हाइलाइट

सुयोग्य साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न

सुयोग्य साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । सेतिओपि काठमाडौंका रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक  साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टेकबहादुर लिम्बुको सभापतित्वमा सम्पन्न सभामा प्रतिनिधि सभा सदस्य सुनिल केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

सभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि केसीले अहिले बोल्ने भन्दा पनि काम गरेर देखाउने समय आएको बताए । उनले मूलुकमा रहेका धेरै सहकारीले राम्रो काम गरेको भन्दै उनले ती सहकारीको प्रवर्धन गर्ने उनले बताए । गतल काम गर्ने सहकारीलाई कानुनी दायरामा ल्याई सदस्यको बचत फिर्ता दिलाउने काममा सरकार लागि परेको उनले बताए ।

सभामा संस्थाकी प्रमुख सल्लाहकार चित्र कुमारी थाम्सुहाङ सुब्बाले सुयोग्य सहकारीले सदस्यको समृद्धि र सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताइन ।

संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका साथै दुःखमा मल्हम लगाउने र सुखमा खुशी साट्ने कामगर्दै आउनुका साथै सदस्यको मृत्यु हुँदा मृत्यु संस्कार खर्च, बिरामी हुँदा उपचार खर्च, महिला सदस्यलाई सुत्केरी भत्ता र बाल सदस्यलाई जन्मदिनमा केक उपहार प्रदान गर्दै आएको बताइन् ।

संस्थाले सदस्यहरुलाई विषादी रहित तरकारी उत्पादन गर्न कौशीखेती कार्यक्रम सुरु गरेको र ग्रामर स्कूलसँग सम्झौता गरी सदस्यका छोरा छोरीलाई सहुलियत दरमा अध्ययन गर्ने वातावरण मिलाइएको सभामा जानकारी दिइन् ।

संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो रहेको र लेखा सुपरीवेक्षण समिति संयोजक नै वित्तीय विश्लेषक रहेकाले समय समयमा संस्थाको समग्र वित्तीय विश्लेषण गर्दै आएको उनले जानकारी दिइन् ।

संस्थाको वित्तीय अवस्था सन्तुलित र सुरक्षित रहेको भन्दै उनले सदस्यको विश्वास बढेको सुनाइन् । संस्थाले सदस्यको सन्तुष्टिको स्तर र समाजमा पारेको प्रभावका बारेमा सामाजिक परिक्षण समेत अधययन गरेको उनले जानकारी दिइन् ।

संस्थाले सञ्चालन गर्ने वित्तीय तथा डिजिटल साक्षरता र सहकारी शिक्षामा सदस्यहरुलाई निरन्तर सहभागिता जनाउन उनले आग्रह गरिन। संस्थालाई उत्कृष्ट बनाउन सदस्यको योगदान महत्वपूर्ण हुने भएकाले सोही अनुसार हरेक गतिविधिमा समयमा उपस्थित भई सल्लाह तथा सुझाव दिन उनले सुझाइन् ।

संस्थाको नियमित बचतमा सबै सदस्यलाई अनिवार्य बचत गर्न र शेयर रकम वृद्धि गरी कम्तिमा ५ हजार रुपैयाँ बराबार पुर्याउन उनले आग्रह गरिन ।

सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनका कतिपय बुँदा सञ्चालकले ऋण लिन नपाउने, ऋणी सदस्यको जमानी बस्न नपाउने, साधारण सभामा अतिथि बोलाउन र सदस्यलाई परिवहन खर्च दिन नपाउने तथा पुँजीकोषको आधारमा बचत तथा ऋण लगानी गर्ने जस्ता विषयले संस्था सञ्चालनमा समस्या भएको उनले सुनाइन ।

पछिल्लो समय सहकारी क्षेत्रलाई खुम्च्याउने गरी सरकारले ऐन तथा मापदण्ड जारी गरेको भन्दै यसले ससाना उद्यम व्यवसायदेखि सदस्यहरुको आर्थिक उन्नतिमा नै अप्ठ्यारो पार्ने उनको भनाई छ ।

सभामा अध्यक्ष लिम्बुले सञ्चालक समितिकोतर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्थागत सुशासनलाई केन्द्रमा राखि जवाफदेही तरिकाले संस्था सञ्चालन गर्दै आएको बताए ।

सदस्यको बचतको सुरक्षाको प्रत्याभूतिका साथ सुरक्षित रुपमा ऋण लगानी गरी जोखिमलाई न्युनिकरण गर्दै लगिएको उनले जानकारी दिए । संस्थाले सहकारी ऐन कानुन र समय समयमा नियामकले जारी गर्ने निर्देशन तथा मापदण्ड जस्ता कुरालाई पालन गर्दै अगाडि बढेको उनको भनाई छ ।

संस्थाले सहकारी नियमन प्राधिकरणद्धारा बचत तथा ऋणको मुख्य कारोबार गर्नको लागि कर्जा इजाजतपत्र लिइसकेको र नियामकलाई बुझाउनु पर्ने प्रतिवेदन तथा कोपोमिस प्रणालीमा नियमित रुपमा अध्यावधिक गर्दै आएको उनले सभामा बताए ।

संस्थामा गत आर्थिक बर्षमा १६० जना सदस्य थप भई कुल सदस्य १ हजार ६८३ पुगेको छ । संस्थाले आर्थिक बर्ष २०८ / २८३ को असार मसान्तसम्म शेयर पुँजी ३ करोड ३ लाख, बचत ४० करोड ३९ लाख र ऋण लगानी ३१ करोड ८५ लाख पुगेको छ ।

संस्थाले विशेषत उद्यम, व्यवसाय, कृषि, जग्गा तथा आवास, शिक्षा तथा सदस्यको माग अनुसार विभिन्न क्षेत्रमा ऋण लगानी गरेको छ । संस्थाले गत आवमा २९ लाख ८० हजार करमा योगदान गरेको छ ।

संस्थाले सञ्चालनमा ल्याएको मोबाइल बैकिङ्ग तथा अन्य विद्युतिय सेवामा क्रमशः वृद्धि गर्दै लगेको छ । गत आर्थिक बर्षमा ४९ जन नयाँ मोबाइल बैकिङ्ग प्रयोगकर्तामा वृद्धि भई ४९७ पुगेको छ ।

संस्थाले समुदायको हरेक क्षेत्रमा आप्नो स्रोत साधनले भ्यायसम्म आर्थिक सहयोग गर्दै आएको छ । साधारण सभाले गत आवको नाफाबाट सदस्यलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ भने बचत तथा ऋणको कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम दिने भएको छ ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोक ओमकृष्ण श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले ऋण लगानी गर्दा ऋणको जोखिमलाई सबैभन्दा पहिलो प्राथमिकता दिएको बताए ।

सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ठ ऋण र उत्कृष्ट प्रविधि प्रयोगकर्ता सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । संस्थाकी सञ्चालक खुशमाया श्रेष्ठले सभामा स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सभा सञ्चालन गरेका थिए ।



Leave a comment