अर्गानिक चिया उत्पादनकालागि सहकारी बैंकको २ करोड लगानी

अर्गानिक चिया उत्पादनकालागि सहकारी बैंकको २ करोड लगानी :: Sahakari Akhabar

इलाम । इलामको सूर्योदय नगरपालिकामा रहेको कन्याम चिया उत्पादक सहकारी संस्थाले अर्गानिक चिया उत्पादन सुरु गरेको छ । अर्गानिक चियाको विश्वव्यापी माग बढ्दै गएपछि क्रमशः पूर्ण अर्गानिक चिया उत्पादन गर्ने योजना बनाएको हो । अर्गानिक चिया उत्पादनकालागि सहकारी बैंकले २ करोड सहुलियत कर्जा प्रदान गरेको छ ।

चिया उत्पादनका लागि कन्याम सहकारीले राष्ट्रिय सहकारी बैंकबाट २ करोड ऋण ल्याएको छ । गरिबी निवारण कर्जा शीर्षकमा ७.५ मा १ करोड ७५ लाख र लघु कर्जा शीर्षकमा १० प्रतिशतमा २५ लाख ऋण बैंकबाट ल्याइएको व्यवस्थापक खड्काले बताए । संस्थाले लघु कर्जा घटाएर गरिबी निवारण कर्जा लिने र सहकारी बैंकबाट सहुलियतकर्जा पाए लिने योजनामा छ । सहकारीका व्यवस्थापक सूर्यबहादुर खड्काले गत वर्षदेखि अर्गानिक चिया उत्पादन सुरु गरिएको बताए । आउँदो ३ वर्षभित्र अर्गानिक उत्पादनमा गइसक्ने संस्थाले योजना बनाएको उनले बताए ।

व्यवस्थापक खड्काका अनुसार पहिला रासायानिक मल हालेर उत्पादन हुने गरेपनि अब प्रांगारिक मलमा जोड दिइएको बताए । तीन बर्षभित्र अर्गानिकमा जाने योजनाका साथ गत वर्षदेखि रेन फरेस्ट एलाइन्समा उत्पादन सुरु भइसकेको छ । संस्थामा आबद्व १ सय ६३ किसानले एक सय २० हेक्टर क्षेत्रफलमा चिया उत्पादन गर्छन् । यहाँका किसानहरुको वार्षिक ९ लाख केजी चिया उत्पादन हुन्छ । ४ लाख अन्य फ्याक्ट्रीमा लगेपनि सहकारीमा ५ लाख केजी चिया ल्याउँछन् । एक जना किसानले ५० हजारदेखि १५ लाख रुपैयाँसम्म कच्चा पदार्थ बिक्रीबाट आम्दानी गर्छन् । कृषक नगेन्द्र गिरीले चियाबाट वार्षिक १५ लाख आम्दानी गर्छन् । 

संस्थाले २०७० देखि चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएको छ । ५ लाख केजी कारखानाबाट प्रशोधन हुन्छ । ४ लाख अन्य अन्य फ्याक्ट्रीमा किसानले पठाउँछन् । अर्गानिकमा जादाँ उत्पादन घट्ने भएपनि किसानले उचित मूल्य पाउने संस्थाले जनाएको छ । संस्थाले चिया प्रशोधन गरेर वार्षिक १५ लाख नाफा गर्छ । चिया उत्पादन गर्न, गोडमेल गर्न संस्थाले सदस्यलाई ऋण पनि प्रदान गर्ने गरेको व्यवस्थापक खड्काले बताए । 

संस्थाका अध्यक्ष ख्यामराज प्रधानले उत्पादित चिया भारतमा निर्यात हुने गरेको बताए । अब स्थानीय बजार पनि खोज्ने संस्थाको तयारी छ । संस्थाले गत आर्थिक वर्षमा १ लाख १० हजार केजी भन्दा बढी तयारी चिया निर्यात गरेको थियो । उक्त मात्रामा चिया निर्यात गर्दा ३ करोड ४८ लाख ४६ हजार रुपैयाँ भित्रिएको थियो । संस्थाले १ लाख ३० हजार केजीसम्म उत्पादन गर्छ । व्यवस्थापक खड्काले स्वदेशी बजार नै खोज्ने योजना भएको बताए । संस्थाले आफ्नै लोगो अंकित ब्रान्डमा चिया निर्यात गर्छ । एक्सपोर्ट, इनपोर्टको सर्टिफिकेट ल्याउनुका साथै इन्डियाबाट सर्टिफिकेट अफ फुड ल्याब्रोटरीको प्रमाणपत्र ल्याई सहकारीले चिया निर्यात गर्छ ।

अध्यक्ष प्रधानले निर्यातमा झन्झटिलो प्रक्रिया हटाउनुपर्ने बताए । ‘निकासीमा प्राइभेट भन्दा सहकारीलाई प्राथमिकता दिनुपर्छ ।’ उनले भने,‘निर्यात गर्छाै तर झन्झट बढी छ ।’ ‘मल आफै उत्पादन गर्ने योजना छ’ उनले भने,‘ मल उत्पादन गरेर किसानलाई दिन्छौ ।’ चार केजी पत्ता पेल्न सक्ने क्षमता उद्योगसँग छ । चैत्र देखि मंसिरसम्म चिया प्रशोधन हुन्छ । त्यसबाहेकको समयमा मेसिन मर्मतलगायतका काम हुन्छ ।

संस्थाले प्रशोधन उद्योगमा ४ करोड लगानी गरेको छ । चिया प्रशोधन हुन थालेदेखि किसानले राहत पाएका छन् । ‘यसअघि किसानले बिचौलियामार्फत ढुवानी कटाएर व्यपारीलाई कच्चापदार्थ दिनुपथ्र्यो’, उनले भने,‘तर अहिले किसानले उद्योगबाट प्रत्यक्ष लाभ पाएका छन् ।’ संस्थाले १३ वटा कलेक्सन सेन्टर स्थापना गरेर किसानको चिया खरिद गर्छ ।

संस्थाले ७ जनालाई नियमि रोजगार दिएको छ । सिजनमा ४२ जनाले काम गर्छन् । व्यवस्थापक खड्काका अनुसार नगरपालिकाले चिया उत्पादनमा सहयोग गर्ने गरेको बताए । नगरपालिकाले न्यूनतम मूल्य तोक्ने गर्छ । अर्गानिक उत्पादनका लागि ५० प्रतिशत ब्याज अनुदान दिन्छ ।

त्यस्तै अर्गानिक सम्बन्ब्धी सचेतना कार्यक्रम पनि गर्दै आएको छ । १ केजी चिया बन्न साढे ४ केजी हरियो पत्ता लाग्छ । एक केजी चिया बन्न ३५० लागत लाग्छ । भारत निर्यात हुने गुणस्तरको चिया १ हजार १ सय मूल्य पर्छ । नेपालमा ७ सयदेखि ८ सयरुपैयाँ केजी सम्म खपत हुनेगरेको खड्का बताउँछन् ।

रिसर्च सेन्टर स्थापना हुँदै
इलामको सूर्याेदय गाउँपालिकामा स्थानीय तह र प्रदेश सरकारले रिसर्च सेन्टर र चिया टेष्टिङ सेन्टर बनाउन सुरु गरेका छन् । तीन वर्षमा सक्ने योजनाका साथ निर्माणको काम भइरहेको छ ।

सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले सहकारीलाई प्राथमिकतामा राखेर चिया उत्पादनमा जोड दिइएको बताए । अर्गानिक चिया उत्पादनका लागि नगरपालिकाले सहकारीलाई अनुदान समेत दिन्छ । चियाको क्रोन छैन । रिसर्च गरेर क्रोन बनाउने काम गर्नका लागि नगरपालिकाले पूर्वाधार निर्माण सुरु गरेको हो । टेष्ट गर्ने, मार्केटिङ गर्नका सहज हुने छ ।

नगर प्रमुख राईले सहकारीलाई सहुलियत ऋण दिन पहल भइरहेको बताए । निर्यात गर्ने सहकारीलाई नगरपालिकाले अनुदान पनि दिन्छ । ‘जति मात्रामा निर्यात गर्छ, त्यस पैसाको ५ प्रतिशत सबसिटी पाउँछ ।’ सहकारीले १ लाख केजी चिया निर्यात गर्दा ५ हजार अनुदान पाउँछन् ।  यो किसानको गोजीमा जान्छ । संस्थाले गत वर्षदेखि चियाको समर्थन मूल्य निर्धारण गर्न थालेको छ । नेपालमै उत्पादन हुने जात खोजी नेपाली ब्रान्ड बनाउने अभियान थालिने उनको भनाइ छ ।

 



Leave a comment