काठमाडौं । मनकामना बचत तथा ऋण सहकारी संस्था शनिश्चरे पथरी मोरङ र महिला बचत तथा ऋण सहकारी संस्था इटहरी सुनसरीबीच एकीकरण बिवादित बनेको छ । एक्सेस सिल्भर ब्राण्ड प्राप्त सहकारी संस्थाले साधारणसभाबाट निर्णय नगरी हतारमा एकीकरण गर्न खोज्दा सदस्यले बिरोध जनाएका हुन् । कार्यक्षेत्र नै अलग भएको अवस्थामा मनकामनाले आफ्ना सदस्यहरुलाई थाहै नदिई अर्को संस्थासंग मर्ज गर्न खोजेको भन्दै सदस्यहरुले व्यापक असन्तुष्टी जनाएपछि एकीकरण प्रक्रिया अवरुद्व भएको छ ।
दुई संस्थाबीच असार २१ गते एकीकरण सम्बन्धी स्थानीय पत्रिकामा सूचना प्रकाशित भएसँगै अधिकांश सदस्यहरुले एकीकरणको विरोध गरेका छन् । मनकामनाले विज्ञप्ति जारी गरी सदस्यको विरोध आएको भन्दै तत्काल एकीकरण प्रक्रिया रोकेको छ । असार २७ गते संस्थाको कार्यसमितिको बैठकले अधिकांश शेयर सदस्यले साधारणसभाबाट मात्रै एकीकरणको निर्णय गर्न सुझाव दिएको भन्दै एकीकरणको प्रक्रिया रोकेको छ ।
साधारणसभाले एकीकरण गर्न म्यान्डेट दिएमात्रै एकीकरण प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अधिकांश सदस्यहरुले सञ्चालक समितिले आफूखुसी एकीकरणको निर्णय गरेको भन्दै रुष्ट भएका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै विरोध जनाएका हुन् । एकीकरण प्रक्रिया रोकिएको भने उनीहरुले खुसी व्यक्त गरेका छन् ।
दिनेश टेकेन्द्र पौडेलले सञ्चालक समितिले साधारण सभाबाट मात्रै निर्णय गराएर एकीकरण गर्नुपर्ने लेखेका छन् । ‘के गरिँदैछ भन्ने कुरो सम्पूर्ण सेयर सदस्यले राम्रोसँग बुझेको हुनुपर्छ,’ उनी लेख्छन्,‘कोरा कागजमा हस्ताक्षर लिएर हामीले म्यान्डेट पाइसक्यौँ भनेर हुन्न सदस्यलाई राम्रोसँग बुझाउनुपर्छ ।’
घनश्याम ढकालले कार्यबिधी मिचेर संस्था एकीकरण गर्न खोजिएको लेखेका छन् । ‘मनकामनाको कार्य क्षेत्र मोरङ जिल्ला मात्र हो’उनी लेख्छन्,‘ तसर्थ सुनसरीको सहकारीसँग मर्ज हुने कुरा बैधानिक थिएन ।’ मर्जको नीति सरकारकै भएपनि कार्यक्षेत्र एउटै भएका संस्थालाई मर्जरमा लैजान ठोस कदम चाल्नुपर्ने उनले लेखेका छन् ।
‘चर्चामै रहेको महिला साकोससँग मर्ज गर्ने भए केही निश्चित मापदण्डका आधारमा आरक्षणको ब्यबस्था गरिनु पर्छ’ उनले लेखेका छन् । रबि ढकालले सञ्चालकको मनोपोलीप्रति व्यंग्य गर्दै हावाको तालमा मर्जर भनेर नहुने लेख्छन्,‘ हावाको तालमा मर्ज हुने भनेर हुन्छ सेयर सदस्य चाहि के जन्ति जान मात्र राखेका हुन् र ?’ सामाजिक संजाल मार्फत अधिकांशले दुई संस्था बिचको एकिकरणको विरोध गरेका छन् ।
Leave a comment