कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख ११ हजार सहयोग

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख ११ हजार सहयोग :: Sahakari Akhabar

ललितपुर । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंकले ११ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ ।

बैंकका सञ्चालक तथा लेखा समितिको वैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलव सहित समावेश गरी सरकारले सञ्चालन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उक्त रकम सहयोग गरको बैंकले जनाएको छ ।

कोरोना नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री, पीपीई, स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्क सामग्री र स्वास्थ्य व्यवस्थापका लागि सहयोग गर्न बैंकले देशभरका सहकारी संघ संस्थाहरुलाई समेत अपिल गरेको छ ।

बैंकका देशभर रहेका ४४ वटा शाखामार्फत रकम जम्मा गर्न अपिल गर्दै बैंकले उक्त रकम नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने जनाएको छ ।

सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सोमबार कोरोना संक्रमण विरुद्ध सहकारी बैंकको प्रयास, संकटको समयमा सहकारी बैंकको सेवा र बैंकका तर्फबाट देशभरका सहकारी संघ संस्था तथा आम जन समुदायमा सचेतनाका लागि अनुरोध गरेका छन् ।

कोरोना संक्रमण विरुद्ध बैंकले प्रदेश स्तरमा सहकारी संघ संस्थाहरु मार्फत क्वारेन्टाइन बनाउने कार्यक्रममा सहकार्य गर्ने, सहकारी बैंकका सदस्यहरुलाई कोरोना प्रभावका कारण तरलता अभाव भएमा तरलता व्यवस्थापनका लागि अल्पकालिन ऋण (कोरोना तरलता) को व्यवस्था गर्ने, सदस्य सहकारीहरुलाई आवश्यक पर्ने नगदको आवश्यक व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

बैंकले प्रदान गर्दै आएका सेवाहरु मध्ये सन्ध्याकालिन काउन्टर अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको, कार्यालयमा काम गर्ने कर्मचारीको सुरक्षाको व्यवस्थाका साथै आलोपालो काम गर्ने व्यवस्था गरिएको गुरागाईले बताए ।



Leave a comment