काठमाडौं।सहकारी विभागले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको गोएमएल प्रणालीमा सबै सहकारी संघसंस्थालाई आवद्ध हुन निर्देशन दिएको छ । विभागले अवैध धन शुद्धीकरण तथा आतङ्कवाद वित्तीयकरण विरुद्धको स्वचालित प्रतिवेदन प्रणाली (गोएमएल)मा २ हजार २ सय मात्र सहकारी संस्था आवद्ध भएकोले सबैलाई आवद्ध हुन निर्देशन दिएको हो। नेपालमा पछिल्लो आर्थिक सर्वेक्षणको तथ्याङ्क अनुसार ३२ हजार ९६५ सहकारी संघसंस्था स्थापना भएका छन् ।
सहकारी विभागले नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइको गोएमएल प्रणालीमा आवद्ध भई शंकास्पद तथा सीमा कारोवार र गतिविधि (एसटीआर र एसएआर तथा टीटीआर ) सम्बन्धी रिपोर्टिङ समयमै गर्न सहकारी संघ संस्थाहरुलाई भनेको छ।
विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले सूचना जारी गरी एसटीआर एसएआर तथा टीटीआर सम्बन्धी प्रतिवेदन गोएमएलमार्फत गर्न आग्रह गरिएपनि सबै सहकारीहरुले त्यसको पालना नगरेको भन्दै पुष ८ गते पूनः सूचना जारी गरेका छन् ।
सूचनामा भनिएको छ, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ (ध) र १० (क) अनुसार सहकारी संस्थाहरुले संस्थामा भएको कारोवारको आधारमा शंकास्पद कारोवार र गतिविधि प्रतिवेदन (एसटिआर,एसएआर) तथा सीमा कारोबार विवरण (टिटिआर)हरु वित्तीय जानकारी इकाईमा रिपोर्टिङ्ग गर्नुपर्ने व्यवस्था रहेको छ ।
सहकारी विभागले जारी गरेको “सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी सङ्घसंस्थालाई जारी गरिएको निर्देशन, २०७४” को २१ ९२० मा “सहकारी संघ र संस्थामा भएको कारोवारको आधारमा सीमा तथा शंकास्पद कारोवार वित्तीय जानकारी इकाईमा पेश गर्नुपर्ने अवस्थामा सीमा तथा संकास्पद कारोवारर क्रियाकलापको प्रतिवेदन अनिवार्य रुपमा वित्तीय जानकारी इकाईको गोएमएल प्रणालि (Production Environment) वाट मात्र पेश गर्नुपर्नेछ ।
यसको लागि संघसंस्थाहरुले आफ्नो कोर सिस्टम वा अन्य विद्युतीय माध्यममा सदस्यको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ ।” भन्ने व्यवस्था रहेको छ । नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइले मिति २०८२ / २ / ८ मा जारी गरेको सूचनावाट सवै सूचक संस्थाहरुले goAML System (Production Environment) मा रजिष्टर्ड भई (STR / SAR / TTR) को रिपोर्टिङ्ग Web र XML माध्यमबाट गर्नुहुन अनुरोध गरिएको छ।
Leave a comment