सुनसरी । बराहक्षेत्र नगरपालिका–२मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले गाईपालनमा प्राथमिकता दिएको छ । संस्थाले पछिल्लो समयमा व्यवसायिक गाईपालनमा लगानी बढाएको जनाएको छ । संस्थाको लगानीमा बराह डेरी तथा पशु फार्म सञ्चालनमा छ । फार्मलाई गाई श्रोत केन्द्रको रुपमा विकास गरी सेयर सदस्यलाई उन्नत गाईहरु सुलभ मूल्यमा बिक्री वितरण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष सीता भण्डारी पौडेलले बताइन् ।
संस्थाले पाँच वर्षे कार्ययोजना बनाए गाईपालन लगायत कृषिका विविध कार्यक्रममा लगानी बढाउँदै लगेको संस्थाका व्यवस्थापक बाबुराम खत्रीले बताए । जैविक मल, पशु आहारमा लगानी बढाउन लागिएको उनले बताइन् । संस्थाले १० करोड परियोजनामा गाई फार्म सञ्चालन गरेको छ । फार्ममा करिब २ सय गाई छन् । संस्थाले घाँस खेती पनि गर्छ । दैनिक ६ सय लिटर दूध उत्पादन गर्ने गरेको संस्थाले यस वर्ष एक सय लिटर दूध बढाई दैनिक ७ सय लिटर दूध उत्पादन हुन थालेको व्यवस्थापक खत्रीको भनाई छ ।
संस्थाले आफ्ना सदस्यलाई गाईका बाच्छा बाच्छी पनि बिक्री गर्छ । दूध हेरेर गाईको मूल्य गरिन्छ । १० लिटर दूध दिने गाईको मूल्य ७५ हजार पर्छ । पछिल्लो समयमा संस्थाबाट सदस्यले गाई खरिद गर्ने क्रम बढेकोले दूध उत्पादन पनि बढेको खत्री बताउँछन् । संस्थाले हालै दैनिक १ हजार ५ सय लिटर दूध संकलन गर्छ । सदस्यबाट दूध संकलन गरी दूध तथा दूधजन्य पदार्थ बिक्री गर्छ । सदस्यलाई अनिवार्यरुपमा संस्थाकै डेरीबाट बिक्री गर्ने व्यवस्था गर्न लागिएको संस्थाले जनाएको छ ।
डेरी फार्म सञ्चालन भएको क्षेत्रमा अन्य कृषिका कार्यक्रम सञ्चालन गर्ने संस्थाको योजना छ । दूध वृद्विका लागि संकलन केन्द्र विस्तार गरी यहीँ वर्षदेखि २ हजार लिटर दूध संकलन गर्ने संस्थाको अन्तिम तयारी भएको अध्यक्ष पौडेलले बताइन् । संस्थाले हालैबाट उदयपुर र सप्तरी जिल्लाबाट दूध खरिद गर्न तयारी गरेको छ । संस्थाले आफ्ना सदस्यको व्यवसायिक फार्मलाई सुलभ कृषि ऋण, प्राविधिक सेवा तथा तालिम, बिमा, पशु आहारमा थप सहुलियत दिनुका साथै उत्पादनका आधारमा थप मूल्य दिन्छ ।
दूग्ध उत्पादन पशुपालनमा ९.७५ प्रतिशत कर्जा लगानी गर्ने गरेको छ । परियोजनाको ७५ प्रतिशतसम्म गोठ जग्गाबाहेकको ऋण लगानी हुन्छ । सदस्यहरुबाट उत्पादित सबै दूध र मकै संस्थाले गरिद गर्छ । संस्थाले गड्यौला र गोबरको माध्यमबाट जैविक मल उत्पादन र प्याकेजिङ गरी शहर बजारमा कौशी खेतीमा प्रवद्र्वन गर्ने योजना बनाएको छ ।
संस्थाका ४ हजार ३ सय ८१ जना सदस्य छन् । त्यसमध्ये ३ सय ५८ जना मात्रै पुरुष छन् भने ४ हजार २३ जना महिला हुन् । संस्थाको ८ करोड ९१ लाख ४७ हजार ३ सय सेयर पुँजी छ । संस्थाले ४६ करोड निक्षेप संकलन गरी २० करोड कर्जा लगानी गरेको छ । संस्थाका अध्यक्ष पौडेलले सुरुमा बचत तथा ऋणमा मात्रै फोकस भएपनि पछिल्ला केही वर्षयता कृषिको व्यवसायिकरणमा लगानी बढाउँदै गएको बताइन् । ‘ऐन नियमअनुसार मुख्य कारोबार पछ्याउन सकिएको छैन’ उनले भनिन्,‘हामी त्यस अनुरुप लगानी बढाउँदै छौं ।’ संस्थाले बचत तथा ऋणका साथै रेमिट्यान्सको काम पनि गर्छ । संस्थाले आफ्ना सदस्य मृत्यु भएमा मृत्यु राहत कोषबाट ३५ हजार रुपैयाँ दिन्छ ।
Leave a comment