सहकारीले सदस्यको थातथलो उठाउने हैनः पूर्व अर्थसचिव ढुंगाना

सहकारीले सदस्यको थातथलो उठाउने हैनः पूर्व अर्थसचिव ढुंगाना :: Sahakari Akhabar

काठमाडौं । पूर्व अर्थ सचिव शिशिर कुमार ढुंगानाले सहकारीले सदस्यको थातथलो उठाउने नभई उनीहरुलाई पुँजी र सीप परिचलान गरी उद्यमशीलता मार्फत् सबल बनाउने काम भएको बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको लेखा सुपरीवेक्षण गोष्ठी २०८२ मा कार्यपत्र प्रस्तुत गर्दै सहकारीले वित्तीय पहुँच र समावेशिताको माध्यमबाट सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्नेमा उनको जोड छ ।

उनले बित्तीय परिचालन र कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान उल्लेख रहेको बताएका छन् । त्यसैगरी उनले ४ प्रतिशत जिडिपीमा योगदान रहेको बताए । सहकारीले अर्थतन्त्रको नीति मध्ये एउटा बलियो खम्बा बनाउन सकेको बताए । सहकारी सञ्चालन गर्ने विधि भएको भन्दै उनले विधिको माध्यमबाट संस्था सञ्चालन गर्नुपर्नेमा जोड छ ।

सहकारीमा पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिँदै उनले वित्तीय विवरण सार्वजनिक गर्न र अनुगमनलाई सहज रुपमा लिन उनको आग्रह छ । सहकारीमा स्वःनियमनको कुरा गरे पनि व्यवहारमा त्यो नभएको उनले जनाए ।

सामुहिकता कम र व्यवसायिकतामा केन्द्रीत हुँदा सहकारीमा समस्या आएको उनको भनाई छ ।  सहकारी सेवामा भन्दा पनि  नाफामा केन्द्रीत भएको उनको आरोप छ ।

सहकारीका साधारण सभा औपचारिकतामा सिमित भएको भन्दै विषय वस्तुमा छलफल कम हुन थालेको उनले जनाए । सहकारीले गरिबी निवारणमा कति योगदान पु¥याए भन्दा पनि  कति नाफा कमाए भन्ने विषयलाई ध्यान दिँदा  समस्या आएको उनको दावी छ ।

सहकारी मध्यस्थकर्ता व्यवसाय नभई उद्यमशीलता मार्फत् रोजगारी र आयआर्जन गर्ने व्यवसाय भएको उनले जनाए । सुशासनयुक्त संस्कृतिको अभाव सहकारीमा रहेको र सञ्चालक र व्यवस्थापनले लक्ष्यमण रेखा काट्दा संस्थाहरु समस्या परेको उनको भनाई छ।

सहकारीले गलत मात्र नगरी गरिबी निवारण र वित्तीय समावेशीमा योगदान गरेको तर त्यो विषयको समाजमा चर्चा नभएको उनले जनाए । राष्ट्र बैंकले सहकारीलाई वित्तीय प्रणालीमा  गणना नगरेको भन्दै जोखिमयुक्त क्षेत्रको रुपमा  लिएको उनको भनाई छ।

सहकारीमा कमजोर सुशासन , सुसुप्त सदस्य,नियामक निकायको भूमिकामा अस्पष्टता, व्यवसायिक र सक्षम नेतृत्वको अभाव, दक्ष कर्मचारीको कमि, योजना विना र उदेश्य बाहिर लगानी, नैतिकवान सञ्चालकको अभाव जस्ता मुख्य कारणले सहकारी क्षेत्रमा जोखिम आएको उनले औल्याए ।

सुशासन बोली नभई व्यवहार भएको र सुशासनको मानक जनराइल नहुने उनले बताए । सदस्यको सन्तुष्टि नै सहकारीमा सुशासन भएको भन्दै उनले त्यसमा नै संस्थामा केन्द्रीत हुन उनले आग्रह गरे ।

‘सहकारीमा सुशासन र स्वः नियमन प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्व अर्थ सचिव ढुंगानाले सदस्यको सक्रियताले मात्र संस्था माथि जाने बताए ।

प्रत्येक पेशामा स्वः नियमन हुने भन्दै त्यसलाई अलिखित कानुनको रुपमा पालना गर्नु पर्ने उनले सुनाए । सहकारी समस्या नभई रुपान्तरणको माध्यम भएको भन्दै ढुगानाले व्यक्ति नभई प्रणालीमा सुधार अहिलेको आवश्यकता भएको औंल्याए ।

सहकारीलाई सदस्यमाझ पुनःस्थापना अहिलेको चुनौती भएको र त्यो गर्न सके सहकारीको व्यवसायमा वृद्धि गर्न हुने समेत उनको भनाई छ ।

लेखा समितिको भूमिका संस्थामा प्रभावकारी बनाउन सके संस्थागत सुशासन कायम भई सदस्यको बचतको सुरक्षित हुने ढुगानाले बताए । लेखा समिति कमजोर होइन,बलियो संयन्त्र हो भन्ने मान्यता हरेक संस्थामा स्थापित गर्न उनको जोड छ।

त्यसका साथै गलत काम गर्ने सञ्चालक र सदस्यलाई कारवाही गरी सहकारिताको भावना विकास गर्ने, आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाई नियामक निकाय अनुगमनको लागि नआउने वातावरण बनाउनु पर्ने र व्यक्ति नभई प्रणाली सुधारमा लेखा समितिको भूमिका बढाउन उनको सुझाव छ।

संस्थामा सञ्चालक समितिको स्वेच्छचारीलाई नियन्त्रण गरी सिमित व्यक्तिको स्वार्थ भन्दा पनि सामुहित खोज्ने गरी लेखा समितिले भूमिका बढाउन उनको आग्रह छ।



Leave a comment