हाइलाइट

संघहरुको असहयोगका कारण १० हजार संस्था प्राधिकरणको पहुँच बाहिर, आज म्याद सकिँदै

संघहरुको असहयोगका कारण १० हजार संस्था प्राधिकरणको पहुँच बाहिर, आज म्याद सकिँदै :: Sahakari Akhabar

काठमाडौं । बचत ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता तथा बर्गिकरणकालागि सहकारी नियमन प्राधिकरणले आह्वान गरेपनि उल्लेख्य प्रगती भने हुनसकेन । बचत ऋणको मुख्य कारोबार गर्ने संस्थालाई प्राधिकरणले अभिलेखिकरणकालागि गत मंसिर १० गतेदेखि ६० दिनको समयसिमा दिएको थियो ।

तर फागुन ११ गतेसम्ममा पनि दर्ता उत्साहजनक नभएपछि प्राधिकरणले अन्तिम पटक समय थपको तयारी गरेको छ । फागुन ११ गतेसम्म प्राधिकरणमा ४ हजार १२९ संस्थाले मात्र आवेदन दिएका छन् । त्यसैगरी ३ हजार ४८८ संस्थाको रुजु गर्ने काम भइरहेको र ४ सय संस्थाको पहिलो चरणको काम सकिएको र अहिलेसम्म ६६० संस्थाले इजाजत प्रमाणपत्र प्राप्त गरेको प्राधिकरणका उपनिर्देशक मुकेश कर्णले जानकारी दिए ।

उनले भने, ‘खै संस्थामा जागरुकता देखिएन अव चैतको १६ गतेसम्मका लागि अन्तिम पटक समय थप हुन्छ होला, हेरौं त्यस बेलासम्म थपिन्छन्की, जिल्ला संघहरुलाई समन्वयकालागि अनुरोध पनि गरिएको अध्यक्षले भन्नु भएको छ ।’ प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले जिल्ला संघहरुलाई पनि संस्था अभिलेखिकरणका लागि समन्वय गरिदन अनुरोध गरेको उनले जानकारी दिए ।

तर जिल्ला सहकारी संघहरुले संघहरु अभिलेखिकरण गर्न नपाएपछि संस्था अभिलेखिकरणमा असहयोग गरेको एक सहकारीकर्मीले जनाए । उनले भने प्राधिकरणले प्रारम्भिक संस्थालाई मात्र अभिलेखिकरण गर्ने र जिल्ला संघहरुलाई अभिलेखिकरण गर्न नदिएकोले संघहरु रुष्टभएका छन्, त्यसैले असहयोग गरेको हुनुपर्छ । प्राधिकरणले पहलो चरणमा बचत ऋणको मुख्य कारोबार गर्ने सवै प्रकृतिका सहकारीलाई अभिलेखिकरणका लागि आह्वान गरेको थियो ।

जिल्ला संघहरुले आफूहरुपनि प्राधिकरणमा अभिलेखिकरण हुन पाउनुपर्ने माग राख्दैआएका थिए । ऐन संसोधन नभइकन बचत ऋणको कामगर्ने संघहरुलाई अभिलेखिकरण गर्न नसकिने प्राधिकरणले बताउँदै आएको छ ।

नेफ्स्कूनलगायत अधिकांश प्रदेश र जिल्ला संघहरुले प्रारम्भिक संस्थाले जस्तै बचत ऋणको काम गर्दैआएका छन् । बचत ऋणमा विचलन आएपछि सरकारले प्राधिकरणको स्थापना गरेर बचत ऋण सहकारीलाई ब्यवस्थित गर्ने तयारी गरेको हो । देशभर १४ हजार बढी बचत तथा ऋण सहकारी स्थापनामा रहेपनि प्राधिकरणमा भने ४ हजारले मात्र आवेदन दिएका छन् ।

त्यसका अलवा जुनसुकै प्रकृति र उद्देश्यका नामबाट सहकारी स्थापना भएपनि हाल सबैले ३० प्रतिशत भन्दाबढी बचत ऋणको काम गरेको प्राधिकरणको अनुमान छ । बचत ऋणको पूनःपरिभाषा गर्नुपर्ने केही सहकारीकर्मीहरुले बताइरहेका छन्।

तीन महिनाको समय भित्र पनि सबै संस्था दर्ता अभिलेखिकरणका लागि नआएपछि प्राधिकरणले अन्तिम पटक समय थपको तयारी गरेको छ । प्राधिकरणले मंसिर १० गते ६० दिन भित्र सवै संस्था अभिलेखकरण गर्न सूचना जारी गरेको थियो भने पहिलो पटक माघमा फागुन ११ गतेसम्मका लागि समय थप गरेको थियो ।

प्राधिकरणले दोस्रो तथा अन्तिम पटक सूचना जारी गरी चैत्र १६ गतेसम्म सम्पूर्ण बचत ऋणको मुख्य कारोबार गर्ने संस्था अभिलेखिकरणको लागि अनुरोध गर्ने जनाएको छ । मंसिर १० गते दर्ता अभिलेखिकरण कालागि अनलाइन मार्फत विवरण भर्न आह्वान गरेको थियो ।

प्राधिकरणले असोज १० गते ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ (प्रथम संशोधन) जारी गरेको थियो । मापदण्ड जारी भएपनि सफ्टवेयर निमार्ण ढिला हुँदा मंसिर १० गतेबाट मात्र अभिलेखिकरण सुरु गरेको हो ।

संस्था अभिलेखिकरण नगरे के हुन्छ ?

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था दर्ता अभिलेखिकरण नगरे राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ठगीमा कारबाही गर्ने भएको छ । सहकारीको बर्गिकरण र बचत ऋणको मुख्य कारोबारको विषय प्राधिकरणको जिम्मामा रहेको भन्दै सवैलाई अभिलेखिकरण गर्न भनेको हो । प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्न सबै प्रकृतिका सहकारीलाई सूचना जारी गर्दै संस्था खारेजीसम्म हुने जनाएको छ ।

त्यसैगरी प्राधिकरणबाट इजाजतपत्र नलिई बचत तथा ऋणको कारोबार गरेमा घितो रोक्का तथा दृष्टिबन्धक गर्ने कार्यमा अवरोध हुने, त्यसैगरी करचुक्ता लिन, कर्जा सूचना केन्द्रको सदस्य हुन, वार्षिक बाह्य लेखापरिक्षण गर्न समेत अवरोध हुने प्राधिकरणले जनाएको छ ।

त्यसैगरी अभिलेखिकरण नगरे कारोबार रोक्का हुनसक्ने, ठगीमा कारवाही हुनसक्ने र संस्थाको दर्ता खारेजी सम्मको कारवाही हुने जनाएको छ । सहकारी ऐन, २०७४ बमोजिम बचत तथा ऋणको मुख्य कारोबार गर्ने बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय लगायतका सहकारी संस्थाहरुलाई ऐनको दफा २०क बमोजिम दर्ता तथा वर्गीकरण गर्ने जिम्मेवारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई तोकिएको जनाएको छ।

प्राधिकरणले एकवर्ष भित्र सहकारीहरुलाई अभिलेखिकरण गरिसक्नुपर्ने ब्यवस्था भएकोले यही चैत्र १७ गते अभिलखिकरणको समय सिमा सकिंदैछ । त्यसपछि पनि सहकारी अभिलेखिकरण हुन नआए सहकारी ऐन नै संसोधन गरेर भएपनि सहकारीलाई ब्यवस्थित बनाउनुपर्ने प्राधिकरणका अध्यक्ष डा.खगराज शर्मा बताउँछन् ।



Leave a comment