हाइलाइट

साथ र काख आगोले खायो, सम्पत्ती बैंकले

सहकारी बन्यो भगवान

साथ र काख आगोले खायो, सम्पत्ती बैंकले :: Sahakari Akhabar

मायाको खाडल पुरिने सम्भावना छैन भन्ने लागेरनै होला विदान र उसकी दिदी मानिसको भिडमा आफ्ना भावना पोख्दैनन् । राम्ररी आमा बुबाको मायाको महत्व बुझ्न नपाउदै उनीहरुको संसार उजाड्ने दैव, थाहा छैन हुन्छकी हुदैन

खिलानाथ दाहाल

दक्षिणकाली नगरपालिका टुल्कु डुडेचौरका एघार वर्षे विदान तामाङलाई नयाँ मान्छेहरुको समुह देख्यो भने दिक्क लाग्छ, उनीहरुसंग खुलेर  कुरा गर्न पनि मन लाग्दैन । आमा बुबाको कुरा गर्यो भने आँखा भरी आँशु पारेर एकहोरो हेरीमात्र रहन्छन् । पिलपिल रुन्छन मात्र मनको बह कसैलाई पोख्दैनन् । पोख्छन् त उनी भन्दा तीन वर्ष मात्र जेठी दिदी आकांक्ष संग ।

नयाँ मानिसहरुका माझ जान र बोल्न नरुचाउने विदानलाई आफू प्रदर्शति सामाग्री जस्तो लाग्छ । उनका पिडामा लोलोपोतो घस्ने काम मात्र भएको जस्तो लाग्छ उनलाई । उनको सम्वेदना अरुकोलागि रमिता भएको झै लाग्छ । उनी त्यो भिडबाट परै बस्न चाहन्छन् केवल आमा बुवालाई सम्झेर । त्यो भिडमा आमा बुवाको माया ममता खोजिरहन्छन् अनि खोज्छन् उनीहरुको समउपस्थिति, तर त्यो अव कल्पना मात्र भएको छ ।

एक वर्ष अघीको दुखद घटनाले कलिलो अनुहारको सवै खुसी खोसेको थियो । निष्ठुरी आगोले चटक्कै चुडाएको उनीहरुको ममताको खानी अव पुरै रित्तियको छ । त्यो मायाको खाडल पुरिने सम्भावना छैन भन्ने लागेरनै होला विदान र उसकी दिदी मानिसको भिडमा आफ्ना भावना पोख्दैनन् । राम्ररी आमा बुबाको मायाको महत्व बुझ्न नपाउदै उनीहरुको संसार उजाड्ने दैव, थाहा छैन हुन्छकी हुदैन । तर आमा बुबा चाही पक्कै हुन्छन् भन्ने थाहा भएर होला सवैको अनुहारमा आमा बुबाको न्यानोपनको आशा गरिरहेका छन् तामाङ दिदी भाई ।

लक्ष्मी तामाङ र उनका श्रीमानको २०७५ साल पुष ४ गते आफ्नै घरमा आगोलागी हुँदा काखका छोराछोरी (विदान र आकांक्ष) टुहुरो भएका हुन् । आमा बुबाको निधन पछि दुवै जना सौतेनी आमाका छोरा बुहारीसंग बस्दै आएका छन् । बुबाले कुखुरा ब्यवसाय गर्न जग्गा बाणिज्य बैंकमा धितो राखेका थिए । तीनै कुखुराको स्याहार गर्न बालेको आगोले राती लक्ष्मी र उनका श्रीमानको ज्यान लियो । बुबा आमाको निधन पछि बैंकको ऋण बाँकी भयो र बैकले जग्गा लिलामीमा निकालेको छ । ‘केही दिनमा जग्गा बैंकले लिने छ, उकास्ने कस्ले बैंकको ऋण तिरिदिने कस्ले, हामीले त पहिलानै अंशवण्डा गरिसकेका थियौं, उनीहरु बुबासंग बसेकाले यो उसैको भाग हो’ विदानका सौतेनी दाजुले भने ।

सहकारी पनि अन्य संस्था जस्तै होलान भनेको हैन रहेछ, सहकारीको सहयोगले विदान र आकांक्षाको जिवनमा ठूलो सहयोग भएको छ । अरु संस्थाले ऋण छुट, मिनाह गरेको छैन जसरी पनि लिन्छ तर सहकारीले ऋण मिनाह गरेर पनि विमा बापतको सम्पूर्ण रकम दिएको छ हामीलाई त भगवान आए जस्तो लाग्यो

कक्षा ५ मा पढ्ने विदान र ९ कक्षमा पढ्दै गरेकी उनकी दिदी आकांक्षा अक्क न बक्क भए, केही बोल्न सकेका छैनन् उनीहरुले आफ्नो भविश्यको बारेमा के सोचेका छन् त्यो पनि बताएनन् । उनीहरुकी आमा लक्ष्मी तामाङ छोरा छोरीको भविश्यकालागि जोहो गर्न केही वित्तिय संस्था तथा सहकारीमा सदस्य भएकी थिइन् । वित्तिय संस्थाले समूहमा राखेर बचत गराय अनि ऋण पनि दिए तर उनको निधन पछि कसैले समूहबाट ऋण असुले त कतिले उनको बचत र विमाको रकम कटाएर केही रकम बच्चालाई दिए ।

त्यस्तै उनी सदस्य भएका मध्येको रोयल बहुउद्देश्यीय सहकारीसंग पनि उनले बचत तथा ऋणको कारोबार गरेकी थिइन तर ऋणको किस्ता पुरा तिर्न नपाउँदै उनले धर्ती छाड्नुपर्यो । सहकारीले उनले लिएको एक लाख ऋण मिनाह गरिदियो र उनका छोरा छोरीलाई दुई लाख विमा बापतको रकम पनि संस्थामै बचत गरिदिएको छ । सदस्यको मृत्यु भएकाले परिवारले ऋण तिर्न नपर्ने गरि सावाँ ब्याजनै मिनाह गरीदिएको हो । ऋणी सदस्यको परिवारलाई विमा बापतको दुई लाख रुपैंया पनि बाल बचतमा संस्थामा बचत गरिदिएको संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले बताए ।

फागुन ११ गते संस्थाको लघुवित्त कार्यक्रमको सेवाकेन्द्र रोयल हिट्टिटोल महिला विकास केन्द्रका सदस्यहरुको भेलामा संस्थाका प्रवन्ध संचालक काफ्लेले सदस्य लक्ष्मी तामाङले संस्थालाई तिर्नुपर्ने साँवा  तथा ब्याज मिनाह गरी विमा बापत पाएको रकम संस्थामै बच्चाहरको नाममा राखिदिने निर्णय भएको घोषणा गरे । उनले भने ‘सदस्य तामाङले संस्थालाई तिर्नु पर्ने सावाँ ८० हजार २ सय ८६ रुपैंया र ब्याज ११ हजार ९ सय २३ रुपैंया दुवै मिनाह गर्ने तथा विमा बापत पाएको २ लाख पनि बच्चाहरुको नाममा संस्थामा बचत गरिदिने निणय भएको छ ।’ 

उनले सदस्यका बच्चा नाबालिक भए पछि रकम झिक्न पाउने र बचतमा पाएको ब्याजले पढाइमा सहयोग पुग्ने बताए । अरु वित्तिय संस्थाले सदस्यको मृत्यु भएमा पनि ऋण असुल्ने भए पनि सहकारीले मानवताको ब्यबहार गर्नु पर्ने हुन्छ । संस्थाले ऋण मिनाह गरी विमा रकममा पनि कुनै रकम कट्टा नगरी बच्चाको भविश्यकालागि बचत गरिदिएको बताए ।

रोयल हिट्टिटोल महिला विकास केन्द्रकी संयोजक रमिला तामाङले सहकारीले गरेको योगदानको प्रसंसा गर्दै नसोचेको सहयोग पाएकोमा खुसी ब्यक्त गरिन । उनले भनिन् ‘सहकारी पनि अन्य संस्था जस्तै होलान भनेको हैन रहेछ, सहकारीको सहयोगले विदान र आकांक्षाको जिवनमा ठूलो सहयोग भएको छ । अरु संस्थाले ऋण छुट, मिनाह गरेको छैन जसरी पनि लिन्छ तर सहकारीले ऋण मिनाह गरेर पनि विमा बापतको सम्पूर्ण रकम दिएको छ हामीलाई त भगवान आए जस्तो लाग्यो ।’

आकांक्षा स्थानीय अरुणोदय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययन गरिरहेकी छन् भने विदान डल्फिन म्याजिक स्कूलमा कक्षा ५ मा अध्यायन गर्छन् । उनीहरुलाई सहकारीको सहयोग रहे पनि बैंकले भविश्य अन्धकार बनाउन लागेकोमा दुख लागेको आकांक्षाले बताइन् । 



Leave a comment