काठमाडौं । अन्तत कृषि सहकारी संघसंस्थाहरु पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेखिकरण हुनेभएका छन् । संघले प्राधिकरण संग चारबुँदे सहमति गरेपछि मात्र ति संस्थाहरु अभिलेखिकरण हुनेभएका हुन् । केन्द्रीय संघले आज सूचना जारी गरी प्राधिकरणमा दर्ताकोलागि मातहतका सबै कृषि सहकारीलाई अनुरोध गरेको छ ।
प्राधिकरणले सबै सहकारीको बर्गीकरण तथा अभिलेखिकरण गर्नुपर्ने भएकोले बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी अभिलेखिकरणकालागि पटक पटक सूचना जारी गर्दैआएको थियो । कृषि सहकारी संस्थाहरु भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गर्नुपर्ने वा नपर्ने विषयमा अन्यौल रहको भन्दै अटेर गर्दैआएका थिए ।
प्राधिकरणले संस्था अभिलेखिकरणका लागि चैत १७ गतेसम्मको अन्तिम समय सिमा तोके पछि समयसिमा सकिनैलाग्दा संघले सवै सहकारीलाई अभिलेखिकरणका लागि अनुरोध गरेको हो । संघका अध्यक्ष एकराज उप्रेतीले सूचना जारी गर्दै प्राधिकरणसंग चारबुँदे सहमति भएकोले सवै संस्था अभिलेखिकरण गर्न भनेका छन् ।
सूचनामा ‘सहकारी ऐन २०७४ को दफा (ज) अनुसार बचत तथा ऋणको समेत मुख्य कारवोरमा रहेका कृषि सहकारी संस्थाहरुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गर्नुपर्ने वा नपर्ने विषयमा सम्बन्धित मन्त्रालय, विभाग, प्राधिकरण, कानुन विज्ञ, सहकारी अभ्यासकर्ता, बुद्धिजीवी र सरोकारवालाहरुसँग यस संघले विभिन्न चरणमा भेटघाट, वार्ता र छलफल चलायो।
कृषि सहकारी संस्थाहरुको सेवाको प्रकृति, कार्यप्रणाली, अभ्यास र मान्यतासँग प्राधिकरणबाट गरिएका कतिपय विषयमा सहमत हुन नसक्दा नसक्दै पनि कृषि सहकारी संस्थाहरुका लागि छुट्टै व्यवस्था नभएसम्मका लागि एउटा प्रभावकारी नियमन व्यवस्था अन्तर्गत रहनु संस्थागत सुशासन, दिगोपना र वैधानिक आवश्यकता हो ।
यसै सन्दर्भमा यस संघको चैत ७ गतेको सञ्चालक समितिको बैठकबाट प्राधिकरण समक्ष गरिएको अनुरोध अनुसार प्राधिकरणले केही व्यवस्था गरिदिने भएकोले अभिलेखिकरण गर्ने सहमती भएको छ। देशभर करिब १४ हजार कृषि सहकारी दर्ता रहेको पछिल्लो तथ्याङ्क रहेको छ भने केन्द्रीय संघमा करिव १ हजार ४ सय संस्था आवद्ध रहेका छन् ।
प्राधिकरणमा भएको सहमतीः
१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेख गर्दा पनि कृषि सहकारी संस्थाको पहिचान यथावत रहने तथा प्राधिकरणले प्रदान गर्ने सञ्चालन ईजाजत पत्रमा, बचत तथा ऋणको मुख्य कारोबार र कृषि वा बचत तथा ऋणको समेत कारोबार गर्ने कृषि सहकारी थप गर्ने ।
२, कृषि सहकारी संस्थाहरुले कृषिमा भएको लगानी (कर्जा) लगानी समेतको पोर्टफोलियो वर्गीकरण स्पष्ट राख्ने । उक्त पोर्टफोलियो प्रष्ट देखिनेगरी प्राधिकरणले यस केन्द्रीय संघको समेत प्राविधिक समन्वयमा आफ्नो सफ्टवेरमा आवश्यक परिमार्जन गर्ने ।
३, हालसम्म दर्ता अभिलेखीकरण भइसकेका कृषि सहकारी संस्थाहरुलाई प्रदान गरिने ईजाजत पत्रमा समेत कृषि शब्द थप गरिदिने ।
४, ऐन र नियममा रहेको मुख्य कारोवार सम्बन्धी परिभाषा, सहकारीको वर्गीकरण र गर्नपाउने कार्यहरुका अव्यवहारिक व्यवस्थाहरुका कारण मुलुकको कृषिको रुपान्तरणमा उदाहरणीय योगदान गरेका कृषि सहकारीको अभियानलाई प्रवद्धन गर्न सम्बन्धित निकायहरुमा प्राधिकरणले समेत पहल गरिदिने ।
राज्यको सशक्त साझेदारको रुपमा कार्यरत कृषि सहकारी संस्थाहरु ऐन, नियम र कानुनहरुको पूर्णपालनामा प्रतिवद्ध रहेका छौं । तसर्थ सहकारी ऐन २०७४ को दफा २ (ज) बमोजिम बचत तथा ऋणको समेत मुख्य कारावार गरेका कृषि सहकारी संस्थाहरुले चैत १७ भित्रमा तोकिएको दस्तुर बुझाएको बैंक भौचर र तोकिएका विवरण सहित तोकिए बमोजिम दर्ता अभिलेखीकरण गर्न हार्दिक अनुरोध गर्दछौं ।
Leave a comment