बिन्धवासिनी साकोसको विज्ञप्ती, आरोपमा सत्यता छैन् 

बिन्धवासिनी साकोसको विज्ञप्ती, आरोपमा सत्यता छैन्  :: Sahakari Akhabar

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विज्ञप्ति जारी गर्दै संस्थाप्रति लगाइएको आरोप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाका सदस्य कपिल न्यौपानेले संस्थाले आफूलाई बर्बाद पारेको भन्दै अख्तियारमा निवेदन दिने समाचार प्रकाशन भएपछि संस्थाले विज्ञप्ति जारी गरी उक्त समाचारको खण्डन गरेको हो । संस्थाका अध्यक्ष प्रदीप थापाले न्यौपानेले अतिरञ्जित तरिकाले संस्था, पदाधिकारी र कर्मचारीको बदनाम गरी इज्जत प्रतिष्ठामा आँच पुग्ने गरी एकपक्षीय रुपमा प्रकाशित र प्रसारित उक्त समाचारमा कुनै सत्यता नभएको जनाएका छन् । 

न्यौपानेले कृषि व्यवासाय गर्नका लागि ५ लाख रुपैया ऋण माग गरेको र निजको व्यवसायिक परियोजना, आर्थिक अवस्था र वार्षिक आयश्रोतको आधारमा २०७४ मंसीर १२ मा ३ लाख रुपैया ऋण दिइएको तर उक्त ऋण दुरुपयोग गरी जग्गा सम्याउने र घर निर्माण गरी परियोजना सञ्चालन समेत नगरेको र समयमा साँवा ब्याज नतिरी पटक पटक ताकेता गर्दा ६७ हजार साँवा र २८ हजार ब्याज बुझाएको अध्यक्ष थापाले जनाए । हालसम्मको साँवा रकम र ब्याज गरी २ लाख ८३ हजार संस्थामा बुझाउन बाँकी रहेको र उक्त ऋणको अन्तिम भुक्तानी २०७९ मंसीर मसान्तसम्म रहेकाले संस्थाले कुनै लिलामी प्रक्रिया अगाडि नबढाएको अध्यक्ष थापाले विज्ञप्तिमा प्रष्ट पारेका छन् । निजले मौखिक रुपमा थप ऋण मागेको तर शर्त सम्झौता अनुसार ऋणको किस्ता तथा ब्याज नबुझाएको र तोकिएको परियोजना समेत सञ्चालन नगरी वित्तीय अनुशासन पालना नगरेको तथा धितो सुरक्षण समेत अपर्याप्त भएकाले निजको माग बमोजिम थप ऋण लगानी गर्न नसक्ने जानकारी न्यौपानेलाई गराइएको विज्ञप्तिमा उल्लेख छ ।

निजले ‘बिन्धबासिनीले आफूलाई बर्बाद पार्यो’ भन्दै सहकारीका नियामक निकाय, जिल्ला प्रशासन कार्यालय, हेल्लो सरकार, प्रहरी प्रशासन जस्ता निकायमा थप ऋण र आवश्यक क्षतिपूर्ति दिलाइपाऊँ भनि उजुरी गर्दै हिँडेकाले २०७६ चैत्रमा नै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुखको रोहबरमा नियमानुसार साँवा ब्याज बुझाउने र संस्थाप्रति भ्रम सिर्जना गर्ने कुनै पनि गतिविधि नगर्ने भनि कागज गराइ छोडेको तर पुनः भ्रमात्मक गतिविधिमा न्यौपाने लागेको प्रति संस्थाले खेद प्रकट गरेको छ ।

काभ्रे जिल्लाको सहकारी अभियानमा छुट्टै पहिचान बनाउन सफल समुदायमा आधारित ४७ हजार भन्दा बढि सेवाग्राही र सदस्य आवद्ध संस्थाप्रति न्यौपानेले लगाएको आरोप झूठो र कपोलकल्पित भएको संस्थाले जनाएको छ । तथ्यहीन र भ्रमात्मक कुराका पछाडि नलाग्न सदस्यहरुलाई संस्थाले आग्रह गरेको छ ।
 



Leave a comment