिस्कुट, ललिपप मिसाउने गर्छन् तर हामी मिसावट गर्दैनौं’ नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले झापाको बिर्तामोडमा सञ्चालन गरेको डेरी उद्योगले छलाङ मार्दै गएको छ । भारतको अमुलको झल्को दिनेगरी एनएमसीले दूधका विभिन्न परिकार बनाएर बिक्री गर्दै आएको छ ।
एनएमसीले दूध, पनिर, घिउ, दही, मही, नौनीघिउ, आइसक्रिम, मिठाइलगायत दूग्धजन्य उत्पादन गर्ने गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले बताए ।
डेरीले दैनिक १२ हजार लिटर दूध खरिद गर्छ । संस्थाले छिट्टै दैनिक १५ हजार लिटर संकलन गर्ने योजना बनाएको उनको भनाइ छ । ४ हजार किसानले एनएमसीलाई दूध बिक्री गर्छन् । संस्थाका ३५ वटा चिस्यान केन्द्र छन् । डेरीमा ८० जनाले रोजगारी पाएका छन् । २० वटा गाडीमार्फत एनएससीले दूध किसानबाट दूध संकलन गर्दै आएको छ । प्रदेश १ मा चर्चित रहेको एनएमसीले छिट्टै आफ्ना उत्पादन देशभर पु¥याउने योजना बनाएको छ ।
सुनसरीको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले १० करोड लगानीमा गाई फार्म सञ्चालन गरेको छ । फार्ममा करिब २ सय गाई छन् । संस्थाले घाँस खेती पनि गर्छ ।
संस्थाका व्यवस्थापक बाबुराम खत्रीले संस्थाले पाँच वर्षे कार्ययोजना बनाए गाईपालन गरेको छ । संस्थाले दैनिक ६ सय लिटर दूध उत्पादन गर्छ । व्यवस्थापक खत्रीका अनुसार यस वर्ष एक सय लिटर दूध बढाई दैनिक ७ सय लिटर दूध उत्पादन हुन थालेको छ । संस्थाले बराहक्षेत्र नगरपालिका–२ मा बराह डेरी तथा पशु फार्म सञ्चालनमा ल्याएको छ ।
संस्थाका अध्यक्ष सीता भण्डारी पौडेलले सेयर सदस्यलाई उन्नत गाईहरु सुलभ मूल्यमा बिक्री वितरण गर्ने गरेको बताइन् । दूध हेरेर गाईको बिक्री गरिन्छ । १० लिटर दूध दिने गाईको मूल्य ७५ हजार पर्छ । पछिल्लो समयमा संस्थाबाट सदस्यले गाई खरिद गरी दूध उत्पादन गर्दै आएका छन् । संस्थाले हालै दैनिक १ हजार ५ सय लिटर दूध संकलन गर्छ ।
सदस्यबाट दूध संकलन गरी दूध तथा दूधजन्य पदार्थ बिक्री गर्ने गरेको अध्यक्ष पौडेलको भनाइ छ । सदस्यलाई अनिवार्यरुपमा संस्थाकै डेरीबाट बिक्री गर्ने व्यवस्था गर्न लागिएको छ । दूध वृद्विका लागि संकलन केन्द्र विस्तार गर्ने संस्थाको योजना छ । संस्थाले छिट्टै उदयपुर र सप्तरी जिल्लाबाट दूध संकलन गरी दैनिक २ हजार लिटर दूध खरिद गर्ने तयारी गरेको छ । संस्थाले दूग्ध उत्पादन पशुपालनमा ९.७५ प्रतिशत कर्जा लगानी गर्ने गरेको छ । सदस्यहरुबाट उत्पादित सबै दूध संस्थाले गरिद गर्छ ।
पछिल्लो समयमा दूध उत्पादन र बजारीकरणमा सहकारीको योगदान बढ्न थालेको छ । दूग्ध उत्पादक केन्द्रीय सहकारी संघका अनुसार देशभर १ हजार ६ सय ५२ वटा दूग्ध सहकारी छन् । त्यसमध्ये एक हजार दुई सय सहकारीले नियमितरुपमा दूध उत्पादन र बजारीकरण गर्छन् । अध्यक्ष नारायण देवकोटाका अनुसार सहकारीमार्फत दैनिक ७ लाख लिटर दूध उत्पादन हुन्छ । कोभिडअघि ९ लाख लिटर दूध उत्पादन हुँदै आएकोमा यस वर्ष ७ लाख दूध उत्पादन भएको छ ।
दैनिक १५ लाख लिटर दूधको माग छ । उत्पादनमा सहकारीले आधाभन्दा बढी हिस्सा ओगेटका छन् । दूध उत्पादन र बजारीकरणका लागि सहकारीले लगानी बढाउँदै लगेका छन् ।
कोभिडले उत्पादन र बजारीकरणमा असर गरेपनि मिल्क होलिडेको समस्या घट्दै गएको अध्यक्ष देवकोटा बताउँछन् । दूध उत्पादनमा अन्य प्रदेशको तुलनामा प्रदेश १ का सहकारी अब्बल देखिएको उनको भनाइ छ । सानादेखि ठूला प्रशोधन केन्द्र पनि सहकारीमार्फत स्थापना भएका छन् ।
दैनिक १० हजार भन्दा बढी दूध बिक्री गर्ने २० भन्दा बढी सहकारी रहेको अध्यक्ष देवकोटाले बताए । सहकारीले दैनिक ५० लिटरदेखि १० हजार लिटरसम्म दूध बिक्री गर्छन् । सहकारीले दुग्ध परिकारहरु दूध, दही, पनिर, घिउ, बटर बनाएर बिक्री गर्छन् ।
उत्पादन क्षेत्रमा लगानी बढाउन सरकारले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा विशिष्टीकृत मोडेलको अवधारणा ल्याएको छ । यस मोडल अबलम्बन गर्नेमा यहाँका सहकारी सक्रिय देखिएका छन् ।
विशिष्टीकृत मोडेलको अवधारणामा सहकारीमार्फत उद्योग स्थापना गर्न १५ करोड लगानी गर्नुपर्छ । ऐनको प्रावधान अनुसार प्रदेश १ र लुम्बिनी प्रदेशमा दूध उत्पादन र प्रशोधन गर्ने उद्देश्यले विशिष्टीकृत सहकारी संघको प्रक्रिया अघि बढेको छ ।
दूग्ध विकास संस्थान, प्राइभेट डेरी उद्योगले दूध खरिदमा मनोमानी गर्ने गरेकाले किसान मारमा परेका छन् । ‘उनीहरुले सधैं दूध खरिद नगर्दा किसानले उत्पादित सबै दूध बिक्री गर्न पाएका छैनन् ।’ उनले भने ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले उत्पादन क्षेत्रमा सहकारीको लगानी बढ्दै गएको बताए । दूध उत्पादनमा सहकारीले लगानी गर्न थालेका छन्’ उनले भने,‘हामीले उत्पादनमूलक सहकारीलाई लगानीमा प्राथमिकता दिएका छौं ।’ बैंकको लगानीमा कतिपय सहकारीले आफै र कतिपय सहकारीले सदस्यहरुलाई लगानी गरेका छन् ।
Leave a comment