बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकाका पहिरो पीडितका लागि जिल्ला सहकारी संघ बागलुङले ५ लाख १ हजार १ सय रुपैया आर्थिक सहयोग गरेको छ ।
संघका अध्यक्ष दिपक गौतमले संघको संयोजन तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा संकलित सहयोग रकमको चेक बुधवार ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छन् । जिल्ला सहकारी संघ लिमिटेड बागलुङले पहिरो पीडितहरुका लागि आर्थिक सहयोग गर्न जिल्लास्थित संघ संस्था लगायत देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको थियो ।
जिल्ला सहकारी संघले सञ्चालन गरेको अभियानमा बागलुङको आदर्श सञ्चार सहकारीले १ लाख ७५ हजार, जिल्ला कृषि संघले जिल्लाका कृषि सहकारी संस्थाहरुसंग संकलित ८० हजार ५ सय रुपैया, गलकोट सहकारी सञ्जालले ४२ हजार ५ सय, राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३० हजार सहयोग गरेको जिल्ला सहकारी संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिए । अन्य रकम जिल्ला सहकारी संघलगायत विभिन्न क्षेत्रमा सञ्चालित सहकारी संघ संस्थाहरु र सहकारीकर्मीहरुसंग संकलित गरेको सचिव थापाले बताए ।
सहकारी विशेषत सदस्य केन्द्रीत व्यवसाय हो, सदस्यहरुको हितमा काम गर्ने पहिलो प्राथमिकता हुदा हुदै पनि सहकारीको सातौ सिद्धान्त समुदायप्रतिको चासोलाई मध्यनजर गरेर सहयोग अभियान सञ्चालन गरिएको र सबैको सहयोगमा ५ लाख १ हजार १ सय रुपैंया पहिरो पीडितको राहत तथा उद्धारमा सहयोग गर्न सकिएको संघका अध्यक्ष दिपक गौतमले बताए ।
भदौ १७ गते आएको पाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ मा २२ जनाको मृत्यु भएको थियो भने १६ जना अझै वेपत्ता रहेका छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले जानकारी दिए । बाढीले ८० घर पूूर्ण रुपमा क्षति गराएको र ५१ घरमा आंशिक क्षति पुगेको छ भने ११ वटा लघु जलविद्युत आयोजना, एक स्वास्थ्य इकाई, ११ झोलुंगे पुल, ५ वटा ढलान पुल, १० वटा काठेपुल र दुई विद्यालय सहित ७१ वटा भौतिक संरचनामा क्षति पुगेको छ ।
Leave a comment