काठमाडौं । सूर्यविनायक नगरपालिका–१ मा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको निर्वाचन सहितको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले मिठाराम न्यौपानेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
शनिवार सम्पन्न सभाले संञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन गरेको थियो । साधारण सभाबाट अध्यक्षमा मिठाराम न्यौपाने, उपाध्यक्षमा शालिकराम घिमिरे, सचिवमा प्रकाश न्यौपाने र कोषाध्यक्षमा तीर्थराज चौलागाईं चयन भएका छन् ।
त्यसैगरी सभाले संचालक सदस्यमा अम्बिका चौलागाईं घिमिरे, विना गिरी, मीना खड्का, पुरुषोत्तम थापा र कमलप्रसाद न्यौपानेलाई चयन गरेको छ ।
त्यसैगरी साधारण सभाले लेखा सुपरीवेक्षण समितिको संयोजकमा नवराज घिमिरे तथा सदस्यमा हरेराम चौलागाईं र पवनकुमार थापा चयन गरेको छ । साधारण सभामा संस्थाको आर्थिक वर्ष २०८२ / ८३ मा १ अर्ब ७ करोड ८ लाख २२ हजार २८४ रुपैयाँको कुल कारोबार गर्न सफल भएको जानकारी दिइएको छ ।
साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष प्रमोद घिमिरेले आर्थिक वर्ष २०८२ / ८३ मा संस्थाले उल्लेख्य वित्तीय कारोबार गर्न सफल भएको बताए । संस्थाले सदस्यको बचत संकलन तथा ऋण लगानीलाई व्यवस्थित गर्दै वित्तीय गतिविधिलाई निरन्तर विस्तार गर्दै आएको उनको भनाइ छ।
संस्थाका सचिव दिपककुमार न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार समीक्षा अवधिमा संस्थाको सदस्य संख्या ०.१० प्रतिशतले वृद्धि भएको, शेयर पुँजी ४.३८ प्रतिशत, बचत ९.७५ प्रतिशत, विभिन्न कोष १९ प्रतिशत, ऋण लगानी १.७५ प्रतिशत र कुल सम्पत्ति १०.५४ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले २०५९ सालमा ३ हजार ४ सय रुपैयाँबाट वित्तीय कारोबारको यात्रा सुरु गरेको संस्थाले हाल १ अर्ब ७ करोड ८ लाख २२ हजार २८४ रुपैयाँको कुल कारोबार गर्न सफल भएको बताए ।
संस्थाले आफ्नो वित्तीय गतिविधिलाई क्रमशः विस्तार गर्दै सदस्यकेन्द्रित सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको उनले उल्लेख गरे । कोषाध्यक्ष घिमिरेका अनुसार संस्थाले आर्थिक वर्ष २०८२ / ८३ मा १ करोड ९३ लाख ६१ हजार ४५७ रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
संस्थाले आर्जन गरेको नाफाबाट शेयर सदस्यलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्तावसमेत साधारण सभामा प्रस्तुत गरिएको छ । सभामा संस्थाको वित्तीय अवस्था, कारोबारको विस्तार, सदस्यको सहभागिता तथा आगामी कार्ययोजनालगायतका विषयमा समेत छलफल गरिएको थियो ।
सहकारीको संस्थागत क्षमता अभिवृद्धि गर्दै सदस्यलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने विषयमा जोड दिइएको थियो । लेखा सुपरीवेक्षण समितिका संयोजक शालिकराम घिमिरेले संस्थाको २३औँ वार्षिक साधारण सभाबाट पारित भएका अधिकांश कार्यक्रम कार्यान्वयन भएको जानकारी दिए ।
उनले सहकारीको दिगो विकासका लागि सदस्यको सक्रिय सहभागिता, वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
२४औँ वार्षिक साधारण सभाले संस्थाको विगतको वित्तीय तथा संस्थागत प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सेवा विस्तार, सदस्यको हित संरक्षण र संस्थालाई थप सुदृढ बनाउने विषयमा आवश्यक योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
Leave a comment