हाइलाइट

एनसिआरएको विज्ञ सदस्यमा सहकारीका कर्मचारीदेखि पूर्व विज्ञ सम्मको आवेदन

एनसिआरएको विज्ञ सदस्यमा सहकारीका कर्मचारीदेखि पूर्व विज्ञ सम्मको आवेदन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसिआरए) को विज्ञ सदस्य पदमा सहकारीका कर्मचारीदेखि पूर्व विज्ञ सम्मको आवेदन परेको छ । पछिल्लो समय प्राधिकरणको विज्ञ सदस्यकालागि ७ जनाको दरखास्त स्वीकृत भएको हो ।

दरखास्त दिनेमा निवर्तमान विज्ञ सदस्य डा.रमेशप्रसाद चौलागाईंसहित श्रीकृष्ण अर्याल, डा.रुपा जोशी, नारायण पराजुली, उमेश खड्का, सुर्यप्रसाद रिमाल र अच्युतम थापाको दरखास्त स्वीकृत भएको प्राधिकरणले जनाएको छ । डा.चौलागाई प्राधिकरणका निवर्तमान विज्ञ सदस्य हुन, सुर्यप्रसाद रिमाल सहकारी बैंकका पूर्व कर्मचारी हुन भने अच्युतम थापा राष्ट्रिय सहकारी महासंघका प्रशासनिक अधिकृत हुन् ।

सहकारी ऐन २०७४ तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड २०८३  छनौट समितिले जेठ ११ गते ३ जनाको दरखास्त स्वीकृत गरेको थियो । विज्ञ सदस्यका लागि ९ जनाको आवेदन परे पनि ६ जनाको योग्यता नपुगेका कारण निवदेन अस्विकृत भएको थियो । मापदण्ड अनुसार संख्या अपुग भएपछि भोलिपल्ट सातदिनको म्याददिई पुनः दरखास्त आह्वान गरिएको थियो ।

दोस्रो पटक दरखास्त माग भएपछि प्राप्त निवदेन उपर छानवीन गर्दा थप ४ जनाको स्वीकृत भएको प्राधिकरणले जनाएको छ । दोस्रो पटकमा आवेदन स्वीकृत भएकाहरुमा नारायण पराजुली, उमेश खड्का, सुर्य प्रसाद रिमाल र अच्युतम थापा रहेका छन् ।

दरखास्त छनौट भएका ७ जनाको व्यावसायिक कार्ययोजना उपर विज्ञहरुद्वारा परीक्षण गराइने र असार ६ गते प्रस्तुतीकरण कार्यक्रम राखिएको छ । त्यसको भोलिपल्ट अन्तर्वार्ता गरिने प्राधिकरणले प्रकाशित गरेको कार्यतालिकामा उल्लेख छ ।

छनौट समितिले आवश्यकता अनुसार कार्यतालिका हेरफेर गर्न सक्ने जनाएको छ । विज्ञ सदस्यका लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानुन वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय वा राष्ट्रिय स्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रही कम्तीमा १० वर्ष कार्य गरेको अनुभव माग गरिएको छ ।

उल्लेखित योग्यता पुगेका र ६० वर्ष उमेर पुरा नभएकाहरूले उक्त पदका लागि दरखास्त दिन सक्ने व्यवस्था छनौट मापदण्डमा उल्लेख गरिएको छ । प्राधिकरणको अध्यक्ष पदका लागि भने ५ जनाको दरखास्त स्वीकृत भएको थियो भने ३ जनाको दरखास्त अस्विकृत भएको थियो ।



Leave a comment