हाइलाइट

सहकारीका कर्मचारीको पिडामा बोलेन सहकारी महासंघ

सहकारीका कर्मचारीको पिडामा बोलेन सहकारी महासंघ :: Sahakari Akhabar

काठमाडौं । सिंगो सहकारी अभियानको अभिभाकत्व र जिम्मेवारी लिनुपर्ने सहकारी अभियानको माउ निकाय राष्ट्रिय सहकारी महासंघ सहकारीका कर्मचारीको पिडामा पनि मौन रहेको छ । सहकारीका पिडित सदस्यको पिडामा आधिकारिक धारणा ब्यक्त गर्न नसके पछि महासंघको भूमिकामा प्रश्न उठइरहेका बेला पछिल्लो समय सहकारी कर्मचारीलाई संचालकले गरेको दुब्र्यवहारमा पनि मौन नै बस्यो ।

सहकारीका संघ संस्थाहरुले सहकारी महासंघलाई अभिभावकत्व निर्वाह गर्न नसकेको आरोप खेपिरहेको सहकारी महासंघले पछिल्लो समय नेफ्स्कूनका कर्मचारीमाथि संचालकले गरेको ब्यवहारमा समेत नबोलेर आफूलाई असक्षम अभिभावक प्रमाणित गरेको छ ।

पुष १८ गते शुक्रबारका दिन नेफ्स्कूनका सञ्चालक सदस्य वीरबहादुर रावत (भोटे) ले नेफ्स्कून फिल्ड कार्यालय सुर्खेतमा कर्मचारीमाथि हातपात गरेको घटना सार्वजर्निक भएको थियो । उक्त घटना पछि सहकारीका एक दर्जन कर्मचारी संगठनले बिरोध जनाउँदै दोषीलाई कारबाहीको माग गरे ।

नेफ्स्कून ब्यवस्थापनले देशभरीका कार्यालयमा सेवा ठप्प पारे तर महासंघले भने कानमा तेल हालेर बस्यो, कुनै प्रतिकृया जनाएन । देशभरिका सहकारीकर्मीले उक्त घटनाको खुलेरै बिरोध गरे तर महासंघले थाहा नपाए जस्तै गरेर बस्यो । सहकारी महासंघ पार्टीका नेता र कार्यकर्ता जस्ता संचालकहरुको मात्र मुद्धा लिएर हिड्ने, उनीहरुको दोहोरो पदको चिन्ता गर्ने र त्यसैको वकालत गर्ने संघजस्तो भएको सहकारीकर्मीहरुको भनाई छ ।

कर्मचारीका विषयमा महासंघ आफैपनि विवादित भएको र समग्र सहकारीका संघ संगठनमा काम गर्ने कर्मचारीको विषयमा बोल्न नसक्ने सहकारीकर्मी बताउँछन् । महासंघमा अहिले अध्यक्ष तथा महाप्रवन्धक दुवै काम चलाउ मात्र भएकोले पनि अभिभावकत्वमा कमजोरी रहेको एक सहकारकिर्मीले बताए ।

उनले भने, ‘सहकारी महासंघ आफै आफ्नो खुट्टामा उभिन सकेको छैन, लथालिङ्ग छ, सहकारीका कर्मचारीको विषयमा बोल्न के सक्थ्यो ।’ महासंघले घटनाका विषयमा आफ्ना धारणा नदिएपनि नेफ्स्कूनको सञ्चालक समितिको भर्चुअल बैठक बसेर सुर्खेत घटनामा संलग्न वीरबहादुर रावत भोटेलाई निलम्वन गर्ने निर्णय गर्यो ।

संचालक रावतलाई सुर्खेत फिल्ड कार्यलयका कर्मचारी कुटेको आरोमा निलम्बन गर्ने निर्णय गर्यो र घटनाको निश्पक्ष छानविन गरी संघमा रिपोर्ट बुझाउन समिति गठन गर्यो । नेफ्स्कून सञ्चालक भोटेले सुर्खेत फिल्ड कार्यालयमा कार्यरत कर्मचारीहरु मदनकुमार चन्द र पुष्पराज तिमिल्सेनालाई कार्यालय भित्र दुव्र्यवहार र कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।



Leave a comment