सहकारीको असल अभ्यास देखाउन अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन

सहकारीको असल अभ्यास देखाउन अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको तयारी पुरा भएको जनाएको छ । असार ६ र ७ गते दुईदिन ललितपुरको हेरिटेज गार्डेनमा गर्ने सम्मेलनको तयारी पुरा भएको महासंघले जनाएको हो । ‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनमा देशमा भएका महिला सहकारी र सदस्यले गरेको कामलाई विश्वसामु पुर्याउन सम्मेलन आयोजना गरिएको महासंघका कावा अध्यक्ष रमेश पोखरेलले जनाए ।

महासंघले आज सम्मेलनका विषयमा पत्रकार सम्मेलन गरी महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, तथा सहकारी क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्नलागेको जनाइएको छ ।

नेपालमा ग्रामीण क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाहरू प्रत्यक्ष कृषि कार्यमा संलग्न छन् । नेपालमा सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थाहरुमा करिब ५६ प्रतिशत महिलाको सक्रिय सहभागिता रहेको जनाइएको छ ।

विशेषगरी कृषि सहकारीमा महिलाको नेतृत्व र योगदान उल्लेखनीय रहेको र नियमित बचत, अनुशासित वित्तीय व्यवस्थापन तथा ऋणको उत्पादनमुखी उपयोगमा उनीहरुको भूमिका उदाहरणीय रहेको कावा अध्यक्ष पोखरेलको भनाइ छ ।

यसैगरी कृषि, पशुपालन, साना तथा घरेलु उद्योग, हस्तकला तथा खुद्रा व्यापार जस्ता क्षेत्रमा महिलाहरुले सहकारीमार्फत लगानी तथा उद्यम सञ्चालन गरी ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । ग्रामीण अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेको सहकारी क्षेत्रले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याएकोले सम्मेलनले झनै सार्थकता पाउने कावा अध्यक्ष पोखरेलले बताए ।

सम्मेलनले महिला किसान तथा सहकारीकर्मीको योगदानलाई उजागर गर्ने, लैंगिक उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ पार्ने, महिला नेतृत्व विकास र संस्थागत सहभागिता वृद्धि गर्ने, तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको आदान–प्रदान गर्ने मुख्य उद्देश्य लिएको उनको भनाइ छ । यसैगरी, उद्यमशीलता, रोजगारी, बजार पहुँच विस्तार, नीति संवाद र वकालतलाई प्रोत्साहन गर्ने, तथा अन्तर्राष्ट्रिय सहकार्य र नेटवर्किङ विस्तार गर्ने पनि सम्मेलनको लक्ष्य रहेको जनाएका छन् ।

सम्मेलनका क्रममा नीति संवाद तथा कार्यपत्र प्रस्तुति, महिला सहकारीबाट उत्पादित वस्तुको प्रदर्शनी, उत्कृष्ट महिला सहकारी उद्यमीहरुलाई सम्मान, सहकारी अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विश्व सम्पदा अवलोकन, र ऐच्छिक हिमाली दृश्यावलोकन लगायतका विशेष कार्यक्रमहरु समेत आयोजना गरिने जनाइएको छ । यी कार्यक्रमहरुले सहकारी क्षेत्रका महिलाको सिप, उत्पादन, र नेतृत्व क्षमतालाई व्यापक रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

महासंघले भूमि व्यवस्थापन, सहकारी तथा संघीय मामिला मन्त्रालयसंग सहकार्य गरेर आयोजना गर्ने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, साना किसान विकास लघुवित्त संस्था, आईएलओ नेपाल कन्ट्री अफिस र हेफर इन्टरनेशन सह–आयोजक रहेका छन् । यस्तै विषयगत केन्द्रीय, प्रदेश र जिल्लास्तरीय सहकारी संघहरुको समेत सहयोग रहने कार्यक्रममा विभिन्न प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहने जनाइएको छ ।



Leave a comment