हाइलाइट

सहकारी बैंक निर्वाचनः आफ्नै दलका धेरै आकांक्षी भएपछि बागमती प्रदेश मिलाउन हम्मे 

सहकारी बैंक निर्वाचनः आफ्नै दलका धेरै आकांक्षी भएपछि बागमती प्रदेश मिलाउन हम्मे  :: Sahakari Akhabar

काठमाडौं । सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि राजनीतिक दललाई बागमती प्रदेश घाँटीमा अडेकिएको हड्डी भएको छ । आगामी जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनका लागि राजनीतिक दलहरु बिच सहमती हुननसक्दा संचालक चयनमा दललाई हम्मे हम्मे परेको हो ।

पाँच प्रदेशबाट संचालक निर्विरोध गराउन सफल दलका लागि बागमती र सुदुर पश्चिम प्रदेश घाँडो बनेको छ । त्यसमा पनि उम्मेदवारका आकांक्षी धेरै भएको बागमती प्रदेशमा अहिलेसम्म सहमती हुनसकेको छैन । बागमती प्रदेशमा एक जना संचालकको लागि पाँच जनाले उम्मेदवारी परेपछि दललाई निल्नु न ओकल्नु भएको हो ।

नेकपा एमालेको भागमा परेको बागमती प्रदेशमा एक जना संचालकको लागि पाँच जनाले उम्मेदवारी दिएपछि पार्टीले समेत सहमती गर्न सकेको छैन । बागमती प्रदेशबाट उम्मेदवार बनेका अधिकांश एमाले निकट सहकारीकर्मी नै भएकोले पार्टीलाई सहमतीका लागि सकस भएको बताइएको छ।

बागमती प्रदेशबाट राष्ट्रिय सहकारी महासंघका संचालक परितोष पौड्याल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काभ्रेको विन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रामहरी शर्मा तिमल्सिना, सहकारी बैंकका संचालक ध्रुव विष्ट तथा ललितपुरको बन्धुहित बचत तथा ऋण सहकारीका बद्रीप्रसाद संजेलको उम्मेदवारी परेको हो।

नेपाली कांग्रेसको भागमा परेको सुदुर पश्चिम प्रदेशमा भने तीनजनाको उम्मेदवारी परेपनि उम्मेदवार सुरेन्द्र बहादुर बडुवालको उम्मेदवारी खारेज गरेको जनाइएको छ । अझै पनि सुदुर पश्चिम प्रदेशमा दुईजनाको उम्मेदवारी रहिरहेको छ । जसमा मनमोहन विष्ट र अम्मरनाथ न्यौपानेको उम्मेदवारी रहेको छ।

दलगत भागवण्डा अनुसार नेपाली कांग्रेसले दुई, नेकपा एमालेले तीन तथा नेपाली कम्यूनिष्ट पार्टीले दुईसिट बाँढेका हुन् । दलले प्रदेशगत रुपमा संचालक भाग लगाउँदा एमालेले बागमती, कोशी र गण्डकी प्रदेश, नेपाली कांग्रेसलाई मधेश र सुदूरपश्चिम प्रदेश तथा नेकपाले लुम्बिनी र कर्णाली प्रदेश पाएका छन्।

बैंकको संशोधित विनियम अनुसार सञ्चालक समिति नौ सदस्यीय रहने व्यवस्था छ । सातै प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुनेगरी सातजना सञ्चालक निर्वाचित हुनेछन् । जसमा कम्तीमा दुईजना महिला अनिवार्य गरिएको छ । सोही अनुसार मधेश र गण्डकी प्रदेश महिला कोटा छुट्याइएको छ।

निर्वाचित सञ्चालक मध्येबाट अध्यक्ष चयन गरिने ब्यवस्था छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार बैंकिङ र सहकारी क्षेत्रका एकएक जना बिज्ञलाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनयन गरिने व्यवस्था रहेको छ।

त्यसैगरी स्वतन्त्र र बिज्ञ सञ्चालकलाई सञ्चालक समितिले मनोनयन गर्ने प्रावधान छ। बैंकको निर्वाचन समितिले ३१ गते उम्मेदवारको दोश्रो सूचि प्रकाशन गरेको थिायो जेठ १ गते आज उम्मेदवारले नाम फिर्ता लिने र १ गते बेलुका चारबजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ।



Leave a comment