काठमाडौं । राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश संचालकका उमेदवार परितोष पौड्यालको उम्मेदवारी खारेजीकालागि उजुरी परेको छ । पौड्यालको उमेदवारी खारेजीका लागि नेपाल राष्ट्र बैंकमा उजुरी परेको हो ।
सहकारीकर्मी तथा उक्त बैंकका पूर्व उमेदवार बद्रीप्रसाद संजेलले हिजो जेठ ५ गते राष्ट्र बैंकमा उजुरी दिएका हुन् । सहकारीकर्मी संजेल बन्धुहित बचत तथा ऋण सहकारी संस्थामा आवद्ध रहेको जनाइएको छ। संजेलले सहकारी विभागमा समेत उमेदवारी खारेजीको उजुरी गर्ने जनाएका छन् ।
राष्ट्र बैंकमा ६७९ दर्ता नम्बर रहेको उजुरीमा पार्टी केन्द्रको लेटरप्याड प्रयोग गरी पार्टी अनुसाशन आयोगको सदस्यलाई जिताउन सर्कुलर गरिएकोले उमेदवारी रद्ध गरिदिन माग गरिएको छ।

उजुरीमा सहकारीको मर्म भावना र सिद्दान्तलाई समेत खुल्ला चुनौती दिएको बताइएको छ । उजुरीमा, ‘राष्ट्रिय सहकारी बैंक जस्तो वित्तीय प्रकृतिको संस्थाको आसन्न निर्वाचनमा विभिन्न राजनीतिक दलहरुबीच साझा उम्मेदवार घोषणा गरिएको तथा निर्वाचन प्रक्रियालाई राजनीतिक भागबण्डा र शक्ति सन्तुलनको माध्यम बनाउने प्रयास भइरहेको जनाइएको छ।
एउटा वितीय संस्थामा पार्टि केन्द्रको लेटरप्याडमा पार्टी केन्द्रबाट आफ्नो पार्टी अनुसाशन आयोगको सदस्य जिताउन गरिएको सर्कुलरले सहकारीको मर्म भावना र सिद्दान्तलाई समेत खुल्लम खुल्ला चुनौती दिएको उल्लेख छ।
सहकारीको मूल मर्म, मूल्य, मान्यता तथा वितीय संस्थाको स्वतन्त्रता विपरीत हुनेगरी राजनीतिक सहमति, दलगत स्वार्थ र भागबण्डाका आधारमा नेतृत्व चयन गरिनु संस्थाको आन्तरिक विषय मात्र नभई समग्र सहकारी वित्तीय प्रणालीमाथिको ठाडो हस्तक्षेप रहेको बताइएको छ ।
राष्ट्रिय सहकारी बैंक कुनै राजनीतिक दलको भातृ संस्था वा राजनीतिक भागबण्डा मिलाउने थलो नभएर लाखौं सदस्य, सहकारी संस्था तथा वित्तीय कारोबारसँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकोले यसको नेतृत्व क्षमता, व्यवसायिक दक्षता, नैतिकता र संस्थागत अनुभवका आधारमा चयन हुनुपर्ने उजुरीमा भनिएको छ।
पारदर्शिता र व्यवसायिक नेतृत्वलाई प्राथमिकता दिनुको सट्टा पुनः राजनीतिक भागबण्डालाई स्थापित गर्न खोजिनु अत्यन्त गम्भीर, आपत्तिजनक र भविष्यप्रति खतराको संकेत रहेको बताइएको छ ।
साथै यस विषयलाई सामान्य राजनीतिक अभ्यासको रूपमा नलिई वित्तीय सुशासन, संस्थागत स्वतन्त्रता र सार्वजनिक हितसँग जोडिएको गम्भीर विषय मानी सम्बन्धित निकायबाट तत्काल छानबिन, निगरानी तथा आवश्यक कानूनी हस्तक्षेप गरी राष्ट्रिय सहकारी बैंकको स्वतन्त्र, व्यवसायिक तथा राजनीतिक प्रभावमुक्त बनाउन पार्टीका नेता जसलाई पार्टीले सर्कुलर जारी गरी जिताउन निर्देशन दिएको छ र तीन दलको संयुक्त उम्मेदवार हुन् भनी तीन दलबीच सहमति भएका भनिएका परितोष पौडेलको उम्मेदवारी रद्द गरी आवश्यक कारबाही गरिदिनुहुन अनुरोध गर्दछु, उजुरीमा उल्लेख छ।
Leave a comment