भक्तपुर । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत भन्दा बढी योगदान रहेको बताएका छन् । डा.पाण्डेले कोभिड १९ को विषम परिस्थितिमा समेत सहकारी क्षेत्रमा तरलता बढेको बताए । उनले सहकारी क्षेत्रमा ६५ लाख भन्दा बढी सदस्य र १ लाख भन्दा बढीलाई रोजगारी दिएको बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ को १६औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बिच कतिपय विषयहरुमा मेल नभएकाले कार्यान्वयनमा ल्याउन व्यवहारिक समस्याको हलको लागि सहकारी ऐन नियममा संशोधन गर्नुपर्ने बताए । बचत तथा ऋण सहकारी अनुगमन निर्देशिकामा विषयगत संघ र ख, ग र घ बर्गको बैंक तथा वित्तीय संस्थामा रहेको संस्थाको निक्षेपलाई पनि तरलता गणना गर्ने गरी संशोधन भएको उनले जानकारी दिए ।
नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले भक्तपुर पर्यटकीय क्षेत्रमा मात्र नभई सहकारी क्षेत्रको रुपमा पनि परिचित रहेको बताए । भक्तपुर बचत संघले समुदायको सहकारी विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु संचालन गर्दै आएको र त्यसमा नेफ्स्कूनको साथ, समर्थन र सहयोग सदैव रहने कुरा बताउदै ब्राण्डको विषयलाई लिएर नेफ्स्कूनमा कुनै समस्या नरहेको बताए ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सन्दर्भ व्याजदर र सेवा शुल्क तोक्ने सहकारी विभागको कार्यले सदस्यले सदस्यलाई शोषण हुनबाट सचेत बनाएको बताए । एक व्यक्ति एक सहकारीको व्यवस्था व्यवहारिक नभएकोले संशोधन हुनुपर्ने विचार राख्दै सहकारीको आयकर ५ प्रतिशत हुँदा सहकारी संघ संस्थामा अग्रिम व्याज करकट्टी १५ प्रतिशत नै कायम रहनु न्याचित नभएको उनको भनाई थियो
Leave a comment