झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले संचालन गरेका बहुउद्धेश्यीय ब्यवसाय फस्टाउँदै गएका छन् । संस्थाद्धारा संचालित परियोजनाहरु सफल भइरहेको संस्थाले जनाएको छ ।
संस्थाको २८ औं बार्षिक साधारण सभाकालागि तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाका बहुउद्देश्यीय परियोजना सफल भएको बताएका छन् । उनले संस्थाले संचालन गरेको डेरीतर्फ गत आर्थिक वर्षमा ४० लाख ७५ हजार खुद मुनाफा गरेको बताए ।
संस्थाले आर्थिक वर्ष २०७६र०७७ मा डेरीबाट ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्ने लक्ष्य राखेको थियो । उनले अर्को व्यवसाय एकीकृत नमूना कृषि फर्म अन्तरगत उत्पादन भन्दा पनि अहिले पूर्वाधार निर्माणको चरण रहेकाले ७३ लाख रुपैयाँभन्दा बढी घाटामा रहेपनि गत आर्थिक वर्षमा परीक्षणस्वरुप तरकारीका विरुवा बिक्री, तरकारी उत्पादन, माछापालन, कस्टम हायरिङ आदिबाट साढे २३ लाख रुपैयाँ हाराहारी आम्दानी गरेको बताए ।
त्यसैगरी संस्थाले चौथो व्यवसायमा रुपमा विकास गर्दै आएको एनएमसी कोपसप लोकप्रिय बन्ने क्रममा रहेको बताउँदै संस्थाका अध्यक्ष उप्रेतीले चालू आर्थिक वर्षमा १५ वटा पसल स्थापना गरिसक्ने लक्ष्य रहेको बताए । संस्थाले आर्थिक वर्ष २०७६र०७७ को असार मसान्तमा नौ अर्ब ४२ करौड नौ लाख ३१ हजारको वासलात बनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ६९ करोड ४१ लाख ३० हजार २०० रुपैयाँको चुक्ता शेयर पूँजीलाई बृद्धि गरी ८८ करोड १९ लाख ३ हजार ७०० रुपैयाँ पुर्याएको छ । यसरी नै साधारण जगेडा तथा अन्य कोषमा ७२ करोड १५ लाख ७६ हजार ५०० रुपैयाँ पु्र्याएको छ । गत आर्थिक वर्षसम्म संस्थाले सात अर्ब ५१ करोड दुई लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
४२ करोड दुई लाख ४७ हजार मूल्यको स्थिर सम्पत्ती रहेको संस्थामा १६ हजार २६६ जना नयाँ सदस्य थप गरी ८५ हजार १३६ सदस्य संख्या पुर्याएको छ । संस्थाले चालू आवमा २० हजार २०० सदस्य विस्तार गरी १ लाख ५ हजार पुर्याउने लक्ष्य राखेको प्रतिवेदन सार्वजनिक गरेका छन । संस्थाले समीक्षा वर्ष १२ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । अध्यक्ष रामचन्द्र उप्रेतीले लकडाउनका बेला सदस्यहरुलाई सापटी स्वरुप ३६ लाख २२ हजार ५०० रुपैयाँ वितरण गरेको बताए ।
Leave a comment