हाइलाइट

लाइसेन्स लिइसकेका सहकारी संस्थाहरुले तत्काल नविकरण गर्नुनपर्ने

लाइसेन्स लिइसकेका सहकारी संस्थाहरुले तत्काल नविकरण गर्नुनपर्ने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट कारोबार इजाजतपत्र (लाइसेन्स) लिइसकेका संस्थाहरुको तत्काल नविकरण गर्नुनपर्नेभएको छ । लाइसेन्स लिएका संस्थाहरुले यही साउनदेखि नै नविकरण गर्नुपर्ने भए पनि दर्ता अभिलेखिकरणको काम भइराखेकाले केही समयपछि मात्र नविकरण कार्य सुरुहुने भएको हो । लाइसेन्स लिइसकेका संस्थाहरुले तत्काल नविकरण गर्नुनपर्ने र प्राधिकरणले सूचना जारी गरेपछि मात्र नविकरण कार्य अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक रामकुमार महतोले ‘दर्ता अभिलेखिकरणको काम ठुलो संख्यामा बाँकी रहेको र ६ हजार सहकारीको सम्पूर्ण विवरण प्रविष्ट पश्चात लाइसेन्स दिनुपर्ने भएकोले त्यसपछि मात्र संस्था नविकरणमा जाने बताएका छन् । उनले नविकरणको व्यवस्था ऐनमा नै भएकोले केही समय ढिला भएपनि नविकरण भने गर्नैपर्ने बताए ।

उनले इजाजत दिनै बाँकी रहेकाले नविकरण सुरु गर्दा थप काम थपिने र कामको बोझ समेत बढ्ने भएकाले संस्थाहरुलाई इजाजत दिने काम अझ प्रगति भएपछि नविकरणतर्फ जाने बताए । नविकरण गर्दा संस्थाहरुबाट कति शुल्क लिने भन्ने विषयमा समेत प्राधिकरणले छलफल गरीराखेको र कति शुल्क लिँदा संस्थाहरुलाई सहज हुन्छ भन्ने विषयमा ध्यानकर्षण भएको बताएका छन् ।

प्राधिकरणले ५ हजार ३ सय सहकारी संस्थालाई संस्था सञ्चालन इजाजतपत्र दिएको र एनसीआरए प्रणालीमा १३ हजार सहकारी संस्था दर्ता अभिलेखिकरण भएको जनाएको छ । सम्पूर्ण प्रक्रिया पुरा गरेका ५ हजार माथि संस्थाहरुलाई लाइसेन्स प्रदान गरिएको र ६ हजार सहकारी संस्थाको विवरण अपुरो रहेको जनाएको छ ।

सम्पूर्ण विवरण पुरा गरेपछि मात्र प्राधिकरणले लाइसेन्स दिने जनाएको छ । त्यसैगरी १ हजार ५ सय सहकारी संस्थाको भेरिफिकेशनको काम बाँकी रहेको र ती संस्थाहरुको प्रक्रिया पुरागरी लाइसेन्स दिइने भएको छ । कार्यकारी निर्देशक महतोले दर्ता अभिलेखिकरणपछि नियमित रुपमा संस्थाहरु एनसीआरए प्रणालीमा अध्यावधिक हुने र सम्पूर्ण विवरणहरु उपलब्ध हुने भएकाले वास्तविक अवस्था थाह गर्नसकिने बताए ।

गत असार २५ गते सहकारी ऐन संशोधन भएको र ऐन जारी भएको एक बर्षभित्र लाइसेन्स दिइसक्नु पर्ने भनेकाले २०८४ असार २४ गतेसम्मका लागि समय थप गरिएको उनको भनाई छ । यस अघि गत असार मसान्तसम्म समयदिएर संस्था अभिलेखिकरणको काम भइराखेकोमा ऐन संशोधन भएर आएकाले एक बर्षको समय थप गरिएको उनले बताए । प्राधिकरणले गत मंसिर १० गतेबाट संस्था दर्ता अभिलेखिकरणको काम सुरु गरेको थियो । प्राधिकरणले पटक – पटक समय थपगरी संस्थाहरुको अभिलेखिकरणको काम गर्दै आएको छ ।



Leave a comment