थिमका लागि थिम तय गर्ने भन्दापनि सहकारीलाई बास्तवमै उद्यमशितामा लाग्न बाधक भनिएका नीति फुकुवा गर्ने काममा महासंघले भूमिका खेल्नु जरुरी छ । सहकारीलाई उद्यम र रोजगार निर्माण गर्ने प्रेरणा प्रदान गर्न सहकारी महासंघको भूमिका महत्वपूर्ण हुन्छ र खेल्नुपर्छ । अनिमात्र थिमले सार्थकता पाउनेछ र थिमको महत्व पनि बढ्नेछ ।
काठमाडौं । हरेक वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइन्छ । दिवस मनाउनका लागि हरेक वर्ष अलग–अलग नारा (थिम) पनि तयगर्ने प्रचलन छ । तर उक्त नाराअनुसार योजना बनाउने त्यस अनुसार वर्षभरी गर्ने कामको समीक्षा नगर्दा सहकारी दिवसमा तय गरिएका नारा नेताका भाषण र कार्यक्रमका ब्यानरहरूमा मात्र सिमित भएका छन् ।
दिवसमा चर्चा ल्याउन सहकारीको नेतृत्व शब्दजालमै रमाइरहेको देखिन्छ । आकर्षक थिम तय गरिए पनि त्यस अनुरुप योजनाबद्ध ढंगले सहकारी अघि बढेको देखिदैँन । न त सहकारीलाई राज्यले प्राथमिकता दिनसकेको छ न सहकारी अभियानले गति प्रदान गर्न सकेको छ ।
महासंघले एकवर्ष त सहकारी दिवसको नाराकालागि आकर्षक शब्द चयन गर्नेलाई उपयुक्त पुरस्कार दिइने सार्वजनिक सूचना नै जारी गरेको थियो । तर उत्कृष्ट नारा तय गर्नेलाई पुरस्कार दिने घोषणा गरेपनि उत्कृष्ट प्रस्ताव नआएको भन्दै पूरानै नारालाई निरन्तरता दियो ।
महासंघले ०७७ / ७८ (६४ र ६५ औं) वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारा तयगरेको थियो । यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि गाइडलाइन बनाउने चर्चा पनि गरियो । तर महासंघले अझैसम्म गाइडलाइन भने बनाउन सकेन ।
सहकारीमा सुशासन ल्याउँदै मर्यादित व्यवसायका रुपमा अघि बढाउने एवं अन्तर सहकारी कारोबार, मोवाइल बैंकिङ, कोपोमिस, प्रविधिबाटै अनुगमनको व्यवस्था हुनुपर्ने भएपनि त्यसो हुन नसकेको सहकारीविज्ञहरुको भनाइ छ । ‘सहकारीलाई वास्ता गरिएन, भाषण गर्ने ठाउँ मात्रै बन्यो ।’ सहकारीलाई ट्रयाकमा ल्याएर समाजवादतर्फ जाने बाटो तय गर्न सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
अभियानले रजिष्ट्रारको स्वागत र विदाइ गर्ने, भाषण गर्ने, आफ्नो स्वार्थको कुरा गर्नेबाहेक अरुमा चासो दिन नसकेकोले नतिजा नआएको विज्ञहरुको भनाइ छ । विज्ञ भन्छन, ‘अभियानले नीतिमा प्रभाव पार्नसकेन, नेतृत्व वर्गले प्रारम्भीक सहकारीलाई भिजनसमेत दिनसकेन ।’
अभियानकै सक्रियतामा बनाइएको नीति कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा हरेक वर्ष तयगरिने थिम भाषण गर्नका लागि बाहेक अरु कुनै उपलब्धि हासिल हुन नसकेको जानकारहरु बताउँछन् । नाराको मर्म अनुरूप सहकारीले काम नगर्दा नारा, नारामा मात्रै सीमित भएका छन् । महासंघले विगतदेखि नै दिवसका लागि नारा तयगर्दै आएकामा त्यस अनुरूप के कति काम भयो भनेर कुनै लेखाजोखा भने गरिएको छैन । नारा औपचारिक कार्यक्रममा मात्रै सीमित भएकाले यस्ता नाराले सार्थकता पाउन नसकेको हो ।
यद्यपि, सहकारीलाई प्रविधिमा भित्र्याउने प्रयासले भने सार्थकता पाएको छ । राष्ट्र बैंकले सहकारीलाई प्रविधि प्रयोग गर्नदिने मौद्रिक नीतिमा समावेश गरेसँगै सहकारीलाई प्रविधि प्रयोगमा सहज भएको छ । हरेक वर्ष दिवसको नारा तय गरेर सहकारीलाई दिशानिर्देश गर्न खोजिए पनि महासंघले त्यस अनुरुप योजना बनाउन एवं वर्षको अन्तमा समीक्षा गर्न समेत नसकेको सहकारीकर्मी नै गुनाँसो गर्छन् ।
सहकारी स्थापनादेखि हालसम्म जागरणमै सीमित छ । थिम अर्थात नारा पनि जागरणमै टेवा पुग्ने बाहेक व्यवसायिक उपलब्धि हासिल गर्न ध्यान दिइएको छैन । अर्थतन्त्रमा सहकारीलाई बलियो खम्बाका रुपमा स्थापित गराउन कुनै निकायले चासो नदिएको सहकारी विज्ञहरु बताउँछन् ।
महासंघले विगतमा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी, आर्थिक विकास र समाज रूपान्तरण, आयात प्रतिस्थापन र सामाजिक न्याय, दिगो आर्थिक विकास तथा सामाजिक न्याय, स्वाधीन अर्थतन्त्रका लागि सहकारी, मर्यादित श्रम र पर्यटनका लागि सहकारी, मर्यादित व्यवसाय र प्रविधिमा सहकारी, आर्थिक उन्नतिका लागि सहकारी, सहकारीको दिगोपनः स्वनियमन र सुशासन, सहकारीमा सुुशासनः प्रविधि र एकीकरण, मर्यादित सहकारीः समुन्नत समाज तथा यो वर्ष ६९ औ सहकारी दिवसको अवसरमा उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ नारा तय गरेका छ ।
५५ औँ देखि ६९ औँ राष्ट्रिय सहकारी दिवससम्म आइपुग्दा एकदर्जन बढी नाराको रचना गरिएपनि नारा औपचारिकतामा मात्रै सीमित भएका छन् । सहकारीहरू पनि त्यसरी कार्ययोजना बनाएर अघि बढ्न सकेका छैनन् । महासंघले श्रम, पर्यटन, दिगोपन, स्वनियमन, सुशासन, एकीकरण, मर्यादितजस्ता शब्दमात्र गहकिला प्रयोग गरेपनि ब्यवहारिक पाटो भने पालतो भएको छ । सम्भावना भएरपनि पर्यटन क्षेत्रमा सहकारीले खासै काम गर्न सकेका छैनन् । सहकारीमार्फत कति उद्यमी भए भन्ने तथ्यांक पनि कसैसँग छैन ।
नारा तय गरिए पनि सहकारी मार्फत रोजगारी सिर्जना गर्न र पर्यटनमा लगानी बढाउन कुनै भूमिका खेलिएको छैन । सहकारीको संख्याको तुलनामा स्वरोजगार, उद्यम र रोजगारी निकै कम छ । बजेट, कार्यविधि र कार्यक्रम बनाएर दिवसको भोलिपल्टदेखि नै काम गर्ने र वर्षको अन्तमा ठोस उपलब्धि खोज्नेगरी काम गर्ने हो भने उपलब्धी हासिल हुनसक्छ तर त्यसो हुँदैन । एकदशक बढी अवधिको सहकारी दिवसको नारा हेर्दा अर्थतन्त्रमा सहकारी अब्बल रूपमा स्थापित हुनुपर्ने हो । तर सहकारी आन्दोलनले अपेक्षाकृत काम नगर्दा सहकारी अभियानको साख झनै गिर्दो अवस्थामा छ ।
महासंघले लगातार तीन वर्षसम्म ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ नारा तय गर्यो । ६०, ६१ र ६२ औँ दिवसमा नारा दोहोरिए । एकै नारा तय भए पनि दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको कुनै भूमिका बढेको पाइँदैन । महासंघले तीन वर्षसम्म एउटै नारा तयगर्नु महत्व दिएको बुझ्न सकिए पनि दिगो लक्ष्य प्राप्तिका लागि सहकारीले के गर्यो भन्ने विषयमा महासंघसँग स्पष्ट जवाफ छैन ।
दिगो विकासमा मुख्य लक्ष्य गरिबी निवारण र रोजगारी सिर्जना भएपनि यसतर्फ सहकारीको योगदान नगन्य अवस्थामा छ । अझैपनि सहकारीले विभिन्न बाहानमा चर्को व्याज लिने, सदस्यको शोषण गर्ने गरेकाले ऋण लिने व्यक्ति उद्यमी बन्न नसकी गरिबीको मारमा परेका छन् ।
आर्थिक विकास र सामाजिक रूपान्तरणमा सहकारी नारातय गरिए पनि त्यस तर्फ सहकारीले खासै काम गर्न सकेको छैन । सहकारीले देखिने गरी कुनै पनि क्षेत्रमा उदाहरणीय काम गर्न सकेका छैन वा देखाउन सकेको छैन ? बचत तथा ऋणमै सहकारी फोकस छन् भन्ने आरोपलाई गलत सावित गर्नसकेको छैन । सहकारीका सदस्यले समेत ऋण लिएर व्यावसायिक भन्दा अन्य क्षेत्रमा लगानी गर्ने गरेकाले आर्थिक विकासमा सहकारीको भूमिका कम देखिएको छ ।
एक दशक अघि ‘आर्थिक उन्नतीको आधार सहकारी नारा तय गरिए पनि अर्थतन्त्रमा सहकारी कमजोर बन्दै गएको छ । संविधानले तीन खम्बाका रुपमा सहकारीलाई आत्मसात गरेको छ तर, पनि सहकारीले आर्थिक उन्नति हुने गरी काम गर्न सकेका छैनन् । जसले गर्दा सहकारीले अर्थतन्त्र उकास्न उल्लेखनीय काम गर्न सकेको छैन ।
महासंघले तय गरेको नाराले आयात प्रतिस्थापन र स्वाधीन अर्थतन्त्रमा सहकारीलाई जोड्न खोजेको देखिन्छ । तर नेपालको व्यापार घाटा दिनप्रतिदिन चुलिँदो छ । सहकारीले उत्पादन गर्न नसक्दा व्यापारघाटा बढिरहेको छ । केही कृषि बाहेक बहुउद्देश्यीय सहकारी पनि बचतमै लाग्ने गरेकाले सहकारीमार्फत उत्पादन बढ्न नसकेको सहकारीकर्मी नै स्वीकार्छन् । जसले गर्दा आयात प्रतिस्थापनमा सहकारीको योगदान देखिएको छैन ।
कृषि सहित पर्यटन, उद्योग, सेवा क्षेत्रमा सहकारीले काम गर्नसके मात्रै दिगो आर्थिक विकास हुनुका साथै सामाजिक न्याय स्थापित हुन सक्ने जानकारहरु बताउँछन । ६९ औं राष्ट्रिय सहकारी दिवसमा ‘उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता’ भन्ने थिम तय गरेको छ ।
थिमका लागि थिम तय गर्ने भन्दापनि सहकारीलाई बास्तवमै उद्यमशितामा लाग्न बाधक भनिएका नीति फुकुवा गर्ने काममा महासंघले भूमिका खेल्नु जरुरी छ । सहकारीलाई उद्यम र रोजगार निर्माण गर्ने प्रेरणा प्रदान गर्न सहकारी महासंघको भूमिका महत्वपूर्ण हुन्छ र खेल्नुपर्छ । अनिमात्र थिमले सार्थकता पाउनेछ र थिमको महत्व पनि बढ्नेछ ।
नेपालले हरेक वर्ष चैत २० गते सहकारी दिवस मनाउँदै अएको छ । २०१३ सालमा चितवनको बखान सहकारी स्थापना भएको दिनलाई सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । सहकारी महासंघले २०५९ साल (४६औं) सहकारी दिवस देखि नारा तयगर्न सुरु गरेको हो ।
Leave a comment