इटहरी । प्रदेश एकका ४७३७ सहकारीलाई सहकारी रजिष्ट्रार कार्यालयले वार्षिक प्रतिवेदन बुझाउन सूचना जारी गरेको छ । कार्यालयले फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । प्रदेश सरकारले आफ्नो नियमन क्षेत्राधिकारभित्र रहेका सहकारीलाई यस्तो सूचना जारी गरेको हो । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, इटहरीले माघ १८ गते सूचना प्रकाशित गरेर सहकारीलाई वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७६र०७७ को को लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन अनिवार्य रुपमा पेश गर्न निर्देशन दिएको हो ।
संघीय सरकार अन्तर्गतको सहकारी विभागको पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा ४ हजार ७ सय ३७ जम्मा संस्था रहेको छ । त्यसैगरी कुल सदस्य संख्या ९ लाख ३५ हजार ७ सय रहेका छन् । जसमा महिला ५ लाख २ सय ४९ र पुरुष ४ लाख ३५ हजार ४ सय ५२ जना रहेका छन् । प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार ३ सय ७२ रुपयाँ, कुल बचत सकलन ४१ अर्ब २१ करोड ४२ हजार ८ सय ९ रुपयाँ र कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार १ सय ७ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत २० हजार ६ सय ८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कार्यालयले आफ्नो नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संघसंस्थाहरुको तथ्याङ्क अद्यावधिक गरी चाँडै प्रकाशित गर्ने उद्देश्य लिएकाले प्रतिवेदन संकलन कार्यलाई अभियानको रुपमा संचलान गरेको जनाएको छ । तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने सहकारीलाई निष्क्रिय सूचीमा राखी पुस्तिका प्रकाशित गर्ने तथा प्रचलित कानून बमोजिम जरिवाना लगायतको कारवाही गर्ने जनाएको छ ।
Leave a comment