हाइलाइट

कसरी भएको थियो, सहकारी बैंकको विज्ञ र संचालक पदको भागवण्डा

कसरी भएको थियो, सहकारी बैंकको विज्ञ र संचालक पदको भागवण्डा :: Sahakari Akhabar

काठमाडौं । पछिल्लो समय सहकारी, राजनीतिक दलको चपेटामा च्यापिएको एउटा बलियो उदाहरण हो सहकारी बैंकको निर्वाचन । सहकारी बैंकको संचालक पद तीनदलले भागवण्डा लगाएपछि सहकारीमा चरम राजनीतिक हस्तक्षेप रहेको पुष्टि भएको छ । स्वतन्त्ररुपमा रहने विज्ञ संचालक पनि दुईदल नेपाली कांग्रेस तथा नेकपा एमालेले एकएक सदस्य हुनेगरी भागवण्डा लगाएका छन् ।

बैंकको संचालक पद तीन राजनीतिक दलले भागवण्डा गरेपनि विज्ञ संचालकको हकमा त्यसो नहुनुपर्ने जानकारहरु बताउँछन् । बैंकको विनियममा प्रदेशगत रुपमा चयनभएर आएका सात प्रदेशका सातजना संचालक मध्येबाट अध्यक्ष चयन गर्ने ब्यवस्था छ भने संचालक समितिले स्वतन्त्र रहेका तर विषय विज्ञ दुईजनालाई विज्ञ सदस्यका रुपमा चयन गर्ने ब्यवस्था छ ।

तर बैंकको निर्वाचन अगावै तीनदल, नेपाली कांग्रेस, नेकपा तथा नेकपा एमालेले संचालक, लेखा समिति तथा विज्ञ सदस्य भागवण्डा गरिसकेको पाइएको छ । तीनदलको दलिय भागवण्डा अनुसार नेकपा एमालेलाई बागमती, कोशी र गण्डकी प्रदेश संचालकका साथै लेखा समितिमा दुई सदस्य र एकजना विज्ञ सदस्य भाग लगाएको पाइएको छ ।

त्यसैगरी नेपाली कांग्रेसलाई मधेश र सुदूरपश्चिम प्रदेश संचालक, लेखा समिति संयोजक र एकजना विज्ञ सदस्य भागवण्डामा पारेको पाइएको छ । नेपाली कम्युनिष्ट पार्टीलाई भने लुम्बिनी र कर्णाली प्रदेशको संचालक मात्र भागमा पारेको पाइएको छ।

बैंकको सम्पन्न निर्वाचन अनुसार बागमती प्रदेश संचालकमा परितोष पौड्याल, कोशी प्रदेश संचालकमा लक्ष्मीप्रसाद उप्रेती र गण्डकी प्रदेशबाट कमलादेवी गिरि संचालक बनेका छन् । त्यसैगरी मधेश प्रदेशबाट मन्दिरा आचार्य र सुदूर पश्चिमबाट मनमोहन विष्ट संचालक बनेका छन् । लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल र कर्णाली प्रदेशबाट कालीबहादुर महतारा संचालक भएका छन् ।

त्यस्तै कांग्रेसले पाएको लेखा समितिको संयोजकमा तारा गुरुङ र लेखा समिति सदस्यमा नेकपा एमालेले ममता शाह तथा युवराज पोखरेल निर्वाचित गराएको छ । समितिले जेठ १३ गते सपथ ग्रहण तथा पदबहाली गरेको थियो ।

छवटा प्रदेश संचालक तथा लेखा समितिमा दलले सर्वसम्मत गरेपनि बागमती प्रदेश संचालकमा सर्वसम्मत हुननसक्दा नेकपा एमालेका अनुशासन आयोगका सदस्य तथा राष्ट्रिय सहकारी मशासंघका संचालक समेत रहेका परितोष पौड्याल र यसै पार्टीका पूर्व सहकारी विभागका सदस्य तथा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रहेका रामशरण शर्मा घिमिरे बिच प्रतिष्पर्धा भएको थियो ।

पौड्याल तीनदलका तर्फबाट उमेदवार रहेका थिए भने घिमिरे सहकारीकर्मीका तर्फबाट उमेदवार रहेका थिए । अध्यक्षको दावेदारी सहित दलले उठाएका पौडयालले संचालक पदमा थोरै अन्तरले जितेका थिए । पछि अध्यक्षको दावेदारीमा भने पराजित भएका थिए ।

तीनदलको साथ पाउने र दलको सहमती र पार्टीले आफूलाइ आधिकारिक रुपमा अध्यक्ष दिएको दावी गरेपनि सोही पार्टी निकट कोशी प्रदेशबाट संचालक चयन भएका लक्ष्मीप्रसाद उप्रतीलाई अन्य संचालकले साथ दिँदा पौड्याल पराजित हुनपुगेका थिए ।

तीनदलले आधिकारिक उमेदवार बनाएर उठाएको ब्यक्ति अध्यक्ष पदकोलागि अयोग्य सावित भएपछि नैतिकताको हिसावले संचालकबाट राजिनामा दिनुपर्ने सहकारीकर्मीको भनाइ छ । नैतिकताका आधारमा दलले नै उनको राजीनामा माग्नुपर्ने सहकारीकर्मीहरु बताउँछन् ।

यसरी भएको थियो पद भागवण्डाको सहमती

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सहकारी बैंकले बार्षिक साधारण सभा मंसिर ६ गते सम्पन्न गरेको थियो । विनियम संसोधन गर्नुपर्ने भएकोले निर्वाचन पछि गर्नेगरी साधारण सभा सम्पन्न गरेको हो । बैंकले पटक पटक निर्वाचन मिति सारेर अन्तत जेठ ९ गतेका लागि तालिका सार्वजनिक गरेको थियो । बैंकको निर्वाचन मिति तय भएपछि तीनदलका प्रतिनिधिले बैशाख २७ गते काठमाडौंमा दल निकट सहकारीकर्मीलाई राखेर बैठक बसेको थियो।

बैठकमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.गीता सत्याल र बैंककी तत्कालिन लेखा समिति सदस्य तारा गुरुङ, नेकपा एमालेका केन्द्रीय सदस्य डा. खेम लोहनी र सहकारी महासंघका संचालक डा. परितोष पौड्याल तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य लिलामणि पोख्रेल र बैंककी संचालक पार्वती थापाले संचालक तथा विज्ञ सदस्यको पद भागवण्डाको सहमती गरेका थिए ।

सहमतीमा प्रदेश संचालक, लेखा समिति तथा विज्ञ सदस्यको पद दलगतरुपमा भावण्डा गरेको थिए । बैठकले साझा उमेदवारी, उमेदवारलाई जिताउन सहकारीकर्मीसंग अपिल र साझा संयन्त्र बनाउनेसम्मको सहमती गरेको पाइएको छ ।

सहमतिमा नेपाली कांग्रेसका तर्फबाट चन्द्र ढकाल र माधव दुलाल, नेकपा एमालेबाट रमेश पोख्रेल र इन्दिरा पन्त तथा नेकपाबाट पार्वती थापा र इश्वरी पाण्डेलाई जिम्मा लगाउने सहमती गरेको थियो । त्यसैगरी सोही सहमती बमोजिम तीनदलले प्रदेश संचालक तथा लेखा समितिको अन्तिम नामावली प्रकाशनका लागि जेठ १ गते बैठक बसेको पाइएको छ ।

बैठकमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.गीता सत्याल, नेकपा एमालेका केन्द्रीय सदस्य डा. खेम लोहनी तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य लिलामणि पोख्रेल र राष्ट्रिय सहकारी महासंघका कावा अध्यक्ष रमेशप्रसाद पोख्रेल, संचालक डा.परितोष पौड्याल तथा बैंककी पूर्व संचालक पार्वती थापाको उपस्थितिमा अन्तिम नामावली प्रकाशन गर्ने निर्णय गरेको पाइएको छ।

तीनदलका तर्फबाट उमेदवार बनाइएका पौडेललाई निर्वाचित गराउन साझा सहयोग संयन्त्र गठन गर्नेदेखि आन्तरिक सर्कुलर गर्नेसम्मको निर्णय गरेको पाइएको छ । त्यही अनुरुप नेकपा एमालेले डा.पौड्याललाई जिताउन पार्टीको लेटरहेडमा सर्कुलर गर्ने, जिल्ला जिल्लामा सहकारी महासंघका अध्इक्ष तथा केही संचालक र नेफ्स्कूनका अध्यक्षलगायत संचालकहरुको सहभागितामा भेला कार्यक्रम गरेपनि अन्य दलले सहमती गरेपनि सर्कुलर भने गरेको थिएन ।

नेकपा एमालेको उक्त सर्कुलरको सहकारी विभाग तथा मन्त्रालयका साथै सहकारीकर्मीहरुले बिरोध गरेका थिए । सोही बिवादका कारण पार्टीका उमेदवार पौडयाललाई अध्यक्षका लागि संचालकहरुले साथ नदिएपछि लक्ष्मीप्रसाद उप्रेतीको पक्षमा ५ र पौडयालको पक्षमा मात्र २ मत परेकोले उप्रेती अध्यक्ष भएका छन् ।



Leave a comment