काठमाडौं । चाँगुनारायण नगरपालिका ९ भक्तपुरको सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई १५ प्रतिशत शेयर लाभांश दिने भएको छ । संस्थाको शनिबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले १५ प्रतिशत शेयर लाभांश पारित गरेको हो ।
साधारणसभाको उद्घाटन संस्थाका संस्थापक ज्येष्ठ सदस्य बुद्धिबहादुर ङाखुसीले गरेका थिए । सभामा संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाले पछिल्लो समय सहकारी अभियानले समस्या र चुनौतीहरु सामना गरिरहेको बताए । सहकारीको मर्म, भावना र स्वालम्बनबाट बिचलित भई सञ्चालित सहकारी संस्थाहरु संकटमा परेको भन्दै उनले समुदायमा आधारित भएर सुशासनमा सञ्चालित सहकारी संस्थाहरु समस्यामा नपरेको बताए ।
सदस्यहरुले खाई नखाई सुरक्षित भविष्यको लागि गरेको बचत र सदस्यहरुको विश्वास माथि खेलबाड गर्ने सहकारी संस्थाहरुका कारण सबै सहकारी संस्थाप्रति नै आमनागरिकले हेर्ने दृष्टिकोण नकारात्मक हुनु चिन्ताको विषय रहेको उनको भनाइ थियो ।
संस्थाका सचिव सत्यराम थुयाजूले आ.व. २०८१ / ८२ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद मचामसीले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक नारायणभक्त थुयाजूले ऋण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुकाजी माकजूले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरु माथि छलफलसँगै सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
सभाले शेयर लाभांश कोषबाट सदस्यहरुलाई करसहित १५ प्रतिशत बराबर शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसैगरी, संरक्षित पुँजी फिर्ता कोषबाट ऋणमा प्राप्त ब्याजको आधारमा ६० प्रतिशत र बचतमा दिएको ब्याजको आधारमा ४० प्रतिशतका हिसाबले रकम वितरण गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत पारित भएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र बासी, देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजू, संस्थाकी उपाध्यक्ष रामकेशरी बासुकला र व्यवस्थापक सत्यराम त्वातीले शुभकामना मन्तब्य राखेका थिए ।
Leave a comment