हाइलाइट

सहकारी बैंक निर्वाचनः कार्यकारी प्रमुखदेखि नेफ्स्कून र महासंघका संचालकसम्मको उम्मेदवारी

सहकारी बैंक निर्वाचनः कार्यकारी प्रमुखदेखि नेफ्स्कून र महासंघका संचालकसम्मको उम्मेदवारी :: Sahakari Akhabar

काठमाडौं। उठ्नै नसक्नेगरी दलगत राजनीतिले गाँजेको सहकारी अभियानलाई फेरी अर्को झड्का लागेको छ । सहकारी महासंघमा भएको एकलौटी दलको हस्तक्षेपको खाटा बस्न नपाउँदै सहकारी बैक त्यही मारमा परेको छ । संघारमै आएको सहकारी बैंकको निर्वाचनका उम्मेदवारहरु दलगत भागवण्डामा आएपछि सहकारी बैंक ब्यवसायिक र ब्यवस्थित हुने भन्दा दलको सम्पर्क कार्यालय बन्ने सहकारीकर्मीको चिन्ता छ।

आगामी जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनमा राजनीतिक दलको हस्तक्षेप त रह्यो नै उम्मेदवारहरुले पनि कानुनलाई बेवास्ता गरेको पाइएको छ । सहकारी कानुनले दोहोरो पद र कर्मचारीलाई संचालकको उम्मेदवार बन्न बन्देज गरेको छ । तर सहकारी बैंकको निर्वाचनका अधिकांश उम्मेदवार दोहोरो पदमा रहेको र कर्मचारी समेत रहेको पाइएको छ ।

कानुको वबेवास्ता गर्नेमा सहकारी महासंघ, नेफ्स्कून र सहकारी बैंकका संचालकहरु नै रहेका छन् । सहकारी महासंघका संचालक परितोष पौड्याल, नेफ्स्कूनकी संचालक कमला देवी गिरी तथा सहकारी बैंकका लेखा समिति संयोजक लक्ष्मी उप्रेती अग्रपंत्तिमा रहेका छन् ।

पौड्याल र गिरीले दोहोरो पदको बेवास्ता गरेका छन् भने उप्रेती प्रारम्भिक संस्थाको कर्मचारी हुन् । गत असोजमै राष्ट्र बैंकले कानुन बिपरित दोहोरो पदमा बसेका सञ्चालकलाई हटाउन सहकारी बैंकलाई निर्देशन दिएको थियो ।

नेपाल राष्ट्र बैंकको ताकेता पछिमात्र निवर्तमानको सुविधा लिइरहेका रमेशप्रसाद पोखरेल, संचालक विश्वनाथ मण्डल, पार्वती थापामगर, विजया धिताल र कालिबहादुर महतराले राजीनामा दिएका थिए । सहकारी ऐन २०७४ मा एक व्यक्ति एकै पटक दुई संस्थाको सञ्चालक बस्न नपाउने व्यवस्था छ।

सहकारी बैंकको सातजना संचालक र तीन जनाको लेखा समितिका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यसमा लेखा समिति तथा पाँचजना संचालक राजनीतिक दलको सहमतीमा निर्विरोध गराइएको छ भने दुईजना संचालकका लागि सहमती हुन बाँकी रहेको छ ।

सात प्रदेशको प्रतिनिधित्व हुनेगरी निर्वाचनबाट संचालक चयन गर्नुपर्नेमा राजनीतिक दलले भागवण्डा लगाएर उम्मेदवार छनोट गरी सदस्यको मतबाट चयन गर्ने अधिकार खोसेका छन् । दलगत भागवण्डा अनुसार नेपाली कांग्रेसले दुई, नेकपा एमालेले तीन तथा नेपाली कम्यूनिष्ट पार्टीले दुईसिट बाँढेका हुन् ।

दलले प्रदेशगत रुपमा संचालक भाग लगाउँदा एमालेले बागमती, कोशी र गण्डकी प्रदेश रोजेको छ भने, नेपाली कांग्रेसलाई मधेश र सुदूरपश्चिम प्रदेश भागमा परेको छ । त्यसैगरीे नेकपाले लुम्बिनी र कर्णाली प्रदेश पाएको छ । एमालेले कोशी प्रदेशबाट बैंकका लेखा समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीलाई संचालकमा निर्विरोध गराएको छ ।

उप्रेती एमाले निकट सहकारीकर्मी हुन् । तीन कार्यकालदेखि निरन्तर उक्त बैंकको विभिन्न पदमा रहेका उप्रेती मेचीनगर झापामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । विगतदेखि नै उनी बैंकको विभिन्न पदमा रहेर सहकारी विभाग र राष्ट्र बैंकको निर्देशनको अवज्ञा गर्दैआएका छन्।

त्यसैगरी एमालेको बागमती प्रदेश कोटाबाट संचालकको उम्मेदवार बनेका परितोष पौड्याल राष्ट्रिय सहकारी महासंघका संचालक हुन् । नेफ्स्कूनको २०८० साल पुस ८ गते भएको निर्वाचनबाट अध्यक्षमा पराजित भएपछि सहकारी महासंघमा संचालक भएका थिए ।

नेकपा एमालेका तत्कालिन सहकारी विभाग प्रमुख खगराज अधिकारीका निकट मानिने पौड्याललाई उनै अधिकारीले महासंघको संचालक बनाएका थिए । नेफ्स्कूनको अध्यक्ष रहँदा सहकारीको सफ्टवयेर निर्माणदेखि संघको भवन ठेक्कालगायत सिइओ नियुक्ति जस्ता विभिन्न विषयमा विवादित बनेका पौड्याल पार्टीको सहकारी विभागका सचिव समेत हुन्।

सहकारी महासंघको संचालक रहेकै समयमा पौडेलले गतबर्ष स्थापना भएको सहकारी नियमन प्राधिकरणको अध्यक्ष पदकालागि पनि आवेदन दिएका थिए, तर उनी त्यहाँ सफल हुनसकेनन् । राष्ट्रिय सहकारी महासंघमा संचालक बन्न गण्डकी प्रदेशको तनहुँ जिल्ला सहकारी संघको प्रतिनिधि ल्याएका पौडेलले सहकारी बैंकको संचालक बन्न बागमती प्रदेशबाट काठमाडौंको नरपानी देवनगर बचत तथा ऋण सहकारीबाट प्रतिनिधि ल्याएका छन् ।

त्यसैगरी एमाले कोटाबाटै महिला आरक्षण सिटमा गण्डकी प्रदेशबाट निर्विरोध भएकी संचालक कमला देवी गिरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी संचालक हुन् । नेकपा एमाले निकट गिरी पोखरामा रहेको सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी हाल लेखा समितिमा छन् ।

यसअघि उनि नेफ्स्कूनको संचालक रहँदा उक्त संस्थाको अध्यक्ष रहेकी थिइन् । उनले उक्त संस्थाबाटै प्रतिनिधि ल्याएकी छन् । कर्णाली प्रदेशबाट निर्विरोध संचालक बनेका कालिबहादुर महतारा यसअघि पनि बैंकको संचालक नै थिए ।

कालिकोटको हिमचुलि कृषि सहकारीबाट प्रतिनिधि गरेका महतारा उक्त संस्थाका निवर्तमान अध्यक्ष रहको बताएका छन् । महतारा राष्ट्र बैंकले दोहोरो पद छाड्न निर्देशन दिएपछि राजिनामा दिएर पुन उम्मेदवार बनेका थिए । उनी पनि निर्विरोध भएका छन् ।

मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमला गिरी, कर्णाली प्रदेशबाट कालीबहादुर महतरा र लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बरालको एकल उम्मेदवारी पारेर निर्विरोध गराइएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा पनि तीनदलको सहमती भए अनुसार संयोजकमा तारा गुरुङ तथा सदस्यमा ममताकुमारी शाह र युवराज पोख्रेलको एकल उम्मेदवारी पारेर निर्विरोध गराइएको हो ।

प्रदेशगतरुपमा दलले उम्मेदवार भागवण्डा लगाएपनि बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा आवश्यकता भन्दा बढी उम्मेदवारी परेको छ । राजनीतिक दलले सहकारीकर्मी भन्दा पनि पार्टी निकट तथा कार्यकर्तालाई बैंकको संचालकका लागि चुनेपछि दुई प्रदेशमा सहमती हुननसकेको सहकारीकर्मी बताउँछन् ।

एमालेको भागमा परेको बागमती प्रदेशबाट संचालकका उम्मेदवार बनेका ध्रुवराज बिष्ट पनि यस बैंकका संचालक हुन । उनले भक्तपुरको ऋद्धिसिद्धि बचत तथा ऋण सहकारीबाट प्रतिनिधि ल्याएका छन् । त्यसैगरी बागमती प्रदेशबाट नै उम्मेदवार बनेका रामशरण शर्मा घिमिरे बागमती प्रदेश सहकारी संघका अध्यक्ष हुन् ।

बद्री सञ्जेल र रामहरी शर्मा तिमल्सिनाले पनि बागमती प्रदेशबाटै संचालकको उम्मेदवारी दिएका छन् । महिला आरक्षण कोटामा परेको मधेश प्रदेशबाट संचालककी अर्की उम्मेदवार मन्दिरा आचार्य, नेपाली कांग्रेको कोटाबाट निर्विरोध भएकी छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीबाट उनले प्रतिनिधि ल्याएकी छन् ।

नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट लुम्बिनी प्रदेशको संचालको उम्मेदवार विष्णुप्रसाद बराल निर्विरोध भएका छन् । उनी नवलपरासी पश्चिम बर्दघाटमा रहेको हाम्रो सुपर साकोसका अध्यक्ष हुन् । यसै संस्थाबाट उनले बैंकमा प्रतिनिधि ल्याएका छन् ।

नेपाली कांग्रेसको भागमा परेको सुदुरपश्चिम प्रदेशबाट चाही सुरेन्द्रबहादुर बडुवाल, मनमोहन विष्ट र अम्मरनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । बडुवालले कैलालीमा रहेको नागबंशि बचत तथा ऋण सहकारीबाट प्रतिनिधि लिएका छन् । विष्टले धनगढीमा रहेको संगम बचत तथा ऋण सहकारीबाट र न्यौपानेले जिल्ला सहकारी संघ आछामको प्रतिनिधि रहेर उम्मेदवारी दर्ता गराएका हुन् ।

लेखा समिति संयोजक तारा गुरुङ, यसअघि बैंकको लेखा समिति सदस्य रहिसकेकी छन् । नेपाली कांग्रेस निकट गुरुङले चितवनको बखान बहुउद्देयीय सहकारीबाट प्रतिनिधि ल्याएकी छन् । लेखा समिति सदस्यमा निर्विरोध भएकी ममता कुमारी शाह सप्तरीबाट रहेकी छन् । उनले सप्तरीको शिवज्योति महिला बचत तथा अण सहकारीबाट प्रतिनिधि ल्याएकी हुन् ।

त्यसैगरी लेखा समिति सदस्यमा निर्विरोध भएका युवराज पोख्रेल कपिलबस्तुको माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारीबाट प्रतिनिधि भएका छन् । बैंकको संशोधित विनियम अनुसार दोहोरो पद भएकाले निर्वाचित भएको सातदिन भित्र एकपदबाट राजीनामा दिनुपर्ने ब्यवस्था गरेको छ ।

बैंकको सञ्चालक समिति नौ सदस्यीय रहने व्यवस्था छ । सातै प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुनेगरी सात सञ्चालक निर्वाचित हुनेछन् । जसमा कम्तीमा दुईजना महिला अनिवार्य गरिएको छ । सोही अनुसार मधेश र गण्डकी प्रदेश महिला कोटा छुट्याइएको छ ।

निर्वाचित सञ्चालकमध्ये बाट अध्यक्ष चयन गरिने ब्यवस्था छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार बैंकिङ र सहकारी क्षेत्रका एकएक जना बिज्ञलाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनयन गरिने व्यवस्था रहेको छ ।

त्यसैगरी स्वतन्त्र र बिज्ञ सञ्चालकलाई सञ्चालक समितिले मनोनयन गर्ने प्रावधान छ । बैंकको निर्वाचन समितिले ३१ गते उम्मेदवारको दोश्रो सूचि प्रकाशन गर्ने छ भने जेठ १ गते उम्मेदवारले नाम फिर्ता लिने र १ गते नै अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरेको छ ।



Leave a comment