हाइलाइट

३७ वर्षपछि विरासतको लडाइमा नेफ्स्कून

३७ वर्षपछि विरासतको लडाइमा नेफ्स्कून :: Sahakari Akhabar

२९ सय ५० रुपैंयाँबाट सुरु भएको बचत अभियानमा आज साढे २० अर्बको योगदान छ । ४७ वटा बचत समुहबाट सुरु भएको अभियान आज ७६ जिल्लाका ४ हजार ४०९ संघ संस्था नेफ्स्कूनमा आवद्ध भएका छन् ।

काठमाडौं । कुनै समय आम सर्वसाधारणलाई सानोतिनो गर्जो टार्नका लागि पनि चर्को ब्याजमा साहु महाजनको दैलो चाहर्नुपर्ने बाध्यता थियो । एक त सवै ठाउँमा बैंक वित्तिय संस्थाहरु थिएनन्, भएपनि तल्लो वर्गको पहुँच त्यस्ता बैंक वित्तिय संस्थामा थिएन । अनि चर्को ब्याजको मारमा सर्व साधारण थिए जसका कारण धेरैको घरवास नै साहुको कब्जामा हुन्थ्यो ।

विस्तारै विकल्पको खोजी हुँदैगर्दा बचत समुहहरु जन्मन थाले, जसले बचत गर्ने र सानोतिनो गर्जो टार्न एक अर्काको मद्धत पुग्न थाल्यो र पछि तिनै समुहहरु सहकारीमा परिणत भए । बचत समुह र संस्थालाई ब्यवस्थित र संस्थागत गर्न स्व.भोजराज घिमिरेको अगुवाइमा २०४५ सालमा राष्ट्रिय अभियानकै रुपमा ‘बचत समूह राष्ट्रिय संघ’ को स्थापना भयो ।

त्यसपछि २०५० साल भाद्र २९ गते सहकारी विभागका तत्कालिन रजिष्ट्रार शंकरराज जोशीले ‘नेपाल बचत तथा ऋण सहकारी संघ’ का नाममा दर्ता गरिदिए । २०५३ सालमा संघलाई केन्द्रीय शब्द थपगरी ‘नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) भएको हो ।

बैंक वित्तिय संस्थाले बचतमा ब्याज नदिने दिए पनि धेरै न्यून र ऋणमा सर्व साधारणको पहुँच नपुग्ने भएपछि बचत समुह र सहकारीको बचत सुरक्षित राख्न उनीहरुलाई सहज ऋण प्रदान गर्न संघहरुले सदस्य संस्थामा मात्र वित्तिय कारोबारको थालनी गरेको पाइन्छ । आज नेफ्स्कूनले ३७ बसन्त पार गरेको छ ।

यो वर्षहरु पार गरेर ३८ वर्षमा प्रवेस गरिरहँदा अभियानकै रुपमा अघि बढाएको बचत अभियान भने त्यही विरासतको लडाइ लडिरहेको छ । नेपालको बचत अभियानलाई संस्थागत गर्ने र आम सर्व साधरणको पहुँचमा वित्तिय सेवा पुर्याउने बचतको माउ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ अस्तित्वको लडाइ लडिरहेको छ ।

नेपाल सरकारले केही नेपाल ऐन संसोधन गर्न ल्याएको प्रतिस्थापन विधयेकले सहकारी ऐनमा संसोधन गरी सहकारी नियमनका लागि स्थापना गरेको सहकारी प्राधिकरण र पछिल्लो समय नेपाल राष्ट्र बैंकले सहकारीका लागि जारी गरेको निर्देशन तथा मापदण्डले बचत संघहरुले गर्ने वित्तिय कारोबारमा प्रश्न उठाएपछि बचत अभियानको अवको बाटो अन्यौल बनाएको हो ।

नियमकहरुको निर्देशन तथा मापदण्डले बचत संस्थाहरुले संघमा राखेको बचतलाई तरलतामा गणना नगर्ने ब्यवस्था गरेपछि संघहरुका साथै बचत अभियान के हुने भन्ने अन्यौलता छाएको छ । मुख्य उद्धेश्य नै बचत तथा ऋणको कारोबार भएका संघ संस्थाहरुले मुख्य कारोबार नै गर्न नपाएपछि सदस्यको बचतको जिम्मेवारी कसले लिने नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन् ।

सरकारले बचतलाई रोक लगाउने भन्दा पनि ब्यवस्थित गरेर लैजाने र बचत संघ संस्थालाई ब्यवस्थित बनाउने जिम्मा नेफ्स्कूनले लिन्छ, सरकारले संघलाई विश्वास गरेर जाँदा अभियान ब्यवस्थित बन्ने उनको धारणा छ ।तत्कालिन समयमा सरकारले सहकारी संस्थाहरु कृषकलाई आवश्यक पर्ने मल बीउ बिजन कृषि औजारलगायतका सामाग्रीको खाँचो टार्ने हिसावमा गठन गरेको थियो ।

त्यस्ता संस्था साझा संस्थाको रुपमा सरकारको नियन्त्रणमा थिए । २०४८ सालको सहकारी ऐन पछि सहकारी अभियानले बिस्तारित हुने मौका पाएको थियो भने बचत सहकारीहरु अभियानकै रुपमा फैलन थालेका थिए। सरकारले २०१० सालमा सहकारी विभागको स्थापना गरेर सहकारी अभियानको सुरुवात गरेपनि बचत अभियानको श्रेय चाँही उनै स्व.घिमिरेलाई जान्छ । पञ्चायती सरकारको पालाका साझा सहकारीका अध्यक्ष रहेका स्व.घिमिरेले साना साना बचत समुहहरुको शीला खोजेर राष्ट्रिय अभियानको रुपमा अघि बढाएका थिए ।

अहिले उनको यो अभियानले मूर्तरुप पनि लिइसकेको छ । नेपालमा बचत अभियानको जरा गाडिइसकेको छ । त्यसपछि उनको यो अभियानमा स्वर्गिय कैलाशभक्त प्रधानाङ्ग, मिनराज कंडेल, ऋषीराज घिमिरे, डिबी बस्नेत, परितोष पौड्यालले नेतृत्व गरिसकेका छन् भने चन्द्रप्रसाद ढकालले नेतृत्व गरेको पनि दुई वर्ष पुगेको छ।

त्यसैगरी नेफ्स्कूनको ब्यवस्थापनमा २०४७ जेठ २० गते देखि ०४८ असोज २० सम्म अजेलिया रञ्जितकारले प्रवन्धकको भूमिका निर्वाह गरेकी थिइन भने त्यसपछि निरन्तर हरि घिमिरे, सुमन खनाल, शिव अधिकारी, रामप्रसाद ढकाल, कुवेर निरौला, डिल्लीराम अधिकारी, बद्रीकुमार गुरागाईं, विष्णुप्रसाद पाठक, शिवजी सापकोटा, प्रकाशप्रसाद पोखरेल, पूनः शिवजी सापकोटाले ब्यवस्थापन प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

२९ सय ५० रुपैंयाँबाट सुरु भएको बचत अभियानमा आज साढे २० अर्बको योगदान छ । ४७ वटा बचत समुहबाट सुरु भएको अभियान आज ७६ जिल्लाका ४ हजार ४०९ संघ संस्था नेफ्स्कूनमा आवद्ध भएका छन् । १५ हजारको हाराहारीमा बचत सहकारी स्थापना भइसकेका छन् । पछिल्लो समय ४ वटा प्रदेश संघ पनि नेफ्स्कूनमा आवद्ध भइसकेका छन् । आम सर्वसाधारणमा बचत गर्ने बानिको विकास संगै बचतको पहुँच पुर्याउन नेफ्स्कूनले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।

त्यसैगरी राष्ट्रिय मात्र नभएर नेफ्स्कूनले अन्तराष्ट्रिय सम्वन्ध समेत विस्तार गरिसकेको छ । नेफ्स्कूनले सहकारीका लागि आधारशिला, कर्वस, प्रोवेसन र एक्सेसजस्ता महत्वपूर्ण कार्यक्रमहरु मार्फत सवलिकरण र सुद्धृणिकरण गरिरहेको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा बताउँछन् ।

उनले ३२ सय संस्थाको नियमित सुपरिवेक्षण गरिरहेको, ६४ वटा संघमार्फत तथ्याङ्क संकलन कार्य भइरहेको जनाएका छन् । उनले नेफ्स्कून बचत ऋण सहकारी संस्थाहरुको संघ हो भनेर परिचय दिनेगरी काम अघि बढाएको बताए । संघको भूमिकालाई निखारेर लैजानुपर्छ, अपनत्व लिनुपर्छ र जवाफदेही बन्नुपर्छ भन्नेतर्फ नेफस्कून हिँडेको उनको भनाइ छ ।

२६४ संस्था जोखिम सुपरिवेक्षण, राष्ट्रिय प्रमाणिकरण कार्यक्रममा २२५ र अन्त राष्ट्रिय प्रमाणिकरण कार्यक्रममा ६९ संस्था रहेको जानकारी दिए । संगै गत असार मसान्त सम्म २७४ संघ संस्थालाई तालिम प्रदान गरेको बताएका छन् ।

साकोस एकीकरण, एकरूपता प्रणाली, स्थिरीकरण कोष, छुट्टै बचत तथा ऋण सहकारी ऐन, सहकारीहरूका लागि एकीकृत लेखामान, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागिता लगायतका विषयहरूमा संघले सरकारसँग निरन्तर बहस पैरवी गरिरहेको अध्यक्ष ढकालको भनाइ छ ।

सहकारीलाई समयानुकुल नविनतम प्रविधिमा पहुँच विस्तार, साकोसमा वित्तीय आत्मनिर्भरता, दीगोपना, सुशासन प्रवद्र्धन मार्फत गुणस्तर सुनिश्चितता संघको लक्ष्य रहेको अध्यक्ष ढकालले बताए । संघमा हाल ६१ करोड जगेडा कोष, ५१ करोड जोखिम ऋणको ब्यवस्था, १ अर्ब ४९ करोड ७६ लाख ४८ हजार सेयर पूँजी तथा २० अर्ब ४६ करोड ४४ लाख बचत र ८ अर्ब १४ करोड ऋण लगानीमा रहेको जनाइएको छ । त्यसैगरी संघका ३० वटा कार्यालय, १७५ जना कर्मचारी ५६ करोड खुद नाफा रहेको जनाइएको छ ।



Leave a comment