सहकारीको डिजिटल सेवा प्रयोगकर्तामा बृद्धि

सहकारीको डिजिटल सेवा प्रयोगकर्तामा बृद्धि :: Sahakari Akhabar

सहकारी संस्थामा विद्युतिय सेवाको आकर्षण बढेपनि सेवा संचालन गर्ने सहकारीहरुले नियामक निकायबाट स्विकृती लिनुपर्ने बताइएको छ । यसैगरी सहकारीलाई प्राविधिक सहयोग गर्ने कम्पनीहरुले समेत राष्ट्र बैंकबाट यस्तो कारोबार गर्ने अनुमति पाएका छैनन् ।  
 

काठमाडौं । पछिल्लो समय सहकारीका सदस्यहरुको प्रविधि प्रयोगमा आकर्षण बढेको छ । अधिकांश सहकारीहरुले प्रबिधि मार्फत सेवा दिनथाले पछि प्रयोग गर्ने सदस्यहरुको संख्या पनि बढ्न थालेको हो ।

कोभिड १९ (कोरोना) को संक्रमण बढ्नथालेपछि सरकारले ३ भदौ बुधबार राति १२ बजेदेखि लागु हुनेगरी उपत्यकामा निषेधाज्ञा जारी गरेपछि बैंक वित्तिय संस्थालगायतका सेवा ठप्पप्राय भएका छन । सहकारीहरुले पनि सरकारको निषेधाज्ञाको पालना गर्दै कार्यालयहरु बन्द गरेका हुन् ।

उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुरका जिल्ला सहकारी संघ र विषयगतगरी एक दर्जन संघहरुको संयुक्त बैठकले सहकारीको कार्यालय बन्द गरी प्रविधिमार्फत सदस्यलाई सेवादिन आग्रह गरेको थियो । त्यसैगरी राष्ट्रिय सहकारी महासंघले पनि सहकारीको कार्यालय बन्द गरेर प्रबिधिको प्रयोग गर्न र सम्पर्क ब्यक्ती तोकेर सेवा दिन निर्देशन दिएको छ । निषेधाज्ञाको समय थप भएर भदौ १७ गते सम्म पुर्याएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले २० बुँदे निषेधाज्ञा जारी गरी बैकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतिय माध्याम्बाट सेवा प्रवाह गर्न निर्देशन् दिएको भएपनि सहकारी संस्था बैकिङ सेवामा पर्छन वा पर्दैन, सहकारीले कार्यालय कसरी संचालन गर्ने अन्यौलमा छन् ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तिय संस्था अत्यावश्यक सेवामा पर्ने भन्दै सेवा नरोक्न निर्देशन दिए पनि प्रशासनको कडाइको कारण देखाएर बैक वित्तिय संस्थाले शाखा तथा एटिएम समेत बन्द गरेका थिए । सहकारीलाई वित्तिय संस्थाभित्र नराख्दा अलमलमा रहेका सहकारीले छाता संगठनको निर्देशनलाई पालना गर्दै संस्थाका कार्यालयहरु बन्द गरेका छन् । बैंक वित्तिय संस्था संगै सहकारीहरु पनि बन्द भएपछि आम सर्वसाधारणलाई भने मर्का परेको छ । अधिकांश सहकारीले सदस्यलाई प्रबिधिमा जोड्नाले अहिले सहकारीका सदस्य मात्र हैन, सहकारीले संचालन गरेको एटिएमबाट सर्वसाधारणले पनि सेवा लिइरहेका छन् ।

सितापाइलामा रहेको सीतापाइला बहुउद्धेश्यीय सहकारीले संचालन गरेको एटिएम अहिले सदस्यहरुले सहज अवस्था भन्दा ज्यादा प्रयोग गरिरहेको संस्थाका कार्यकारी अध्यक्ष केदार मानन्धरले बताए । उनले भने लकडाउन अघी मुस्किलले ३ सय जनाले डिजिटल सेवा लिएका थिए, लकडाउन भए यता डिजिटल सेवा प्रयोग गर्ने १३ सय जना पुगेका छन् ।

घरमै बसेर फण्ट ट्रान्सफर गर्न मिल्ने, मोबाइल, बत्ती पानीको बिल तिर्न मिल्ने, मिनी स्टेटमेण्ट लिन मिल्ने सेवा दिएकोले पनि प्रबिधि प्रयोग गर्ने सदस्यको संख्या बढेको बताए । निशुल्क एटिएम सेवा दिएको संस्थाले मोबाइल बैकिङ सेवाका कारण सहज भएको र सहकारीका सदस्य बाहेक अरुलेपनि संस्थाको एटिएम मेशिन प्रयोग गर्ने गरेको बताउँछन् । उनले एटिएम कार्ड लिने सदस्यले जहाँ जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न मिल्ने बताए ।

स्मार्ट बैकिङ्गमार्फत सदस्यहरुले आफ्नै मोबाईलबाट खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट चेक गर्न, खातामा रकमान्तर गर्न सजिलो भएको उनको भनाई छ । अहिले सहकारीले दिने सेवामा बैंकहरुबाट सहकारीमा र सहकारीबाट बैंकहरुमा रकमान्तर गर्ने, खानेपानी, बिजुली, ईन्टरनेट, टिभी, टेलिफोनको बिल भुक्तानी गर्ने, मोबाईल रिचार्ज, वालेटमा रकम जम्मा, क्यूआर कोडमार्फत भुक्तानी, कार्ड रहित एटिएमसेवालगायतका सेवा सहकारीहरुले दिन थालेका छन् ।

उपत्यकामा सीतापाइलामा रहेको सीतापाईला बहुउद्धेश्यीय सहकारी, बौद्धमा रहेको नेचुरल बचत तथा ऋण सहकारी, चाबहिलमा रहेको कुमारी सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी, ललितपुरमा रहेको पञ्चशिल बहुउद्धेश्यीय सहकारी तथा अपत्यका बाहिरका बनेपामा रहेको चण्डेश्वरी बचत ता ऋण सहकारी, बाग्लुङको सिवाइसी बचत तथा ऋण सहकारी, नवलपरासीको बिकु बचत तथा ऋण सहकारी, पोखराको रोयल बचत तथा ऋण सहकारी लगायत ४० वटा संस्थाले एटिएम संचालन गरिराखेका छन् भने ५२ वटा संस्थाले एटिएम सेवा दिएको र एटिएम सेवा लिनकैलागि ३ सय बढी संस्थाले निबेदन दिएको बताइएको छ ।

सहकारी विभागले गरिबी निवारण तथा सहकारी सूचना प्रणाली (कोपोमिस) संचालन ल्याएको छ । पछिल्लो पटक ब्यवस्थित गरेर कार्यान्वयनमा ल्याउनलागेको कोपोमिसमा सहकारी नियमावलीले बचत सहकारीलाई एक वर्षभित्र र अन्य सहकारीलाई तीन वर्षभित्रै सामेल गर्ने बताएको छ ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले प्रविधि प्रयोगमा सहकारी आकर्षित भएको बताए । ‘धेरै सहकारी म्यानुअलबाट अटोमेटिकमा जाँदैछन्’, उनले भने । खासगरी सहर केन्द्रीत सहकारी अटोमेटिक सिस्टममा सञ्चालन हुन थालेका छन् । सहकारी बैंकले एप बेस एटीएम सञ्चालन गर्ने तयारी गरिरहेको  र एप्लिकेसन टेक्नोलोजी सहकारीमार्फत बैंकले छुट्टै सुरु गर्ने र पेपरलेस बैंकिङ कारोबारमा समेत जोड दिएको जानकारी दिए ।

१६ वर्षदेखि सहकारीका लागि सफ्टवेयर बिक्री गर्दै आएको इन्फो डेभलपरका अनुसार ४० सहकारीले एटीएम सञ्चालन गरिसकेका छन् । एटीएमका लागि ३५ वटा सहकारी प्रक्रियामा छन् । बाँकी सहकारीले पनि छिट्टै एटीएम चलाउनकालागि प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

त्यसैगरी अक्सपान माइक्रोसफ्टका प्रबन्धक अच्युत सापकोटा सहकारीहरु प्रबिधिमैत्री बन्दै गएको बताउँछन् । विषेशत् बचत तथा ऋणको काम गर्ने सहकारीहरुले प्रविधिको माग बढी गरेको र उनीहरुले अनलाईन एप सेवाको माग गरेको बताउँछन् । धेरै सहकारीहरुबाट मोबाइल बैंकिङ सेवा माग आएको छ, लकडाउनमा सदस्यहरुले धेरै सेवा मोबाइल बैकिङमार्फत लिएकोले प्रयोग पनि बढेको छ । बजारमा सहकारीले सदस्यलाई डिजिटल्ली सेवा प्रवाह गरेपनि सहकारीले दिने सेवामाथि कानुनी प्रश्न उठेको छ ।

सहकारी संस्थाहरुले दिएको एटिएम तथा मोवाईल बैंकिङ सेवा गैरकानुनी भएको बताइएको छ । नियामक निकायसँग अनुमति नै नलिइ गरेको विद्युतिय कारोबारले सहकारीमा जोखिम बढाएको बताइएको छ । अहिलेसम्म एससीटी नेटवर्कसँग मिलेर सहकारीले एटिएम कारोबार गर्दै आएका छन् । यसैगरी फोन पे, ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकसँग सहकार्य गर्दै करिब २ हजार सहकारीहरुले मोवाईल बैंकिङ, वालेट जस्ता विद्युतिय कारोबार सेवा उपलव्ध गराउदै आएका छन् ।

सहकारी संस्थामा विद्युतिय सेवाको आकर्षण बढेपनि सेवा संचालन गर्ने सहकारीहरुले नियामक निकायबाट स्विकृती लिनुपर्ने बताइएको छ । यसैगरी सहकारीलाई प्राविधिक सहयोग गर्ने कम्पनीहरुले समेत राष्ट्र बैंकबाट यस्तो कारोबार गर्ने अनुमति पाएका छैनन् । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा जोड्न राष्ट्र बैंक तयार भएपनि कानुनी र प्राविधिक समस्या भएको बताउँछन् । कानुन संशोधन गरेर सहकारीलाई उक्त प्रणालीमा जोड्न सकिनेमा राष्ट्र बैंक सकारात्मक भएको उनको भनाइ छ ।



Leave a comment