काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाम्फेले टेबुलमुनी काम गर्ने कर्मचारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएकी छन् ।
आज सोमबार मन्त्रालयमा कार्यभार ग्रहण गर्दै मन्त्री तुम्बाहाम्फेले गैरकानुनी काम नगर्न निर्देशन दिएकी हुन् । टेबुलमुनीबाट काम गर्न आनन्द मान्ने कर्मचारीलाई सचेत गराउँदै प्रशासन सुधार गर्न कर्मचारी प्रशासन र आफ्नो स्प्रिट मिल्नुपर्ने बताइन् ।
मालपोत र नापी कार्यालयका काममा व्यापक जनगुनासा आउने गरेको भन्दै गुनासा नआउनेगरी सेवा सम्पादन गर्न उनले जोड दिइन् । ‘मालपोत र नापीका सेवामा करेक्सन गर्न जरुरी छ’ उनले भनिन् सेवालाई व्यवस्थित गर्न ध्यान दिनुपर्ने बताइन् ।
मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारीको डाटा व्यवस्थित गर्दै सञ्चालनमा सुधार, ऋण परिचालनमा व्यवस्थित गर्न आवश्यक भएको बताए । उत्पादन र बजारीकरणमा सहकारीलाई लगाउनुपर्ने दायित्व भएपनि सहकारीको फोकस बचत तथा ऋणमै भएको उनको भनाइ छ ।
Leave a comment