काठमाडौं । राजनीतिक हस्तक्षेपले समस्या भोग्दै आएको सहकारी अभियानको माउ नीकायको रोगले सहकारी बैंकलाई पनि छाडेन । आगामी जेठ ९ गते हुने राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व चयनमा पनि राजनीतिक दलको हस्तक्षेप रह्यो ।
अन्तत बैंकको संचालक चयन प्रकृया पुरानै तीनदलले भागवण्डा गरेका छन् । बैंकको संचालक तथा लेखा समितिका पदाधिकारीको चयन प्रकृया राजनीतिक दलले सिट भागवण्डा गरेर उम्मेदवारी मनोनयन गराएका छन् ।
बैंकको संचालकको सिण्डिकेटमा पुराना तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यूनिष्ट पार्टीले बाँडफाँड गरे भने, ठूलो दल रास्वपाले चाही भागै लिन नचाहेको एक सहकारीकर्मीले बताए ।
उनले भने, छलफलका लागि दलका साथीलाई त बोलाएको हो, तर आउन चाहेनन् हामी अहिले सहकारीको नेतृत्वमा जाँदैनौं भनेको उनले बताए । राजनीतिक दलले हस्तक्षेपका कारण ८ हजार ६७९ जना प्रतिनिधि सदस्यहरु मताधिकारबाट बञ्चित भएका छन् ।
भागवण्डाबाट अधिकांश संचालकहरु निर्विरोध बनाइएका छन् भने भागवण्डा नमिलेपछि बागमती र सुदुर पश्चिम प्रदेशमा दोहोरो उम्मेदवारी परेको छ । सात प्रदेशबाट एक एकजना संचालक प्रतिनिधित्व रहनेगरी पुराना तीनदलले सिट भागवण्डा गरेका हुन् ।
दलको भागवण्डा अनुसार एमालेले ३ नेपाली कांग्रेस २ र नेकपाले २ सिट भागपाएका छन् । एमालेलाई बागमती, कोशी र गण्डकी प्रदेश परेको छ भने, नेपाली कांग्रेसलाई मधेश र सुदूरपश्चिम प्रदेश भागमा परेको छ। त्यसैगरीे नेकपाले लुम्बिनी र कर्णाली प्रदेश पाएकोले सोही अनुसार बैंकमा उम्मेदवारी दर्ता गराइएका छन ।
मनोनयन दर्तामा कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, गण्डकी प्रदेशबाट कमला गिरी, कर्णाली प्रदेशबाट कालीबहादुर महतरा र लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बरालको एकल उम्मेदवारीपारी निर्विरोध गराइएको छ।
बागमती प्रदेशबाट रामशरण शर्मा घिमिरे, परितोष पोड्याल, बद्री सञ्जेल, ध्रुवराज बिष्ट तथा रामहरी शर्मा तिमल्सिनाले उम्मेदवारी दिएका छन् । उम्मेदवार विरुद्ध दावि बिरोध र उम्मेदवारी फिर्तासम्मकाे समय जेठ १ गतेसम्मका लागि रहेकाे निर्वाचन तालिकामा उल्लेख छ।
सर्वप्रथम सहमतीका लागि पहल भइरहेको संचालकका आकांक्षिले बताए, उनले भने, ‘सकभर सहमतीको प्रयास भइरहेको छ, पार्टीमै पनि दुईधार भएकोले सवैले आफ्ना आफ्ना उम्मेदवार बोकेर हिडेका छन् ।’ त्यसैगरी सुदुर पश्चिम प्रदेशबाट एक जना संचालकका लागि सुरेन्द्र बडुवाल, मनमाेहन सिंह र अम्बर न्यौपानेको उम्मेदवारी परेको छ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा तीनदलको सहमती भए अनुसार संयोजकमा तारा गुरुङ तथा सदस्यमा ममता शाह र युवराज पोख्रेलको एकल उम्मेदवारी पारिएको छ।
बागमती प्रदेशबाट एक पदमा पाँच जना र सुदूरपश्चिम प्रदेशबाट एक पदकालागि तीनजनाको उम्मेदवारी परेको हो । सात जना सञ्चालक सदस्य तथा तीनसदस्यिय लेखा समिति चयनका लागि बैशाख २९ गते उम्मेदवारी मनोनयन दर्ता गरेको हो ।
संशोधित विनियम अनुसार बैंकको सञ्चालक समिति नौ सदस्यीय रहने व्यवस्था छ । सातै प्रदेशबाट एक–एक जना प्रतिनिधित्व हुनेगरी सात सञ्चालक निर्वाचित हुनेछन् । जसमा कम्तीमा दुईजना महिला अनिवार्य गरिएको छ। मधेश र गण्डकी प्रदेश महिला कोटा छुट्याइएको छ।
निर्वाचित सञ्चालकमध्ये बाट अध्यक्ष चयन गरिने ब्यवस्था छ । नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार बैंकिङ र सहकारी क्षेत्रका एकएक जना बिज्ञलाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनयन गरिने व्यवस्था रहेको छ । त्यसैगरी स्वतन्त्र र बिज्ञ सञ्चालकलाई सञ्चालक समितिले मनोनयन गर्ने प्रावधान छ।
Leave a comment