हाइलाइट

सहकारीले कृषिमा अनिवार्य १३ प्रतिशत लगानी गर्नु पर्ने

सहकारीले  कृषिमा अनिवार्य १३ प्रतिशत लगानी गर्नु पर्ने :: Sahakari Akhabar

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीको कुल लगानीको १३ प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नु पर्ने बताएकी छन् । उनले सहकारीमार्फत कृषिको आधुनिकीकरण र व्यवसायिकतामा ध्यान दिनु पर्छ भन्दै कृषिको औद्योगिकिकरणमा सहकारी, यान्त्रिकिकरणमा सहकारी भन्ने खालका कानुन निर्माण गरेर जानुपर्छ भन्ने कुरामा मन्त्रालय स्पष्ट रहेको बताइन ।

सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारी संग सहकारी नियमन तथा प्रवद्र्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले वार्षिक १७ हजार मानिसलाई रोजगारी सिर्जना गर्नेगरी सहकारीलाई अगाडी बढाउने योजनामा रहेको बताइन् । उनले भनिन् सहकारीको ‘कुल लगानीको १३ प्रतिशत लगानी कृषिमा लगानी गर्नुपर्छ भनेका छौ ।’ सामाजिक रुपान्तरण सहित आर्थिक विकास गरेर कसरी जाने भनेर मन्त्रालयले एउटा डकुमेन्ट तयार गर्दै गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

 कृषि सहकारी मार्फत उत्पादन गरेर त्यसको प्रवर्द्धन गर्ने कुरा मौलिक पक्ष भएको बताउदै मन्त्री अर्यालले उत्पादनमा किसानहरुको आकर्षण सकारात्मक पक्ष भएको बताइन् । कृषि सहकारीका माध्यमबाट किसानहरुले जुन व्यवसायिकताको शुरुआत गर्नुभएको छ, त्यसका निम्ती बजारको ग्यारेन्टी गर्नुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भनिन् ’यसमा स्थानीय, प्रदेश तथा केन्द्र सरकारले बजारको ग्यारेन्टी गरिदिँदा अझ उत्पादन बढ्न सक्ने अवस्था देखिन्छ ।’ संविधानले राज्यको ३ खम्बे अर्थनीतिमा सहकारीलाई समावेश गरिसकेपछि यसलाई कार्यान्वयन गर्न ध्यान दिनुपर्ने अवस्था रहेको मन्त्री अर्यालले बताइन्



Leave a comment